प्रेम र बिछोडको मामलालाई छताछुल्ल किन पार्ने !

प्रेम र बिछोडको मामलालाई छताछुल्ल किन पार्ने !


  • राजन घिमिरे

प्रेम, सदभाव, आपसी सम्बन्ध र मनको नाता त आफू-आफू वा सम्बन्धितसँग मात्र सीमित रहनुपर्ने मामला हो । तर, आजकलका सेलिब्रेटीको प्रेम र व्यक्तिगत सम्बन्ध कुनै नयाँ ब्राण्डको प्रचार गरेजस्तो हुन थालेको छ । उनीहरू बीच कहिले प्रेम बस्यो, कहिले सम्बन्ध गाँसियो त कहिले मन मिल्यो मात्र होइन कि मन भत्किएको र तोडिएको पनि अब त बाटोमा पाइने पानीपुरी जस्तो सहजै उपलब्ध हुने विषय बन्न थालेको छ ।

राजीखुशी गाँसिएको या जोडिएको सम्बन्धमा सामान्य धाँजा फाट्दा नितान्त ब्यक्तिगत तवर व्यवस्थापनको प्रयास गर्नुपर्ने या आपसमै सीमित हुनुपर्ने हो, तर सम्बन्धलाई आजकल किन हो सेलिब्रेटीहरू आफ्नो व्यक्तित्व भन्दा पनि बढ्दा ‘हिट’ बनाइरहेका हुन्छन् । मैले फलानोसँग सम्बन्ध तोडेँ, फलानोसँग मन मिलेन, अब मैले त्यो सम्बन्ध तोडेँ भनेर सामाजिक सन्जालमार्फत् ढोल पिटाउने सेलिब्रेटीहरूलाई भन्न मन लाग्छ- आफ्नो आङको छारो आफै नउडाउँ !

पछिल्लो समय नेपाली सेलिब्रेटीको कोसँग माया बस्यो ? कोसँग घरजम हुँदैछ वा को-कसको ब्वायफ्रेण्ड र गर्लफ्रेण्ड हो ? यी कुराहरू भन्न आजकलका सेलिब्रेटीहरू धक मान्नै छाडिसके । कुनै समय पश्चिमेली मुलुकमा हुने/देखिने/सुनिने यस्ता घटना देखेर, सुनेर र पढेर जिब्रो टोक्ने नेपालीहरू आजकल त आफ्नै सेलिब्रेटीहरूको उदार स्वभाव देख्दा छक्क पर्न छोडिसके । मेरो त जम्मा तीन-चारवटा ब्वाय फ्रेण्ड त हो नि भनेर टेलिभिजन कार्यक्रममा अरूको भन्दा कम भनेर सगौरव ब्याख्या गर्ने अभिनेतृ नम्रता श्रेष्ठदेखि कसैसँग इन्गेजमेन्ट तोडेको बखान सामाजिक सन्जालमा गरेर गौरव मान्ने गायिका मेलिना राईलाई उदाहरण मान्दा अब हाम्रो कलाकारिता क्षेत्रले पनि प्रेम, बिछोड र सम्बन्ध जोड्ने अनि तोड्ने मामिलाका खबरहरूमा पनि धेरै छलाङ मारेको भान हुन थालेको छ ।

कसैसँग जीवन बिताउने कसम खानु वा बाचा गर्नु चानचुने कुरा होइन, तर अहिले सिनेमाको पर्दामा दृश्य र गीतहरूमा शब्द फेरिएझैँ हुन थालेका छन् सेलिब्रेटीका प्रेम र सम्बन्ध । प्रेम, साथ र जोड़ी भनेको फलानोको जस्तो हुनुपर्छ भनेर त्यस्तो उदाहरण दिन सकिने सेलिब्रेटी जोडीको भोलि अभाव हुने त होइन ? आफूले सम्बन्ध, साथ र इन्गेजमेन्ट तोडेको कुरालाई सामाजिक सन्जालमा ल्याएर छताछुल्ल पार्ने गलत प्रवृत्तिले सेलिब्रेटीहरूको उचाइ र सम्मान घटाएको छ । यस्तो नितान्त व्यक्तिगत कुरामा मन मिलेन बिहे गर्दिनँ भनिदिए पुग्नेमा कुनै ठूलै लडाइँ जिते झैँ गरेर सामाजिक सन्जालमा आफ्ना गोप्य र पारिवारिक कुराहरूलाई प्रचारप्रसार गर्नैपर्थ्यो र ? चोखो माया र साथ छुट्दा मन रूनुपर्ने होइन र ? मुटु दुख्नुपर्ने होइन र ? तर अहिले त बल्ल छुटकारा मिलेजस्तो गरेर पो प्रचारप्रसार गर्न शुरू गरिएको छ । त्यसैले भन्नैपर्ने हुन्छ- यो कस्तो प्रेम ?

कसैले धोका र पीडा दिँदा जीवनमा एक्लै जिउन साहस गर्ने सर्जक र सेलिब्रेटी भएको मूलुक हो यो । आजका सेलिब्रेटीहरूको छेपारोले रंग फेरेझैँ फेरिएको माया र प्रेम देख्दा उहाँहरूको मनले के भन्ला ? आजकलका सेलिब्रेटीहरू आफूले सम्बन्ध तोडेको प्रचारप्रसार यसरी गर्छन् कि जीवनमा ठूलै काम गरिएछ र जीवनकै उपलब्धि हो यो । यता सेलिब्रेटीहरूले सामाजिक सन्जालमा लेखेका र बोलेका यिनै कुराहरूलाई पहाड बनाएर हल्ला पिटाउँछन् यूटुबरहरू । सेलिब्रेटीहरू नै मसला भैदिएपछि युटुबरहरूलाई पनि के चाहियो र ?

आफू र परिबारबीच मात्र सीमित हुनुपर्ने र रहनुपर्ने विषय या कुराहरूलाई आफ्नो पृष्ठभूमि नै धमिलिने र आफ्नै व्यक्तित्वको उचाइ घट्ने गरेर सामाजिक सन्जालमा छताछुल्ल नपार्नुस् । केटा वा केटीले सामाजिक सन्जालमा आफ्ना असमझदारी र तिक्तताहरू पोख्दा तपाईंले सम्बन्ध तोडेको अर्को पक्षको मानसिकतामा कस्तो असर पर्ला र सामाजिक सन्जालका कारण समाजले उसलाई हेर्ने दृष्टिकोण नकारात्मक पनि हुन सक्छ । यसतर्फ पनि सोच्ने कि ? तपाईं सेलिब्रेटी भएको नाताले तपाईंहरूले झन् यस्तो कुरामा बढी नै सचेत हुनुपर्ने हो तर, तपाईंहरू नै बहकाउमा आएर सामाजिक सन्जाल रंग्याउन खोज्नु अवश्य पनि हितकर कुरा होइन । यस्तो क्रियाकलाप तपाईंहरूले कमाएको नाम, इज्जत, स्वाभिमान र प्रशंसा वा छविलाई सुहाउने शैली भने अवश्य पनि होइन ।