विविध विषयमा निर्णय गर्दै एनआरएनए विधान समितिको बैठक सम्पन्न

विविध विषयमा निर्णय गर्दै एनआरएनए विधान समितिको बैठक सम्पन्न


गैरआवासीय नेपाली संघको विधानलाई समयानुकुल परिमार्जित र सकभर विवादरहित बनाउने उद्देश्यले संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा गठन गरिएको विधान संशोधन समितिको हालै बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । विभिन्न औपचारिक तथा अनौपचारिक छलफलहरु समय समयमा भएता पनि गत बुधबार (१७ अगष्ट) बसेको समितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरी केही महत्वपुर्ण विषयहरुलाई पास गरेको जनाइएको छ ।

संघका सचिव एवम् विधान संशोधन समितिका सदस्यसचिव गंगाधर गौतमले दिएको जानाकारी अनुसार उक्त समितिले यसै कार्यकालमा सम्पन्न गर्नेगरी विधानको आवश्यक संशोधन तथा परिमार्जनका लागि तयार गरेको कार्यविधिसमेत पारित गरेको छ । बैठकले छलफलबाट सर्वसम्मत रुपमा पास गरेका विविध विषयहरु सार्वजनिक गरिएको छ, जो निम्नानुसार छन् –

विधान समितिको कार्यविधि सम्बन्धमा

१) विधान समितिले यस कार्यकालको लागि विधानको आवश्यक संशोधन र परिमार्जनका लागि तयार गरेको कार्यविधि पारित गरेको छ ।
२) कार्यविधि जानकारीका लागि एनआरएनए केन्द्रिय समितिमा पत्राचार गर्ने र आगामी बैठक केन्द्रिय पदाधिकारी, केन्द्रिय समिति र राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, महासचिवसमेत छुट्टाछुट्टै सामुहिक बैठक बस्ने निर्णय गरियो ।

बैठकले तयार गरेको कार्यविधि यसप्रकार रहेको जनाइएको छ –

विधान संशोधन समिति २०२१∕२०२३ निर्देशिका सूची –

क) परिचयः गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानमा आवश्यकता अनुसार संशोधन प्रस्ताव तयार गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एक विधान संशोधन समिति गठन गरेको छ । यस समितिले यो निर्देशिका सूचीअनुसार कार्यसम्पादन गर्नेछ ।

ख) समितिः यस समितिमा अनुसूची १ देहाय बमोजिमका ब्यक्तीहरु रहने छन् । अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले आबस्यकता अनुसार सदस्य थप गरि बढीमा १५ सदस्यीय विधान समिति बनाउने यस समितिलाई अधिकार दिएको छ।

ग) कार्यावधि समितिको कार्यकाल ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन (अर्को समिति नबनुन्जेल) सम्म रहनेछ ।

घ) समितिका उद्देश्यहरुः संघको विद्यमान विधानको अध्ययन गरी संघको उद्देश्य, संघले विभिन्न समयमा आत्मसात गरेका भिजन र मार्गचित्र प्राप्त गर्ने दिशामा सहायक हुनेगरी संघको आगामी साधरण सभामा आवश्यक संशोधन प्रस्ताव पेश गर्ने । १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा देखिएका समस्याको अध्ययन गरी समाधानका उपायहरु सुझाव गर्ने । अनुसूची २ मा देखिएका समस्याहरु लिपिबद्ध गरिएको छ । संघको संरचना र निर्वाचन प्रणालीका सम्बन्धमा यसपूर्वको विधान समितिले संकलन गरेको सुझावको अध्ययन गर्ने र आवश्यकताअनुसार विधान संशोधनमा समेट्ने ।

