पत्रकार सिंखडालाई आक्रमण गर्नेहरू अझै फरार

पत्रकार सिंखडालाई आक्रमण गर्नेहरू अझै फरार


तत्काल पक्राउ गरि कारवाही गर्न पत्रकार सम्बद्ध संघसंगठनको माग

चितवनका पत्रकार शिशिर सिंखडालाई आक्रमण गर्नेहरू अझै फरार रहेका छन् । प्रहरीले खोजी कार्य जारी रहेको बताए पनि उनीहरु पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता नरहरि अधिकारीले पत्रकार सिंखडालाई आक्रमण गर्नेहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।

पत्रकार सिंखडामाथि गत बुधबार बिहान हातपात भएको हो । दैनिक कामको सिलसिलामा कालिका नगरपालिकामा पर्ने खोलेसिमल बजारबाट फर्कंदै गरेको समयमा पत्रकार सिंखडालाई दीपक लामिछानेलगायत चार जनाको समुहले आक्रमण गरेको हो ।

लामिछाने कालिका नगरपालिकाका निवर्तमान मेयर खुमनारायण श्रेष्ठका स्वकीय सचिव (पिए) हुन् । साथै उनी नेकपा (एमाले) कालिका नगरकमिटीका उपाध्यक्ष समेत रहेका छन् । गत मंगलबार ‘कालिका नगरपालिकाका निवर्तमान मेयर श्रेष्ठ र पिए लामिछानेविरुद्ध २५ करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै पुनः अख्तियारमा उजुरी’ शीर्षकमा विभिन्न दर्जन भन्दा बढी सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए ।

यसैबीच घटनामा संलग्न रहेका चार जनाविरुद्ध पत्रकार सिंखडाले बुधबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी मुद्दा दायर गर्नुभएको छ । नेपाल पत्रकार महासंघ चितवनलगायत पत्रकार सम्बद्ध संघ-संगठनको रोहवरमा पत्रकार सिंखडाले लामिछानेसहित उनका भाइ दिलिप लामिछाने र भान्जाहरु समीर सापकोटा तथा निकेश नेपालविरुद्ध किटानी मुद्दा दायर गरेका हुन् । उनिहरुले पत्रकार सिंखडालाई मोटरसाइकलको हेल्मेटले हानेका थिए । साथै उनिहरुले पत्रकार सिंखडालाई मार्ने धम्की समेत दिएका थिए ।

चितवनका पत्रकार शिशिर सिंखडामाथि भएको आक्रमणको पत्रकारसम्बद्ध संघ संगठनहरुले उक्त घटनाको निन्दा र भत्सर्ना गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, रेडियो टेलिभिजन समन्वय विभागका सदस्य, नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज, रेडियो नेपालका चितवन समाचारदाता तथा कालिका दैनिक अनलाइनका प्रधानसम्पादक सिंखडामाथि गत बुधबार बिहान आक्रमण भएको थियो ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल र प्रेस सेन्टर चितवनका कोषध्यक्ष किशोरचन्द्र सापकोटाले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको भत्सर्ना गरेका छन् । विज्ञप्तिमा समाचारमा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा निवेदन गर्न पाउने अधिकार र छानविनका लागि राज्यको निकाय हुँदाहुँदै त्यस्को व्यवस्थाको बेवास्ता गरी पत्रकारमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरिएको छ । दोषीलाई तत्काल पक्राउ गरि कारवाहीको लागि जोडदार माग समेत गरिएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव गोविन्दप्रसाद चौलागाईं, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्सर्ना गरेका छन् । यसैगरी प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका महासचिव हिरामान लामा, बागमती प्रदेश कमिटीका महासचिव प्रकाश दाहालले पनि विज्ञप्ति प्रकाशित गरी घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

सो आक्रामणको विरोध गर्दै पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, राप्ती पत्रकार मञ्चका अध्यक्ष राजनदिल गुरुङ, पश्चिम चितवन पत्रकार मञ्चका सचिव हेमराज रिमाललगायत दर्जन भन्दा बढी पत्रकार सम्बद्ध संघ संगठनले दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारवाहीको सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।