धर्म कि राजनीति अफिम ?

धर्म कि राजनीति अफिम ?


धर्म-संस्कृतिका गुरुले ज्ञान विवेक बढाउन प्रेरित गर्दछ तर राजनैतिक गुरुले बुद्धि-विवेक छाडेर आफ्नो आदेश पालन गर्न प्रेरित गर्दछ । त्यसैले राजनीति अफिम हो न कि धर्म-संस्कृति !
  • स्वयम्भुनाथ कार्की

भनिन्छ- कार्ल मार्क्सले धर्मलाई अफिम भनेका थिए । कोही यो पनि भन्छन् मार्क्सले धर्म वा आस्थालाई समग्र रूपमा यसो भनेको हैन उनको कुराको गहिराइ नबुझेर गतल अर्थ लगाइयो । जे-जसो भए पनि उनले व्याख्या गरेको साम्यवादका नाम चलेका अनुयायीहरू सबैजसोले क्रान्तिकालमा धर्म र संस्कृतिमाथि क्रुर प्रहार भने गरेकै पाइन्छ । अझ रोचक कुरो त के छ भने विद्रोह वा क्रान्तिकालमा उनीहरूको पहिलो कोपभाजन नै धर्म संस्कृति हुने गर्दछ तर त्यसको आफूअनुकुल अवतरण भइसकेपछि भने तिनै नेताहरू मार्क्सको भनाइको त्यो अर्थ नभएको कुरा भन्न थाल्छन् । यो मार्क्सले भनेको कुरा हो वा हैन त्यसको कुनै महत्व छैन, तर हरेक साम्यवादी विद्रोह वा क्रान्तिको एक प्रमुख विषय भने यो हुन्छ नै । आफूअनुकुल अवतरण भइसकेपछि यो कुराको नयाँ अर्थ लगाइन थाल्छ, धर्म वा संस्कृतिमा भएको कुरीतिलाई भनिएको हो भन्ने व्याख्या आउने गर्दछ ।

अनि शुरु हुन्छ धर्म संस्कृतिको सुधारका नाटक, अनेकाँ कुराहरू आफै धर्म संस्कृतिका प्रवर्तक भए झैँ पुनः व्याख्या गर्न थालिन्छ । केही समयपछि यो पनि सेलाएर जान्छ समाज एक ठूलो आँधिबेहरीबाट ध्वस्त भएर फेरि बिस्तारै आफ्नो स्वरुपमा आउन थाल्छ, भविष्यमा अर्को यस्तै हमला सहन । यो चक्र निरन्तर चलिरहन्छ साम्यवादले परिभाषित गर्ने द्वन्द्वात्मक भौतिकवादको उदाहरण बनिरहन्छ । त्यो क्रान्तिका पुराना पातहरू झर्छन्, नयाँ पाउला अङ्कुरित हुन लाग्छन् । पुराणहरूमा वर्णित कल्प चक्रझैँ वा कुनै प्राणीको जीवनचक्रझैँ चलिरहेको यो चक्रमा कहिले संस्कृति उच्च हुन्छ, कहिले साम्यवादी क्रान्ति उच्च हुन्छ । यो यज्ञमा समिधा बन्न आफ्नो सुन्दर भविष्य, स्वर्णिम कल्पनालोकको सपना लिएर फेरि कुनै क्रान्तिकारी नेताको पछि लाग्न तैयार हुने जमात बढ्न थाल्छ । अनि शस्त्र बोकेर जीवनमरणको युद्धमा आफ्नो र अरुको रगत बगाउने क्रम शुरु हुन्छ ।

धर्ममा आस्था हुने गर्दछ, यस आस्थाले समर्पण हुने गर्दछ । यो आस्थाको समपर्णले यदाकदा ज्यान लिने वा दिने क्रम पनि निम्त्याउँछ । यस्ता घटनाहरू भने धेरै कम नै हुने गर्दछन्, साप्रदायिक रंगका यस्ता घटनाहरूका आधारमा धर्मलाई अफिम हो भनिएको हुन सक्छ । किनभने जीवनमा महत्वपूर्ण हो धर्म-संस्कार, राजनीति सबै त्यो जीवन राम्रोसँग बाँच्न सहायता गर्नको निमित्त हो । त्यसको निमित्त त्यही जीवन उत्सर्ग गर्न तैयार हुन कुनै न कुनै किसिमको नशा लागेकै हुनु पर्दछ । नशा लागेपछि मान्छेले सोच्ने शक्ति गुमाउँछ, तरङ्गमा ज्यान लिन वा दिन तैयार हुन्छ । यो कुरा धर्मान्धमा पनि लागु हुन्छ अनि ‘राजनीतिक अन्ध’मा पनि लागु हुन्छ । तर यस्तो अन्धभक्ति धर्म वा वादमा भन्दा त्यसको व्याख्याता भन्ने ठानिएका धर्मगुरु वा नेताप्रति ज्यादा हुन्छ ।

