सरकारद्वारा विश्व बैंकको १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण स्वीकार

सरकारद्वारा विश्व बैंकको १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण स्वीकार


photo: rss

सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड (अमेरिकी डलर १०० मिलियन) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले यही साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुन:स्थापना आयोजनाका लागि प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख (जापानी येन दुई हजार २५६ मिलियन) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कित श्रेणीका ५१ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ । चालु आवका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजपत्राङ्कित श्रेणीका ५८ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका २० पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ । बैठकले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय पनि गरेको छ ।

सरकारले यसअघि नसीम राईनको प्रमाणपत्र नं १५–०१–७१–०५७४० विसं २०७१ मङ्सिर ७ गते जारी भएको वंशजको नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । सरकारले सप्तकोसी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यस्तै पर्वतको कुस्मा नगरपालिका–५ स्थित १३ रोपनी १५ आना जग्गामध्ये जिल्ला समन्वय समितिले भोगचलन गरेको छ रोपनी छ आना दुई पैसा एक दाम जग्गाबाट दुई रोपनी नौ आना तीन पैसा तीन दाम जग्गा कुस्मा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका तीनसय ५५ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका १५ पदको अस्थायी दरबन्दी स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चालु आवका लागि राजपत्राङ्कित श्रेणीका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गरेको छ । सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने भएको छ । अमेरिकी ऊर्जा विभागको आयोजनामा आगामी नोभेम्बर १४ देखि १८ सम्म आयोजना हुने कार्यक्रममा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भाग लिन स्वीकृति दिएको छ ।

रोमानियाको बुखारेष्टमा आगामी असोज १० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ३ हेरफेर गर्ने र सो को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । आगामी भदौ ७ गतेदेखि ९ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।