माया र सम्झनाको भारी बोकेर बेल्जियम फर्किएपछि…

माया र सम्झनाको भारी बोकेर बेल्जियम फर्किएपछि…


  • डिल्ली अम्माई/बेल्जियम

(नेपाल डायरी)

जुलाईको गर्मीमा अचानक नेपाल जाने योजना बन्यो । यसै त वर्षमा विद्यालयको छुट्टी बल्लतल्ल मिल्ने…, काम स्कुलमै भएकोले काममा पनि सोही समय छुट्टी थियो । योजनाअनुसार हामी तीन जना (तारा, म र प्रकाश बाबु) परिवारका तीन सदस्य इतिहादको फ्लाइटमार्फत १८ जुलाई नेपाल प्रस्थान गऱ्यौँ । हामी काठमाडौंबाट सरासर गैंडाकोट नवलपुरस्थित घर पुगेर केही बेर आमा (सासु)सँग पारिवारिक कुरा गरि आराम गऱ्यौँ । दोश्रो दिन संयोगवश मेरा आदरणीय ठुलो ससुरा बुबा बाग्लुङबाट आएकोले अबेरसम्म कुराकानी गरेर बसियो । अर्को दिन बुबा बास्तुमा आउने बाचा गरि बाग्लुङ फर्कनुभयो ।

घरमा तीन रात बिताएपछि एक्लै पुर्व सहकर्मी, मित्रहरू र मेरा विद्यार्थीहरू भेट्ने अभिलाषासहित म आफ्नो पुरानो कर्मक्षेत्र बारा जिल्लाको सिमरा, डुमरवाना पुगेँ । ‘तपाईं यो पटक जसरी पनि सिमरा आउनुपर्छ, २४ वर्ष भन्दा बढी भयो भेटघाट नभएको’, मलाई झपेन्द्र सरले फोनमा भनेको यो भनाइ मेरो कानमा गुञ्जिरहेको थियो । हुन त टंक सापकोटाले पनि ‘यो पटक भेट हुनुपर्छ’ भनेर अनुरोध गरिरहेका थिए । त्यसैले बारा जिल्लाको डुमरवाना, नेपाल पुगेपछिको मेरो पहिलो गन्तब्य बन्यो । त्यहाँ पुगेपछि रजगठ्ठा बस्ने मेरा पूर्वशिक्षक सहकर्मी मित्र झपेन्द्र बराललाई मात्र भेटिनँ, केही आफन्त, मित्रहरू र मेरो जेठी आमालाई पनि भेटेँ । सोही अवसरमा मित्र बिष्णु भट्टराईद्वारा संचालित पौडीपोखरीको पनि निरीक्षण गर्ने मौका मिल्यो । उहाँलाई रक्तक्यान्सर भएर पनि सन्चो भइसकेको रहेछ । त्यो थाहा पाएर असाध्य खुशी लाग्यो ।

त्यो बेलुका मेरा आफन्त टंक सापकोटाको रजगठ्ठा चोकस्थित घरमा पुराना दिनहरूको बारेमा गफ गर्दै रात बितायौँ । जेठी आमाले ‘मुसुरे मामालाई क्यान्सर लागेर उपचार गर्दै गरेको’ कुरा सुनाउनुभएको थियो । त्यसैले त्यहाँ पुगेको भोलिपल्ट अर्थात् जुलाई २५ मा क्यान्सरपीडित मामालाई भेट्न डिल्लीराम सापकोटा दाजु र म सुन्दर बस्ती उहाँको घर पुग्यौँ । मामाको आत्मबल र विश्वासले क्यान्सरलाई पराजित गर्नु हुन्छ भन्ने लाग्यो । सोही अवसरमा मेरी एक छात्रा गोमा रिजालसँग पनि भेट भयो । उनिसँग पनि २५ वर्षभित्र जीवनमा घटेका घटनाक्रमबारे कुराकानी भयो । जीवनको बाटोमा समयको ठुलो खालि ठाउँ अलिकति पुरिएको महसूस गर्दै हामी शिक्षक-विद्यार्थी छुट्टियौँ ।

