सलमान रुस्दीमाथि हमला : २० सेकेन्डमा १५ पटक छुरा प्रहार

सलमान रुस्दीमाथि हमला : २० सेकेन्डमा १५ पटक छुरा प्रहार


अमेरिकाको न्युयोर्क राज्यमा शुक्रबार साँझ आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

शहरबाट करिव १०० किलोमिटर टाढा चौताउवा इन्स्टिच्युसनमा आयोजित कार्यक्रमको मञ्चमा एक आक्रमणकारी पुगेर उनलाई छुरा प्रहार गरेको कार्यक्रमका दर्शकसमेत रहेका रब्बी चार्ल्स सेभेनोरले बताएका छन् ।

२० सेकेन्डभित्र १० देखि १५ पटक छुरा प्रहार भएको उनले बताए । आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । रुस्दीको अवस्था गम्भीर रहेको न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमणलगत्तै रुस्दी भुइँमा ढलेका थिए ।

उनको कृति ’द सैटानिक भर्सेस’ विवादमा छ । उक्त पुस्तकमा मुस्लिम धर्मको अपमान गरेको भन्दै उनको हत्या गरिने प्रयास हुँदै आएको छ ।