नितिश कुमारले जनतालाई धोका दिएको भाजपाको आरोप

नितिश कुमारले जनतालाई धोका दिएको भाजपाको आरोप


भारतको बिहारमा मुख्यमन्त्री नितिश कुमारले गठबन्धन तोडेर जनतालाई धोका दिएको भाजपाले आरोप लगाएको छ । नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको हो ।

पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिहारका जनताले नितिश कुमारलाई कहिल्यै क्षमा नदिने बताए ।

‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइएको थियो । मंगलबार जे भयो त्यो बिहारका जनता र भाजपामाथि विश्वासघात हो’, नितिशतर्फ संकेत गर्दै जयसवालले भने ।

नितिश कुमारले मंगलबार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि नितिशले बिहारमा भाजपासँगको गठबन्धन तोडेको घोषणा गरेका थिए ।

आफ्नो पार्टीलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै नितिश भाजपासँगको गठबन्धनबाट टाढिएका थिए ।