गाईजात्रे गनगन !

गाईजात्रे गनगन !


(गाईजात्रा विशेष)
  • मातृका ‘लाम्काने’

चुनाऊ : भ्रष्टाचार, घुसखोरी तथा कमिसनतन्त्रको लागि वैधानिक इजाजत लिने २१औँ शताब्दीको विश्वब्यापी लोभतान्त्रिक परीक्षा ! गठबन्धन, ठगबन्धन, नोट खनखन गरिक, चोरी चकारी चतु¥याइँ, बलमिच्याइँ गरिकन जित्नैपर्ने र हार्नै नहुने खेलकुद ।

कर : रहर वा इच्छाले नभई करले, डरले, सर्खारको धम्कीले, कर-करले जनताद्वारा आफ्नो आम्दानीको हिस्सा बाँडफाँड गर्ने जस्तो गरि सरखारलाई कमिसनबापत बुझाउने रकम वा भौतिक बस्तु ।

सरकार : भिजन नभएको, इच्छाशक्ति मरेको, कामकुरो एकातिर कुम्लो (राज्य-धन) बोकी अर्कातिर (विदेशतिर पनि), सहनशीलता, मितब्ययिता नभएको, छलछाम, साम, दाम, दण्ड, भेद, विभेद, अभिमानी, सत्ता, शक्ति र स्वार्थहरूको झुण्ड, जनतालाई कार्यकर्ताको नाममा दास बनाइ हो-हो पादरी पादरी गर्ने गराउने ।

राजसंस्था : आगो बलेको पुरानो सतिसालको रुख जहाँ ज्वालो देखिँदैन तर धुवाँ आइरहेछ । राप र ताप बढिरहेको छ ।

कम्युनिष्ट पार्टी : कम्युनिज्मको ‘क’ नभएका, बोलीमा राम, ब्यवहारमा हराम, जन्मदाता (मार्क्स, लेनिन, माओ, स्टालिन) को फोटो शिरमा राख्ने तर श्राद्ध (श्रद्धा) कहिल्यै नगर्ने । सांस्कृतिक अतिक्रमणकारी, विचलनकारी, साम्राज्यवाद र विस्तारवाद मुर्दावाद भनेर सुरुङयुद्धको ध्वाँस दिइ दाजुभाइ लडाउने, आफू भने खुसुक्क प्रभुका चरणमा दाम चढाउने, त्वं शरणम् गच्छामी गर्ने । जनताका छोराछोरीलाई साम्राज्यवाद मुर्दावाद भन्दै लडाउने अनि आफ्ना छोराछोरी साम्राज्यवादीको पाठशाला (बेलायत अमेरिका) मा पढाउने । खुनखराबीको दुर्गन्धबाट उत्पति भएका, मान्छे मारेर शान्तिप्रिय भएका । धर्मलाई अफिम भन्ने तर साइत कुर्ने र बली दिने । संसारमा दुई जातका मान्छे मात्र हुन्छन् भन्ने तर जातका आधारमा राजनीति गर्ने । पुँजीवादविरोधि तर पुँजीका लागि मात्र राजनीति गर्ने । सडकमा हुञ्जेल भारत अमेरिका मुर्दावाद सत्तामा पुगेसी एमसीसी जिन्दावाद ।

काङ्ग्रेस : विचार नीति सिद्धान्त बीपीको, चिन्तन काङ्ग्रेस आईको । न जन्म देशमा भएको न देशका लागि भएको । माओवादीको रोडम्याप र एजेण्डामा झुण्डिएर सत्तामा पुग्न देश काल परिस्थितिलाई तिलाञ्जली दिएको । लिवरल इकोनोमी भन्दै देशका सरकारी कारखाना बेचेर नामोनिसान मेटाएको । खोला नदीनाला बेची सिध्याएको । देशलाई परनिर्भर र जनतालाई परसेवक बनाएको ।