अर्को दिन २८ जुलाई, पण्डित माइज्यु, भीम सर, धर्मदत्त, टंकको बुबा-आमा, दधि भिनाजुलाई उहाँहरूकै निवासमा पुगेर भेटेँ । मित्र धर्मदत्तले मेरो विद्यार्थी बाबुरामको प्रगतिका कथाहरू सुनाउंदै भन्नुभयो, ‘डिल्ली सर, भेटेर खुशी लाग्यो, तपाईंले मेरो छोराको भविष्यको बारेमा २५ वर्षअगाडि दिएको चासो र सुझावले उसको जिन्दगी फेरिएको छ । ऊ पनि खुशी छ र काठमाडौंतिरै आफ्नो लाइफ सेट गरेको छ ।’ उहाँको सद्भावपूर्ण कुराले मेरो खुशीको सीमा रहेन । आफ्नो-आफ्नो कर्मक्षेत्रमा कार्यरत रहेकाले मैले पढाएका धेरै विद्यार्थीहरूलाई भेट्न सकिनँ र पनि सदैव उज्वल भविष्यको कामनासहित मेरो अन्तःस्करणमा उनीहरूको बाल तस्बिरको चित्र कोर्दै अभिभावकहरूसँगको भेटघाटलाई तीव्रता दिएँ ।

तेश्रो दिन हात्तिसार पुगेर मेरो विद्यार्थी धनमायाको बाबा-आमालाई भेटेँ । धनमायालाई उनकै कर्मक्षेत्रमा पुगेर भेट्न सकिएन । दिउँसो पत्रकार मित्र विदुर खड्कासँग युक्रेन युद्ध र त्यसको असरबारे रेडियो कुराकानी भयो । ‘ओहो ! डिल्ली सर, धेरै समयमा भेट भयो । युक्रेनयुद्धको असर युरोपमा कस्तो छ ?’ उहाँको प्रश्नमा मैले आफ्नो अनुभूति राखेँ । उहाँले मेरो अभिव्यक्तिबाट प्रभावित हुँदै रेडियो अन्तर्वार्ता नै लिनुभयो, जसमा मेरो आफ्नो धारणा प्रष्टसँग राखेँ । अर्को दिन रेडियो सुन्ने आग्रह गर्दै विदुरजीले मलाई डुमरवानाबाट रजगठ्ठा ल्याइदिनुभयो ।

रजगठ्ठामा रहेको पछिल्लो रात मित्र रुद्र सापकोटाको आतिथ्यताले भावुक बनायो । पुराना मित्रहरू, अझ बालसखाहरूको मायामा कुनै स्वार्थ नहुँदो रहेछ भन्ने एक उदाहरण बन्यो हाम्रो भेट । ‘अब नेपाल आउँदा खबर गर्नुहोला, तपाईंको समय अनुकुल नभएपनि हामी भेट्न आउनेछौँ । ‘रुद्रजीको यो भनाइमा आडम्वर नभएर प्रेम थियो । ‘मित्र, तपाईंको सद्भाव र मित्रवत ब्यवहारप्रति म आभारी रहने छु ।’ मित्र रुद्रको सहयोगमा सिमरा हुँदै पुनः बस चढेर जुलाई २९ मा जेठीआमा, दधि भिनाजु, दाजु धनप्रसाद र डिल्लीलगायत अग्रजहरूको आशीर्वाद र मित्रहरूको मायाको प्रिय भारी बोकी म हेटौँडा, चौघोडा, निउरेनीस्थित मेरा बुढा मावलीको घर आएँ ।

‘ओहो.. भान्जा ! कति वर्ष भयो तपाईंलाई हामीले नभेटेको ?’
‘२५ वर्ष मामा !’