भारतमा विगतमा भएको एक सम्प्रदायका गुरुका अनुयायी र त्यहाँको सरकार बीच चलेको सशस्त्र युद्धलाई अफिमको नशाको रूपमा लिन सकिन्छ । तर यस्ता ज्यान लिने र दिने नशा राजनैतिक पार्टी र आस्था गरिएका नेताको आह्वानमा धेरै देखिन्छ । तेश्रो विश्व भनिने मुलुकहरूमा यस्ता राजनैतिक झडपहरू दिनैपिच्छे होइन घण्टैपिच्छे सुन्न र देख्न पाइन्छ । धार्मिक झडपहरू त्यसको तुलनामा नागन्य मात्र हुने गर्दछन् । धार्मिक साम्प्रदायिक झडपहरू लामा हुँदैनन्, यसलाई रोक्न सबै एकमत भएर लाग्छन । यसो गर्नु कर्तव्य पनि हो, समाज हमेशा यो कर्तव्य पालनमा तत्पर हुन्छ । आफ्ना सबै शक्ति लगाएर यस्ता धार्मिक साम्प्रदायिक नशाको उपचार गर्दछ । रोचक कुरा त के छ भने राजनैतिक झडपमा भने यो रोक्ने स्वाङ मात्र गरिएको हुन्छ । बरु अझ थप उर्जा कसरी पुग्छ त्यसो गर्न उद्दत भएको पाइन्छ । मान्छे आफ्ना आराध्य ईश्वरको आलोचना समालोचना भने सहन सक्ला तर आराध्य नेताको विपक्षमा सानो भन्दा सानो कुरा पनि असह्य हुन्छ ।

धर्म, संस्कार, संस्कृतिमा कुरितीहरू खोजिने गर्दछ, त्यसको सुधार पनि गरिने गर्दछ । तर, आफ्ना आराध्य नेताको भने हरेक कुरा स्तुत्य नै ठान्दछ । के धर्मको अफिम राजनीतिको यो अफिम भन्दा बलशाली हो त ? पक्कै पनि हैन, धर्म यदि अफिम नै भए पनि त्यसको उपचार सम्भव छ र हुने पनि गर्दछ तर राजनीतिको अफिमको कुनै उपचार नै छैन । हिजोसम्म अँगालो हालेर सबै कर्ममा सहभागी भएकाहरू आ-आफ्नो नेताबीच टक्कर हुनेबित्तिकै एकअर्काको ज्यान लिनसमेत पछि पर्दैनन् । जुन काम आफ्ना नेताको विरोधी नेताले गर्दा उसलाई मान्छे नै होइन भनिएको थियो आफ्ना नेताले गर्नेवित्तिकै श्रृष्टिको सबैभन्दा असल काम हुन जान्छ । हिजोसम्म पानीबाराबार गरेकोसँग अन्तरंग र अंतरंगसँग पानीबारावार हुन आपसी सम्बन्ध कारक हुँदैन, ती दुईका नेताहरू बीचको आपसी सम्बन्ध कारक हुन्छ । यस्तो अन्धोपन पैदा गर्ने नशा राजनीतिमा हुन्छ, धर्ममा हुँदैन । अफिम राजनीति हो धर्म हैन, त्याज्य मानिआएको धर्म-संस्कृति होइन आफूले भक्ति गरेको नेता हो । धर्म-संस्कृतिका गुरुले त ज्ञान विवेक बढाउन प्रेरित गर्दछ तर राजनैतिक गुरुले बुद्धि-विवेक छाडेर आफ्नो आदेश पालन गर्न प्रेरित गर्दछ । धर्मसंस्कृतिका गुरुहरूमा अपवाद हुन्छन् जसले स्वविवेकलाई मनाही गर्दछन्, राजनीतिका गुरुहरू अपवाद हुन्छन् जसले आफ्ना अनुयायीलाई स्वविवेक प्रयोग गर्न दिन्छन् । अपवाद सबै स्थानमा हुने नै गर्दछ त्यसैले धर्म होइन राजनीति अफिम हो यसको नशाको तोड खोजिनै पर्दछ ।