विकास : पहिले रोल्पा रुकुमबाट पिठौरागढ, नैनिताल, देहरादुन जान दुई÷तीन हप्ता लाग्थ्यो अहिले बढीमा दुई/तीन दिन । पहिला वैदेशिक रोजगारीमा दुई-चार देश जान पाइन्थ्यो, अहिले पचासौँ देश जान पाइन्छ । पहिले चिनी, जुट, कागज, छाला जुत्ता, टायर, सलाइ आदि देशमै उत्पादन हुन्थ्यो, अहिले सबै किनेर ल्याइन्छ । पहिले घर बन्दछ अनि बाटो, बाटो बन्दछ अनि नाला, पिच गरिन्छ अनि फाइवर नेटवर्क, पानीको पाइप बिच्छ्याइन्छ । उविण्डो काम । पुल भरसक खोलाबाहिर बन्छ, बन्दाबन्दै खोलाले अन्तै बाटो खन्छ, कतै पुल नबन्दै बल्ड्याङ्ग खान्छ । त्यसैलाई विकास भन्छ हाम्रो नेपालमा ।

ब्यापार : पहिले आफू किनेर अरुलाई बेच्ने कार्य । थोरैमा बेचेर धेरैमा, सस्तोमा लिएर महँगोमा, राम्रो लिएर मिसमास थपथाप गरेर आधा भाँडो अखाद्य बस्तुले भरेर बेच्ने कार्य । नयाँपन, दिगोपन र उत्पादित नभएको आयातित बस्तुको सातबारे हटिया ।

कानुन/न्याय : कानुन जानेबुझेका, पढेका, ठूलाबडाले लाखौँ खर्च गरेर जुन वकिल र न्यायाधीश किन्न सक्छन् त्यसबाट गच्छेअनुसार पाइने फल । गरिवको लागि, अदना दुःखीका लागि आकाशको फल । आँखा चिम्लेर काम गरम् त अभियोग लाग्ला भन्ने पीर र डरले न्यायाधीशका मनमा जो-जो पीडा, तरङ्ग, संशय पैदा हुन्छ त्यसको प्रतिफल ।

प्रशासन यन्त्र/संयन्त्र : जुन दल आयो जो कुर्सीमा वा सत्तामा छायो उसकै तालमा उसका लठैत आसेपासे धुपौरेका जालमा परि जो-जो कहन्छन् सो-सो गर्ने । आफ्नो योग्यता क्षमता कार्यदक्षता अनुभवलाई लाभ र लोभले छपक्कै ढाकेर, केही नबुझेका मन्त्रीलाई नानाभाँती काम-कुरामा लबिइङ गरेर, पदोन्नति र सरुवा-बढुवाको गल्ली ढुकेर बस्ने बिरालाहरूको जमात । चोरलाई फुली, साधुलाई सुली दिने यन्त्र प्रशासनतन्त्र ।

कार्यकर्ता : कुनै न कुनै दलको छाताभित्र ओतिएका, नेताको ठाडो आदेशमा गोरुझैँ जोतिएका, कोलमा तोरी पेलेझैँ पेलिएका, गोरुलाई गुरु ठान्ने, आफ्नो नेता गलत भए पनि सही देख्ने, कालोलाई सेतो हो भने, हो हो त्यसै हो भन्ने, नेताको गोबरलाई गुँदपाक ठान्ने । सामाजिक चेत र ब्यक्तिगत विवेक नभएका । आफू नाङ्गो भएनि पार्टीको झण्डा बेरेर हिँडेका, भोकैतिर्खै जिन्दावाद र मुर्दावादको नारा लाउन सक्ने । आफूलाई मन नपरेनि अर्को विकल्प नखोज्ने, अर्को बाटो नरोज्ने, विदेशी वाद, दर्शन सिद्धान्त र विचार अनुशरण गर्न खोज्ने, देश, समाज, संस्कृति परम्पराको तेजोबध गर्ने । कार्यकर्ता भन्दै पार्टीले डामेर छाडेका साँढे । आत्मअनुशासन र सहिष्णुता नभएका । झण्डा र डण्डाको भरमा बन्द, हड्ताल चक्काजाम, तोडफोड, आगजनी गर्न सक्ने । जेलनेल परेर नेता हुने योग्यता बढाउँदै लागेका महान् र होनाहार देशका सपुत । सडकमा हुञ्जेल सुस्ता, गोविन्दपुर, लिपुलेक सन्धि-सम्झौताबारे हर्कत देखाउने सत्तासीनका बारे सत्तोसराप गर्ने आफू सत्ताामा पुगेसी भने बोल्यो कि पोल्यो भनेझैँ गरि तैँ चुप मै चुप ।