केही बेरको सुन्यताभरि केवल समय बोल्यो, हामी निःशब्द । ‘यो त अलिक भएन, हजुर्बा, आमा दुवै खस्नुभयो, लामो समय भेट नहुँदा आफन्तको चित्र धमिलिदै जाँदोरहेछ भान्जा ।’ यस्तै–यस्तै भावुकतापूर्ण लामा गफ भए । बेलुका मामा-माइज्युसँग २५ वर्षको अन्तरालमा घटेका निकै भावुक गफ भए । ठुलोमामा (विश्व) को बाथ रोगले खुट्टा सुन्निएको रहेछ । उहाँलाई हिँडडुल गर्न निकै मुस्किल रहेछ । उहाँको अवस्थाले मलाई निकै पीडाबोध गरायो । आशा छ, मेरो ठुलोमामा छिट्टै हिँडडुल गर्न सक्नेगरी निको हुनुहुनेछ । उहाँको परिवारभित्र घटेका सबै पीडादायी गफहरू सुन्दा रुन मन लाग्यो । उहाँका छोरीज्वाइँ बितेको दर्दनाक खबरले अति नै मर्माहत बनायो । वास्तवमा हाम्रो २५ वर्षपछिको यो भेट मेरो लागि आफन्तहरूको सम्बधलाई पुनर्जीवन दिन सार्थक भयो भन्ने लाग्छ । बेलुका सानिमाका दुई छोरीहरूसँग भेट गरी कान्छामामा ध्रुव पाठककै घरमा हेटौँडाको शीतल हावा पिएर रात बिताएँ ।

३० जुलाईको दिन ध्रुवमामा र मेरो नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मनिराज गौतमलगायत पत्रकारहरूलाई भेट्ने योजना बन्यो । मनोजजीको निमन्त्रणामा हामी हेटौँडामा अवस्थित उँहाको कार्यालय पुग्यौँ । उहाँको आतिथ्यताले केहीबेर भाबुक बनायो । उहाँ बेल्जियम आउँदा पनि हाम्रो भेट भएको थियो । ‘तपाईंलाई मैले बेल्जियममा भेटेको बिर्सनुभयो डिल्ली दाइ ?’ उहाँको जानकारी र अहिलेको भेटले हाम्रो सम्बन्धलाई पुनर्ताजगी गऱ्यो । त्यसपछि हामी नेपाल पत्रकार महासंघ मकवानपुरको कार्यालय गयौँ । कार्यालयको भव्यताले मन लोभ्यायो । मकवानपुरका सबै पत्रकारहरू लगायत अध्यक्षलाई भब्य कार्यालय निर्माणमा पुऱ्याएको योगदानको लागि मनमनै धन्यवाद दिएँ । अध्यक्षसँगै नास्ता गरेर छुट्टिने बेलामा अध्यक्ष मनिराजजीले बेल्जियम शाखाका अध्यक्ष ओम शर्मालगायत सबै साथीहरूको सम्झनासहित आफ्नो अभिवादन सुनाइदिन आग्रह गर्दै मलाई बिदा गर्नुभयो । मनले मनलाई नै भन्यो, ‘अहा ! कति सरल र योग्य नेतृत्व पाएको रहेछ नेपाल पत्रकार महासंघ मकवानपुरले ।’

हेटौडास्थित मित्र कृष्ण खतिवडाको फोहर रिसाक्लिङ फ्याक्ट्री अनुगमन गर्ने इच्छा यो पटक पूरा हुन सकेन । खतिवडाजी ब्यस्त भएकोले फोनमा मात्र कुरा भयो । हेटौँडामा हाम्रा मामाका छात्र सहदेव गौतमलाई सम्झने मनिराज सहित धेरै थिए । मित्र सहदेवजीलाई उहाँका धेरै शुभचिन्तकहरूको सम्झना र माया लिएर आएको छु ।

