राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक नियुक्त

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक नियुक्त


नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ ।

पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहेका प्रभाकरलाई सोमबार मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ ।

क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खलेका छन् । उनले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमा समेत काम गरेका थिए ।

यसैगरी उनले आफ्नो प्रशिक्षणमा दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसिएनलाई रणजी ट्रफी जिताएका थिए । नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।