बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँ पटक शपथ

बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँ पटक शपथ


बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिएका छन् । उनले मुख्यमन्त्रीको शपथ लिएको यो आठौँ पटक हो ।

भारतीय जनता पार्टीसँगको सत्तासाझेदारी त्यागेर राज्यमा ठूलो राजनीतिक अस्तव्यस्तता व्याप्तभएको भोलिपल्ट उनी पुनः मुख्यमन्त्रीमा पदासिन भएका छन् । सातदलीय महागठबन्धनको मंगलबारको बैठकले उनलाई नै उक्त पदका निम्ति चयन गरेको थियो । तेजश्वी यादवको राष्ट्रिय जनता दल र अन्य साना विपक्षी दलको समर्थनमा नितिष फेरि सत्तामा पुगेका हुन् ।

राष्ट्रिय जनता दलका नेता यादवले पनि बुधबार नै राज्यको उपमुख्यमन्त्रीको शपथ लिएका थिए । राजभवनमा भएको शपथ समारोहमा राष्ट्रिय जनता दलका नेता तेजप्रताप यादव, तथा उपमुख्यमन्त्री यादवकी श्रीमती राजश्री, पूर्वमुख्यमन्त्री राबडी देवीलगायत उपस्थित थिइन् ।

जनता दल युनाइटेड र राष्ट्रिय जनता दलको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन् । नितिशकुमारलाई एकसय ६४ जना विधायकको समर्थन छ ।