हेटौडाबाट फर्कने क्रममा अर्थात् पहिलो अगस्तको दिन सानिमाकी छोरी र म गौरीगंज सानिमाको घर आयौँ । दिनभर सानिमालगायत उहाँको परिवारसँग गन्थन गरियो । सानिमाकै मुखबाट सानबासँग जीवनको अन्तिम अवस्थामा बिताएका सम्झनाहरूले मनलाई रुझायो । केही महिनाअगाडि स्वर्गवास हुनुभएका सानबालाई मनमनै हार्दिक श्रद्धान्जली अर्पण गरेँ । सानिमाकोमा खाना खाइवरि बेलुका प्रेमबस्तीमा रहेकी जेठीआमा, पुसाजु, कान्छीआमा लगायतलाई भेट्न गएँ । बेलुका आमाछोरा गन्थन गर्दै कान्छीआमाको घरमा रात बिताएँ । भेटेका सबै इष्टमित्रहरूलाई २५ श्रावणको नयाँ गृहप्रवेश उत्सव (बास्तु पुजा)को निमन्त्रणा भन्दै भोलिपल्ट शरदपुर माइलीआमाकोमा आएँ । सुगररोगको कारण आमाको अवस्था नाजुक देखेर धेरै दुःखी हुनुको विकल्प मसँग थिएन । मनमनै आमाको पूर्ववत स्वास्थ्यलाभको कामना गरिरहेँ । दया दाजु, बिष्णु भाइ, भाउजु, दिदी, भिनाजुहरू बहिनीलगायत भेटेर बेलुका मेरो ससुराली पुगेँ । त्यहाँ कान्छा ससुरा, आमाहरू, भाइ प्रेमनिधिलगायत भेटेर हाकिमचोक पुसाजुकहाँ पुगेँ । त्यसपछि बुबाको कान्छोमामा, माइज्यु सबैलाई भेट्दै बेलुका गैँडाकोट घर फर्कें । अब भने मेरा आफन्तहरूको तस्बिर र समयको दूरी परिमार्जन गरी मनमा कुरा खेलाउँदै आफूलाई क्षितिजमा अड्याउने जमर्को गरेको छु ।

अगस्त २ तारिकको दिन प्रिय भाइ दिलिप, दाजु हरिराम अधिकारी भेटेर पुराना गफ गर्दै समय बितायौँ । बेलुका हाम्रा बिरामी भिनाज्यु भेट्न म आदरणीय तिलक सापकोटाको घर गएँ । ‘यो मेरो डायरी लिएर जानुपर्छ बाबु, मेरो जीवनको सानो तर मुर्तचित्र यसै भित्र छ ।’ समाजवादी चिन्तक तथा बीपीका होनाहार चेलाले मलाई आफ्नो पुस्तकसहित सँगै बसाएर तस्बिर खिचाउँदा मैले आफैलाई अहोभाग्यशाली सम्झँदै भिनाज्युलाई धन्यवाद दिएँ । कृत्रिम अक्सिजनको सहारामा बाँचिरहनुभएका आदरणीय भिनाज्युले लेखेको डायरीको पुस्तक लिएर भाबुक मुद्रामा घर फर्किएँ ।

अगस्त ४ तारिख, श्रीमती ताराको गाडीको लाइसेन्स नवीकरण गर्ने भनेर कावासोती पुगेको त्यहाँबाट सम्भव नभएपछि हामी बुढाबुढी सोही दिन पोखरातिर लाग्यौँ । बेलुका हामी आँबुखैरानीका मित्र वासुदेव पुडासैनीकोमा बास बस्यौँ । अगस्त ५ तारिकको बिहान ११ बजे पोखरा पुगेर पत्रकार मित्र दीपेन्द्र श्रेष्ठलाई भेट्यौँ । लाइसेन्सको काम सकिएपछि नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्रजीले हामी दुवैको एभरेष्ट रेडियोबाट अन्तर्वार्ता लिनुभयो । ‘भोलि तपाईंसँग भेटघाट कार्यक्रम पनि छ र संयोगले नेपाल पत्रकार महासंघ कास्कीको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि छ । तपाईं बस्नुपर्छ है डिल्लीजी !’ भनेर दीपेन्द्रजीले निम्तो दिएपछि भोलिसम्मको लागि हामी पोखरामा रोकिने भयौँ ।

