अनियमित आकस्मिकता

अनियमित आकस्मिकता


  • बलराम उपाध्याय सिलवाल

बालकृष्ण सम जीवनलाई नियमित आकस्मिकता ठान्थे । म चैं उहापोहहरू भुक्तेर होला, अनियमित आकस्मिकता ठान्छु । जीवन त सरल रेखामा हिँडाउन उद्दत किन्तु यो त नागबेली जस्तो बग्दो छ रहेछ बा ! कुन साइतमा पो जन्मेछु, मेरो ग्रहले साथीभाइ विकर्षण गर्दो छ । मृदु बोले नि कटु सुनिने । झुठो अत्तो बेहोर्नुपर्ने । औतारी भगवान कृष्णले त झुठो आरोप खेप्नुपरो भने म जस्तो मामुली मान्छेको के कुरा भो र । दुच्छर/दुर्वचन नबोल्दा नि अप्ठेरोमा पर्छु । मान्छेहरूले मलाई बुझ्न नसकेका हुन् वा मैले उनीहरूलाई बुझ्न नसकेको हूँ । मेरो गुनासो कोहीसित नि छैन ।

मित्रु घट्नु शत्रु बढ्नु; सप्ठेरो-अप्ठेरोमा पर्नु यी सबै भगवानको अनुकम्पा । विवशताले म अचेल धेरै मान्छेहरूबाट टाढिएको छु । उनीहरू ठूलो मान्छे/घमण्डी भएको दोष थोपर्छन् म उपर । म चैं यी बग्रेल्ती मिथ्यारोपहरू सहेर आफ्नो निर्दिष्ट लक्ष्यतर्फ अग्रगमन गर्दो छु । मेरो आफ्नै कथा छ, मेरो आफ्नै व्यथा छ । कोसित पो शेयर गरूँ ? विश्वास खट्केको जुगमा, कतै मेरा बहहरूलाई मजाक ठानेर छिरल्ने त होइनन् ? तत्व नबुझी लार्के लाग्ने किचकी र विकासीहरूको कमी छैन । सकारात्मक वातावरणमा हुर्केको मान्छे म, अर्कोलाई चस्काउने बिझाउने दुखाउने मन पटक्कै छैन तर कहिलेकाहीँ ग्रहदशा बिग्रेर हो वा के भएर हो परिस्थिति असहज र प्रत्युत्पादक भैंदिन्छ । जन्मेसि के के बेहोर्नुपर्ने के के !

जीवन लयमा थिएन, बेहरीले जता हुत्यायो त्यतै हुत्तिएँ । यो अथाह मानव सागरमा सहाराको त्यान्द्रो पाइनँ । अहिले ५६ बर्षको उत्तरार्धमा आएर जन्म, जीवन, जगत र मृत्युको तत्वबोध भो । मृत्युलाई म फुसुक्क सास जाने त हो नि भनेर सहजरुपमा लिन्थेँ अब अहिले मृत्यु कहालीलाग्दो छ मलाई । खै, अरू मान्छेको मृत्युप्रतिको धारणा के कस्तो छ ? मलाई थाहा हुने कुरा भएन । मनुष्यगतरूपमा भिन्न अवधारणा हुँदो हो । कसैलाई सुकर्म गर्न मन लाग्छ त कसैलाई दुष्कर्म गर्न मन लाग्छ । कोही सकारात्मक चिन्तन गर्दो छ त कोही नकारात्मक मनन गर्दो हो । कोही झुण्डेर मर्छ त कोही बिख पिउँछ । आ-आफ्नो चाहना । परजन्ममा प्रेत हुने भएसि किन आत्महत्या गर्ने ? शत्रु बढाउँ भनेर को लागीपर्छ र ? परिबन्द/परिवेशले शत्रु कमाइँदो रहेछ । मेरो कमजोरी मलाई नै भन्दिए म सच्चिने हूँ । अर्कोलाई सुनाएर म सच्चिने होइन क्यारे । स्पष्टीकरण दिंदै हिड्ने मेरो बानी रहेन ।

