अनेसास जागरण गीत

अनेसास जागरण गीत


  • डिल्ली अम्माई

स्वर्णिम सुन्दर ज्योतिले
हाम्रो भाषा भिजाउन
अग्रजहरुको प्रेरणा लिएर
नेपाली भाषा चम्काउन
हामी जहाँ छौँ उठौँ
रंगिन बनाउन अनेसास
कलम लिएर जुटौँ ।

धर्तीका सबै ठाउँबाट
भाषिक सौन्दर्यको चिराग लिएर
अनेसासको मझेरीमा
कोरौँ साहित्यको चित्र
मन वचन र कर्मले
मातृभाषाको सेवामा
कोरौँ संकल्प मनभित्र ।

अनेसासको घरभित्र
भाषा साहित्यको सेवामा
निःस्वार्थ भावले लागौँ
पूर्वीय सभ्यताको आलोकमा
मधुमासको आनन्द लिएर
कुनाकुनाबाट जुटौँ
एउटै लक्षमा उठौँ।

अनगिन्ती रंग भरेर
फुलेको हाम्रो मातृभाषा
निर्मल हिमालको छायामा
अनगिन्ती त्यागहरुको रसमा
बनेको पुल हाम्रो भाषा
शीतको बिन्दुभित्र
निःस्वार्थी अग्रज सपनाले
फुलेको फूल हाम्रो साहित्य
जागरणको ज्योतिले जागौँ
निर्मल भावले लागौँ।

सहस्र गङ्गाको कलकल
हिमाली हावाको सरसर
सुन्दर शब्द टिपेर गासौँ
पहिचानका टुक्रा जोडेर
आफ्नो कर्मले हाँसौँ
पौरखका शब्दहरु सिंगारेर
शब्द सुसेलीले विश्व हाकौँ।

यो धर्ति र आकाशभरि
अनेसासको स्वास भरौँ
मातृभाषाको सौन्दर्यमा
साहित्यको सेवक बनौँ
आफ्नो कायामा हुर्केको
अनेसासको जय बोलौँ।

  • हाल बेल्जियम