भोलिपल्ट बिहान पत्रकार महासघ कास्कीकी अध्यक्ष विमला भण्डारीले आफ्नो कार्यकक्षमा बोलाएर सम्मान गर्नुभयो । उक्त समयमा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख सरिता तिम्सिना पगेनीलगायत पत्रकारहरूसँग कुराकानी गर्दै उहाँहरूको सद्भाव र आतिथ्यता ग्रहण गरियो । त्यसपछि महासंघद्वारा सञ्चालित गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ र २०७८ बाट फोटो पत्रकार राम गुरुङ र नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमल्सिनालाई सम्मान गर्ने कार्यक्रममा मलाई पनि नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको तर्फबाट अतिथि बनाइयो । मसहित सिंगो बेल्जियम शाखाप्रति कास्की शाखाले देखाएको सद्भाव र सम्मानप्रति यफएनजे बेल्जियमको शाखाको तर्फबाट मैले आभार ब्याक्त गरेँ । भोलिपल्ट एफएनजे कास्की शाखाकी अध्यक्ष विमला बैनी र कोषाध्यक्ष कृष्ण दवाडीसँगै बसेर चियापान गरि हामी पोखराबाट बिदा भयौँ । यो सबै भेटको चाँजोपाँजो मिलाइदिने आदरणीय मित्र दीपेन्द्र श्रेष्ठप्रति म सँधै आभारी रहने छु ।

अन्त्यमा, श्रावण २५ को हाम्रो नयाँघर उत्सवमा उपस्थित अग्रज, आफन्त र मित्रहरूलाई एकसाथ भेट्ने अवसर जुट्यो । सोही दिन आदरणीय पूर्वसांसद गोविन्दप्रसाद कँडेल, कान्छोबुबा नारायण कँडेल, मेरा पुपू पुसाजुहरू, मान्यजनलगायत आमाहरूको पदचापले मेरो आँगन पवित्र भयो । अर्को दिन अमेरिकाबाट आएका मेरा बालसखा बालाराम तिवारीलाई २५ वर्षमा पहिलो पटक भेट्दा अति आनन्द लाग्यो । हामी घरबाट बिदा हुने अघिल्लो दिन नेपाली काङ्ग्रेसका नेता आदरणीय तिलक सापकोटा अक्सिजनको सिलिन्डरका साथ गाडीमा पुस्तकसहित मेरै घर आएर हामीलाई बिदा गर्दै भन्नुभयो, ‘बाबु, म तिम्रो घर हेर्न आएको, यो किताव अमृत प्रधानलाई दिनु, बेल्जियम पुग्नेबित्तिकै खबर गर्नु ।’ त्यो समय म कति भावुक भएँ शब्दमा भन्न सक्दिनँ ।

पछिल्लो केही दिनदेखि म इन्फ्लुएञ्जा भाइरल ज्वरोले बिरामी भएको थिएँ । बिरामी अवस्थामै कर्मक्षेत्र प्रस्थान गरेँ । गाडीमा काठमाडौं आउँदा मेरो शरीर सिथिल जस्तो भएको थियो । मनले मानेन र बिरामी अवस्थामै सकी-नसकी नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय पुगेर आदरणीय अध्यक्ष विपुल पोखरेललाई भेटी युरोपको संगठनात्मक दुःख बिसाएँ । उहाँले धेरै समय त मलाई दिनुभएन तर भेटको समयमा हाम्रा दुःख सुनिदिएकोमा म खुशी नै छु । त्यस्तै पत्रकार मित्र जगतजीले पनि मसँग खुलेर कुरा गर्नुभयो । कार्यालयका कर्मचारी मित्र भुवन कार्कीजीसँग उहाँको कार्यकक्षमै कुरा गरियो । त्यसरी केन्द्रिय पत्रकार अग्रजसहित धेरै आदरणीय आफन्तहरूको आशीर्वाद र माया लिएर यो पटक म सिथिल शरीर लिएर बेल्जियम फर्किएको छु । काठमाडौंमा मित्र लक्ष्मण गुरुङको आतिथ्यताले भावुक बनेको छु भने फर्किने अन्तिम हप्तामा बिरामी परेर मेरा अति आदरणीय देव दाजु, जयजी, नवीनजी लगायतलाई कार्यालय वा निवासमै पुगेर भेट्ने सदीक्षा पूरा भएन । समयको घेराबन्दीमा धेरै मित्रहरूसँगको भेटघाट छुटेकोमा क्षमाप्रार्थी छु । अस्तु ।