जापानका प्रधानमन्त्री फुमिओलाई कोरोना संक्रमण

जापानका प्रधानमन्त्री फुमिओलाई कोरोना संक्रमण


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका प्रधानमन्त्री किशिदा फुमिओलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रिपरिषद् सचिवालयका अनुसार प्रधानमन्त्री किशिदालाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षण देखिएपछि आइतबार (२१ तारिख) बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवासमा पीसीआर परीक्षण गरिएको थियो ।

उक्त परीक्षण रिपोर्टका अनुसार दिउँसो ४ बजे उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री किशिदा यतिबेला आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन् ।

सरकारी अधिकारीहरूका अनुसार श्रीमती हिरोको लगायतका परिवारका केही सदस्यहरू मात्र नजिकको सम्पर्कमा छन् र कहाँबाट संक्रमण भयो भन्ने अझै पत्ता लागेको छैन ।

यही महिनाको १५ तारिख औपचारिक जिम्मेवारी सकिएपछि प्रधानमन्त्री किशिदा गर्मी बिदामा थिए र २२ गतेदेखि औपचारिक काममा फर्कने योजनामा ​​थिए, तर उनले अनलाइनबाटै सहभागी हुने विचार व्यक्त गरेका छन् ।

किशिदाले अफ्रिकी विकासमा अन्तर्राष्ट्रिय सम्मेलन (TICAD)मा भाग लिने योजना बनाएका थिए, जो यस महिनाको अन्त्यमा उत्तर अफ्रिकाको ट्युनिसियामा आयोजना हुनेछ । अब उनी ट्युनिसिया नजाने बरु अनलाइनमार्फत प्रतिक्रिया दिने धारणा बनाएको बताइएको छ ।