लोकतन्त्र : यहाँ लोकतन्त्र विद्यमान छ, त्यसैले भालेले अण्डा पार्छ र पोथी चैँ ओथारो बस्छे । अहिलेको लोकतन्त्रमा माइतीले दिएको दाइजो होइन, पढाउने शिक्षक होइन, पुरेत्याइँ गर्ने पण्डित होईन, जाँड खानेलाई जड्याँहा भनिँदैन, देहब्यापारी बेश्या कहलिँदैन । यहाँ गाईले घाँस काट्छ र मान्छेलाई बाँधेर घाँस सोत्तर हाल्दछ अनि पाडो छोडेर दुहुन बस्छ । यो अजब गजबको लोकतन्त्रमा मान्छे मार्नेलाई हत्यारा होइन सांसद भन्नुपर्छ, नेता भन्नुपर्छ । अरुले पाइन्ट लाए काटेर नाङ्गै पारी शहर परिक्रमा गराइन्छ, टाई बाँधे त्यसैले कसेर रुखमा झुण्ड्याइन्छ अनि आफू सोही फेसन धडेर हिँडिन्छ, जसले विरुद्धमा बोल्छ त्यसलाई माथिबाट ६ इञ्च गिँडिन्छ । हो यही हो लोकतन्त्र । एउटा नउखेली अर्को रोपिँदैन, रोपे सेप लाग्छ हुर्किंदैन, फक्रिँदैन, फक्रिए फुल्दैन, फल्दैन । त्यसैले एउटालाई मारेर मात्र अर्कोलाई राम्रो हुन्छ फलिफाप हुन्छ । किनकि लोकतन्त्रको सौन्दर्य यसैमा हुन्छ । लोकतन्त्रमा छोरा बाबु हुन्छ, हजुरबाबु नाति हुन्छ, लोग्नेले बच्चा जन्माउँछ र स्वास्नी सुत्केरी स्याहार्छे, आमा कोक्रोमा सुत्छे र बच्ची कोक्रो हल्लाउँछे, शिक्षक विद्यार्थी बन्छ र विद्यार्थी गुरुलाई बाह्रखरी घोकाउँछ । पानीले पोल्दछ र आगोले निभाउँदछ, ड्राइभरले प्लेन हाँक्छ र पाइलटले ढोकामा बसेर प्यासेन्जर डाक्दछ अनि भाडामा दलाली गर्छ किनकि यहाँ लोकतन्त्र विद्यमान छ र सबै बराबर छन् ।

देशभक्त कर्मचारी पैसा खेलाउँछ, ब्रह्मचारी पालेर दाह्री अर्काका श्रीमती अधियाँ कमाउँछ । विकास गर्नेले बिनासको बीऊ वृष्टि गर्छ र शान्तिको आतंक श्रृष्टि गर्दछ । यहाँ हत्यालाई मृत्यु र मृत्युलाई शहादत भन्नुपर्छ । बलात्कारलाई सहवास भन्नुपर्छ । पंक्षीले उफ्रिनु पर्छ, भ्यागुत्ताले पखेटा फिँजाइ नील गगन ढाक्नुपर्छ । माछा थलमा दौडन्छ, घोडा जलमा पौडन्छ । लामखुट्टेले मह पार्दछ र मौरीले औलो सार्दछ । मन्दिरलाई मस्जिद भन्नुपर्छ र चर्चलाई गुम्बा बनाउनुपर्छ । अपराधीले जेल चलाउँछ, भ्रष्टाचारीले अख्तियार, नेताले गुण्डा चलाउँछन् र गुण्डाले राज । अदालतले प्रशासन चलाउँछ र राजदूतले देश । यस्तै छ हजुर यो लोकतन्त्रको भेष ।

बाँकी शब्दार्थ लिएर फेरी आम्ला अर्को गाईजात्रामा ।