ताइवानमाथि आक्रमण गरी चीनले गल्ती नगरोस् !

ताइवानमाथि आक्रमण गरी चीनले गल्ती नगरोस् !


‘विश्वशान्ति र कल्याण तथा चीनको हितको लागि पनि युद्ध आवश्यक छैन’

  • धीरज निष्पक्ष

अमेरिकी कङ्ग्रेस House of representatives (तल्लो सदन) की Speaker (सभामुख) न्यान्सी पलोसीको ताइवान भ्रमणले कूटनीतिक मामिलामा तरङ्ग पैदा गरेको पक्का हो, तर पृथ्वी नै पल्टिएको जसरी वा चीनतर्फ सबै हतियार सोझिएको जसरी चीनले अतिरञ्जन र उत्तेजना देखाइरहेको छ । यो चीनकै लागि प्रत्युत्पादक हुन सक्छ ।

अलि-अलि शक्ति सञ्चय हुँदा नै युद्धमा फस्नु राम्रो होइन । चीन अझै अघि बढ्नु छ । तसर्थ, अहिले युद्धमा फस्नुको अर्थ हुन्छ-गतिमा रोकिनु वा त्योभन्दा पनि पछाडि धकेलिनु ।

रुसले युक्रेनमाथि गरेको आक्रमणभन्दा फरक हुन्छ चीन-ताइवानयुद्ध ।

यदि अहिले नै हतारिएर चीनले ताइवानमाथि आक्रमण ग¥यो भने यी ८ कारणले गर्दा महँगो पर्न सक्छ;

१) सिलिकन : विश्वभर करिव ६३ प्रतिशत सिलिकनको पूर्ति ताइवान एक्लैले गर्दछ । सिलिकन यस्तो कच्चापदार्थ हो जो हरेक इलेक्ट्रोनिक्स् उपकरण तथा सामानमा अनिवार्य अंगको रूपमा रहेको छ । आधुनिक जमानाको पर्याय/पूरक इलेक्ट्रोनिक्स् हो । तसर्थ विश्व-बजारमा ६७ प्रतिशत हिस्सा ओगट्ने यो क्षेत्रको हस्ती अमेरिका, जर्मनी, फ्रान्स, जापान, भारत तथा कोरियाजस्ता देशहरूले आफ्नो उत्पादनको अभिन्न अंग चीनको हातमा जानलाग्दा मुकदर्शक भएर मात्रै बस्छन्, भन्ने लाग्दैन । उनीहरू कुनै न कुनै रूपमा युद्धमा भाग लिनेछन्, जो चीनको लागि भारी पर्न सक्छ ।

२) शत्रुदेश निकट : ताइवानयुद्ध चीनको शत्रुदेशहरूसँग सीमानजिक छ । चीनका शत्रुदेश जापान र कोरिया सामरिक दृष्टिकोणबाट विश्व-वरीयतामा पाँचौ र छैठौँ स्थानमा छन् । ताइवानयुद्धमा कुनै कारणवश कोरिया वा जापानी क्षेत्रमा युद्धका सामान झऱ्यो मात्रै भने पनि वा निहुँ नै खोज्न कुनै बहाना बनाएर जापान र कोरिया जाइलाग्न सक्ने सम्भावना अधिक छ । यस्तो अवस्थामा चीनले अमेरिकाको पनि सामना गर्नुपर्ने हुन्छ । किनकि यी दुवै देशको रक्षा गर्ने सौदाबाजी अमेरिकाको हातमा छ । अर्थात्, कोरिया र जापानको सुरक्षाको जिम्मेवारी अमेरिकाले उठाएको छ ।

३) अमेरिकाको उपस्थिति : दक्षिणी चीनसागरमा अमेरिकाको उपस्थिति जबर्जस्त छ । तीन वटा युद्धपोतद्वारा र कयौँ लडाकु विमानद्वारा सु-सज्जित अमेरिका ताइवानयुद्ध शुरु हुनेबित्तिकै ती आधुनिक हतियार तथा बन्दोबस्ती प्रयोग गर्न दिन सक्ने अवस्था बन्छ । त्यसो हुँदा चीनमाथि थप दबाब पर्न सक्छ ।

४) क्वाड सक्रिय अवस्थामा : अमेरिका, भारत, जापान र अष्ट्रेलियाको समूह चीनको बढ्दो प्रभाव रोक्ने प्रमुख उद्देश्यबाट अभिप्रेरित शक्ति हो र, त्यो दक्षिण चीनसागरमा सक्रिय अवस्थामा छ । यसले चीनको गतिविधिलाई हिन्द महासागरमा अवरोध तुल्याउन सक्छ । हिन्द महासागरमा भारतको एक्लो प्रभाव छ, त्यहाँ उसले जे र जसरी गर्न चाहन्छ, त्यही हुने अवस्था छ । इण्डोनेशिया तथा मलेसियाको जलसन्धीमा चीनमाथि अवरोध सिर्जना हुन सक्ने भएकोले चीनलाई सहयोग गर्ने देशहरू पाकिस्तान, इरान तथा रुसी जहाजरू बाटैमा रोकिन सक्नेछन् ।

५) आसियान मुलुक : चीनका साना शत्रुदेशरू फिलिपिन्स, मलेसिया, सिङ्गापुर, भियतनाम, थाइल्याण्ड जस्ता देशहरू चीनविरोधी क्रियाकलापमा सहयोग र चीनसमर्थित क्रियाकलापमा अवरोध गर्न सक्दछन् । युद्धमा सानो सहयोग र अवरोधले नतिजामा असर पुऱ्याएको धेरै उदाहरण छन् ।

६) सामरिक वरीयताक्रम : विश्वव्यापी सामरिक वरीयता क्रममा ताइवान २१औँ स्थानमा छ । चीन तेस्रो स्थानमा छ । अर्थात् १८औँ स्थानको अन्तर छ । यसअघिको रुस-युक्रेन युद्धमा रुस दोस्रो स्थानमा र युक्रेन २५औँ स्थानमा थियो । भनेको यी दुई देशबीच २३औँ स्थानको अन्तर । त्यही २३औँ अन्तरको युक्रेनलाई हराउन रुसलाई अहिलेसम्म पनि हम्मे-हम्मे परेको छ ।

७) दोहोरो फ्रन्टमा युद्ध : औपचारिक रूपमा यदि चीनले ताइवानमाथि आक्रमण गऱ्यो भने, चीनले प्रमुख ध्यान र तागत पूर्वतिर नै दिनुपर्ने हुन्छ । पश्चिमतर्फ सिञ्जियान प्रान्तमा उईघुर मुस्लिमको आन्तरिक विद्रोहको सामना गर्नुपर्ने हुन सक्छ । साथै, त्यही मौकामा भारतले लद्दाख/अक्साईचीनतर्फ सीमा विवाद उचाल्न सक्छ । दुई फ्रन्टमा युद्ध लड्न चीनलाई त्यति सहज छैन ।

८) अनुभव : चीनसँग बाह्यदेशविरुद्ध युद्ध लडेको अनुभव छैन । आन्तरिक रूपमा युद्ध लडेको भएपनि आजसम्म कुनै पनि देशसँग प्रत्यक्ष लडेको अनुभव नहुनु र आफैंले उत्पादन गरेको हातहतियारको प्रयोग/परीक्षणको कार्यार्थबारे पर्याप्त नतिजा नभएकोले एकैचोटी युद्धमा होमिनु जोखिम हुन सक्दछ ।

तसर्थ, विश्वशान्ति र कल्याण तथा चीनको हितको लागि पनि युद्ध आवश्यक छैन ।