आफू विद्यार्थी छँदा शिक्षकका भनाइ शिलालेख जस्तो लाग्थ्यो । तिम्रा शिक्षकले गल्ती पढाएका छन् भन्ने मान्छेलाई उल्लीबिल्ली पारिन्थ्यो । ठुलो भएर बुझ्ने हुँदा सरले गल्ती पढाउनु भएको भन्ने लाग्यो । Tortoise लाई टरट्वाइज भनेर पढाइयो टोटस रहेछ । Of लाई ‘अफ’ भनेर पढाइयो ‘अभ्’ रहेछ । अरू बिषयहरू नि अस्पृश्य रहेनन् । शिक्षक भइयो, आफू चपेटामा परेकोले अशुद्ध सिकाइएन । विद्यार्थीको गोठालो होइन, सहजकर्ताको भूमिका निर्वाह गर्दै शिक्षण गर्दो छु । शैक्षणिक तालिमको सदुपयोग गर्दो छु, पिटाइ बेसी सिक्ने सिकाउने कार्यक्रममा जोड दिंदो छु । फुँइ लगाएको होइन, तालिम प्राप्त र अप्राप्तमा भेद हुन्छ । विद्यार्थीहरू शिक्षण क्रियाकलापमा व्यस्त रहँदा कक्षा कोठामा निस्तब्धता भङ्ग हुन्छ नै, हल्ला भो भनेर तालिम अप्राप्त शिक्षक औलो ठड्याउँदो । विद्यार्थी असफल हुनु शिक्षक असफल हुनु हो । शैक्षिक वातावरण फेरिँदो, विद्यार्थी विद्यार्थी जस्तो छैन, शिक्षक शिक्षक जस्तो छैन ।

म स्त्रीजातिलाई सम्मान गर्ने मान्छे । केही महिलाहरूको बौद्बिक अपरिपक्वताले (आफ्नो चेत थोपो नभएको, अर्काको लहैलहैमा लाग्ने) गर्दा उनीहरू उपर थोर बहुत शानमान घट्दो । डढेर जाने रुपको के घमण्ड गर्नु ? आचरण ठिक हुनुपरो ।

आत्माले बोलेको तीतो सत्य, मनले बोलेको मीठो असत्य । चिप्लो घस्न जानिएन, खुरापात सिकिएन, असत्यमा लागिएन, स्वधर्ममा रहँदा दुःख पाइयो । मान्छे मान्छे जस्तो रहेन । बाँच्नको लागि घोर संघर्ष । जीवन जीवनमय बनाउनु छ । मरेसि के पो हो ? तनाउ झमेलाले पछ्याउँदो, खै कसरी पुग्ने हो पल्लो किनार ?

पितामाता, भगवानको अवज्ञा गरेर कृतघ्न बनेको छुइनँ । भगवानले अरू पशुहरूबाट मान्छेलाई छुट्याएको छ- विवेक दिएर । मान्छे विवेक गुमाउँदो, अराजक आतङ्क फैलाउँदो । प्रभु, मलाई पाखण्डीहरूबाट बचाउनोस् । बुबाले पुगनपुग चार दशक अघि हजुरमाताको बरखी बार्नु हुँदा समाज कडिकडाउको थियो । स्पर्श्य बाहेक अरूसित बोल्ने चलन थिएन । बुबाले नीतिसार सुनाउनु हुने बखतमा बरखी बार्दा यवन, म्लेच्छ र अस्पर्श्यसित दोहोरो बात मार्नु हुन्न भन्नुहुन्थ्यो । बुबा बित्नुभएको नि पाँच महिना बिति सकेछ । बुबाको अभाव खड्किंदो । बुबाको आयु लाख वर्ष भए नि कमै लाग्ने । बाऊ मरेको वर्ष दशा बिग्रन्छ, शत्रुले हेप्छ भन्नुहुन्छ आमा । हुन पनि हो जस्तो लाग्या छ मलाई । म अहिले अनावश्यक झमेलाबाट गुज्रिएको छु । आशावादी मान्छे म । घनघोर निराशाको बादलबाट बेरिएको छु । सान्त्वना शून्य । बाऊआमा अवज्ञाकको सोच कस्तो, उही जानोस् । पितृाज्ञा अक्षरसः पालना गर्दो छु । ४५ दिन/६ महिनामा अड्को फुकाउनु पर्छ भन्ने धेरै छन् । निर्णय सिन्धुले अड्को फुकाउँदो छैन, धर्म सिन्धुले के पो गरेको छ ? म त भन्छु- पितृको लागि सन्तानले कष्ट ब्यहोरेको बेस ।

डिस्क्लेमर- मूल्य, मान्यता र अवधारणा आ-आफ्नो । मेरो विचार मान्नैपर्छ भनेर अरूलाई लदाउन चाहन्नँ । मभित्र नि मनग्गे कमजोरीहरू होलान्, हटाउँदै छु । दुधले नुहाएको भनेर बडप्पन देखाउन्नँ । आत्मालोचना कोही नगर्दो । आफै मैंमत्त । आफू ठिक अरू बेठिक । बुख्याँची दुनियाँ अपरम्पार । मुटु निचोरेर रगत निकालेको जस्तो अनुभूतिले लेखिएको प्रस्तुत प्रबन्ध । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।