नाइजेरियामा सैनिक कारबाही, उनान्तीस आतङ्ककारी मारिए

नाइजेरियामा सैनिक कारबाही, उनान्तीस आतङ्ककारी मारिए


नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिएको छ ।

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको थियो । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै प्रवक्ता ओनिएकुले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताएका छन् । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।

देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको छ । सैनिक कारबाहीका बीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन् ।