आकाशको घिउ

आकाशको घिउ


रामेश्वर राउत ‘मातृदास

आकाशको घिउ
ढुङ्गाको बीउ
प्राण-अपान-व्यान-उदान र समान,
मरुदगणको अविनाशी धून बजिरहेको छ बाँसुरी
केही बुझेझैँ अझै बुझेको छैन मान्छेले !
रहस्यात्मक सारङ्गा,
पार्वतीका पाउमा छुनमुनाइरहेका छन् पाउजु !
घाम÷जून मुस्कुराउँछन् मुसुक्क ओठमा
र, यो प्रेमको महासमुद्र छचल्किरहेको हो,
हरेक पल मन्दराचल पर्वत
अग्लिरहेका छन् हाम्रा मनका सगरमाथाहरू !
।।१।।
जगमा पसेका मुसाहरूटाई देखर
आफैँ बोलन् फूलहरू,
छुटेका कविता पाएँ भनेर नाचिरहेकी जून !
अन्धकारमा कुर्थुकिरहेको जूनलाई हेरेर
मँ त रुन्नँ भनेर प्रण गर्छन् बालकहरू
यो घामको घर/जूनको छानो
कठै ! वागमतीको वेदना बनेर रोइरहेका छन् हरेक पटक
हराएको हीरा/पृथ्वीको सङ्कल्प,
उडेको पन्छी झरेको प्वाँख भैराखेको छ युगको यात्रा
मनका कथा भनेर मन बुझाउने गीत गाऊँ
कतै हराएको छैन हाम्रो मूल बाटो
निरन्तर खोज्नुपर्छ ढुङ्गाको बीउमा अमरत्व !
।।२।।
वेदोखीलो धर्ममूलम् वसुधैव कुटुम्वकम्
हामी बाासुरी हौँ बाँसुरी, प्रेमकै बाँसुरी बजाउँछौँ
सिङ्गै धरती पूरै आकाश हाम्रो राम्रो फूलबारी हो
वैदिक साम्यवादका अप्सरा हुन् वेदका ऋचाहरू
हाम्रै आँगन पिँढीमा तरङ्गित छन् अविरल नदीहरू ।
।।३।।
आशावरीको धून बजिरहन्छ हरपल मान्छेको जिन्दगी !
खाउँला र पाउँला भनेर सधैँ दौडिराखेको छ समय
आँधीका चराझैँ मान्छेका समनाहरू,
कोही मरुभूमिमा विभत्स तड्पिराखेका छन्
कतै अन्धकारका चमेराझैँ,
भाग्यको भरोसामा झुण्डिराखेका छन् युगौँदेखि जीवनका गीत
बोध नभएसम्म अवोधझैँ महाभूमरि हो जिन्दगी,
यो बालुवाको महल बालुवामै मिलिरहन्छ घरीघरी ।
।।४।।
आमाका सपनाहरू आँखाभरि सजाएर
पिताको उद्देश्य फैलिरहेको छ आकाश,
धरतीलाई बारम्बार पूजा गर्नैपर्दछ हरेक जिम्दा मान्छेहरूले
यो सनातन मरुदगणको जीउ
जहाँ घुमेपनि/जेजति चुमेपनि आकाशको घिउ ढुङ्गाको बीउ
प्राण-अपान-व्यान-उदान र समान
मात्र स्वरूप परिवर्तन बाँकी यथावतछौँ जिउँकातिउँ हामी ।