संघको विद्यमान विधानको विस्तृत अध्ययन गरी देहाय बमोजिमका कुरा सुनिश्चित गरिनेछ –

विधानको लेखाइमा भएका कमीकमजोरी पुनर्लेखन गर्नुपर्ने वा सुधार गर्नुपर्ने कुराको पहिचान गरी छलफल र सुझावको लागि लिपीबद्ध गर्ने । विधानका विभिन्न धारा उपधारा एकअर्कामा बाझिए नबाझिएको जाँच गरी बाझिएका भए सच्याउनुपर्ने धारा उपधारा छलफल र सुझावका लागि लिपिबद्ध गर्ने । संघको नियमित काम कारवाही सञ्चालन गर्दा, विभिन्न कार्यक्रम गर्दा, महाधिवेशन गर्दा वा निर्वाचन गराउँदा आउने वा आउनसक्ने समस्यामा संघको विधान प्रत्यक्ष वा परोक्ष रुपमा कारक भए नभएको अध्ययन गरी कारक भए विधानका कुन कुन धाराले के कस्तो अवस्था सिर्जना गरेको वा गर्न सक्नेछन् भन्ने पहिचान गरी थप छलफलका लागि लिपीबद्ध गर्ने । अन्तर्राष्ट्रिय समन्वय परिषदको अनुरोधमा विधानसँग सम्बन्धि नियमावलीहरुको पुनरावलोक तथा संशोधन सुझाव तयार गरि नियमावली पुनर्लेखन गर्ने ।

ङ) सुझाव संकलन, बैठक र संशोधन प्रस्ताव तयारीः उल्लेखित विधि, प्रक्रिया बमोजिम संघका सबै तहबाट लिखित सुझाव र मत संकलन गरिनेछ । संघका विभिन्न निकाय (राष्ट्रिय समन्वय परिषद, क्षेत्रीय समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद) ले गरेका कार्यक्रममा सहभागी भइ थप सुझाव संकलन गरिनेछ । प्राप्त मत, सुझावलाई उपयुक्त ढंगले लिपिबद्ध र वर्गीकरण गरी संशोधन प्रस्ताव तयार पारिनेछ । उक्त संशोधन प्रस्तावलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् समक्ष पेश गरिनेछ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को सुझाव र निर्देशनसमेत समावेश गरी संशोधन प्रस्ताव लाई अन्तिम रुप दिई साधरणसभामा पेश गरिनेछ । समितिको बैठक आवश्यकता अनुसार इमेल, साइवर वा प्रत्यक्षरुपमा बस्नेछ । समितिका निर्णयहरु र अन्य प्रगति विवरण आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराइनेछ ।

च) निर्देशिका संशोधन आवश्यकता र व्यवहारिकताको आधारमा निर्देशिका सूची परिमार्जन गर्नुपर्ने भएमा सोको जानकारी अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई गराइनेछ ।

अनूसूची १) विधान संशोधन समिति २०२१∕२०२३ संयोजकः डा. हेमराज शर्मा, सदस्यसचिवः गंगाधर गौतम, सदस्यहरुः महेश कुमार श्रेष्ठ, भुषण घिमिरे, नरेन्द्र भाट, नारायण आचार्य, यासमिन बेगम सैयद।

अनूसूची २) १०औँ अधिवेशनमा प्रतिनिधि छनोट निर्वाचनमा विषयमा छलफलका शिर्षकहरु।

अ. ६५ प्रतिशत प्रतिनिधिहरु पुरानो वा नवनिर्वाचित समितिले पठाउने बारे । आ. २५ प्रतिशत प्रतिनिधिहरुको निर्वाचनको व्यवहारिकता बारे ।

३) प्रतिनिधि छनोटमा राष्ट्रिय समन्वय परिषदको निस्पक्षता बारे ।

४) संघले निर्माण गरेको डिजिटल (एमआइएस) प्रणालीबाट सदस्यता वितरण प्रकृया र अधिकार, र स्वतन्त्र प्रमाणिकरण बारे ।

५) राष्ट्रिय समन्वय परिषदको कार्यकारी समितिको संख्या, निर्वाचित वा मनोनयन हुने विधिमा सदस्य संख्याको आधारमा एकरुपतासहित कार्यसमितिको संख्यामा हदबन्दी बारे ।

६) अनलाइन मतदान प्रणालीलाई विश्वसनीय बनाउने बारे ।

विधान समितिको संयोजकमा उपादक्ष डा. हेमराज शर्मा, उपाध्यक्षहरु महेश श्रेष्ठ, भूषण घिमिरे, नरेन्द्र भाट, नारायण आचार्य, महिला उपाध्यक्ष यास्मिन बैगम सैयद र सदस्यसचिवमा संघका सचिव गंगाधर गौतम हुनुहुन्छ।