भारतको हिमाचलमा बाढीमा परी १५ जनाको मृत्यु

भारतको हिमाचलमा बाढीमा परी १५ जनाको मृत्यु


भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा शनिबार अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य आठ जना बेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ । अविरल वर्षाले राज्यको मण्डी र चम्बा जिल्ला सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । मण्डी जिल्लाका विभिन्न स्थानमा सामान्य जनजीवन अस्तव्यस्त भएको स्थानीयवासीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

रिपोर्टका अनुसार मण्डी जिल्लाको एउटा गाउँमा पहिरोमा परी घर भत्किँदा एकै परिवारका आठ जनाको मृत्यु भएको छ ।

सोही जिल्लामा छुट्टै बाढीमा दुई जनाको मृत्यु भएको छ भने पाँच घर डुबानमा परेका छन् । यसबाहेक चम्बा जिल्लामा पहिरोले घर भत्किँदा एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण घर भत्किने यस्ता थुप्रै घटनाहरू अन्यत्र पनि रिपोर्ट गरिएको छ जसमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ। सो क्षेत्रहरूमा स्थानीयहरूलाई सचेत रहन आग्रह गरिएको छ ।