अब काङ्ग्रेसको पालो !

अब काङ्ग्रेसको पालो !


दल फुटाउन प्रचण्डले सर्वप्रथम गर्ने काम त्यस दलमा विभिन्न समयमा आफ्नो प्रभाव गुमाइसकेका तर नयाँ अवस्थामा आफ्ना अतृप्त आकाङ्क्षा पूर्तिका अवसर खोजिरहेका नेताहरूको पहिचान हो । काङ्ग्रेसभित्र प्रचण्डको विशेष हिमचिम रामचन्द्र पौडेलसँग हुनाको कारण पनि यही हो जसको तुलना तत्कालिन एमालेका वामदेवसँग गर्न सकिन्छ ।
  • डा. श्याम उपाध्याय, भियना

त्यस्तै दुई वर्ष पुरानो प्रसङ्ग हो जुनबेला तत्कालिन नेकपामा विभाजनका धर्साहरू देखिन थालेका थिए । सो विभाजनको पृष्ठभूमि केलाउने क्रममा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा प्रचण्डले आफू पहिलो पटक महामन्त्री भएपछि आफ्नै पार्टी मशालको विघटन गरेको र त्यसपछि निरन्तर आफू जुन पार्टीको नेता बन्यो सोही पार्टीको विघटन गर्दै आएको सिलसिलाबारे बोलेका थिए । पत्रकारले ‘अब विघटन हुने पालो नेकपाको हो ?’ भनेर सोध्दा उनले ‘अब नेकपाको पालो हो’ भनेर सही थापेका थिए । सो भिडियो रेकर्ड भएको एक वर्षभित्रै उनले नेकपाको विघटन गराइछाडे । विघटनको श्रेय पनि आफैले दाबी गर्दै पार्टीबैठकमा घोषणा गरे- ‘शत्रुपक्ष (अर्थात् एमाले) मा गम्भीर क्षति पुर्‍याएर आएका छौँ ।’

उनको यस दाबीले के सिद्ध गरेको थियो भने सके एमाले कब्जा गर्ने नसके त्यसलाई ठूलो क्षति पुर्‍याउने प्रचण्डको सुनियोजित षडयन्त्र थियो । एमाले महाधिवेशनमा आफ्नै कार्यकर्ताबाट भोगेको पराजय र ओलीप्रतिको कुण्ठाबाट छट्पटाइरहेका माधव नेपाललाई सान्त्वना हुने फुट दिलाएर प्रचण्डले केही मात्रामा सफलता पनि पाए, तर ठूलो कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्री बन्ने प्रमुख अभीष्ट भने पूरा भएन । अहिले एमालेसँग सहकार्यको ‘च्याप्टर क्लोज’ भइसकेको भन्ने निष्कर्ष उनैले निकालेको अवस्थामा ठूलो कम्युनिष्ट पार्टीको नेतृत्व निकट भविष्यमा सम्भव देखिँदैन । तर प्रधानमन्त्री बन्ने धोको अझै जीवित छ र आमनिर्वाचनको मिति पनि घोषणा भइसकेको छ । प्रचण्डको सपना साकार गर्ने विकल्प केवल काङ्ग्रेससँग मात्र छ । यसको लागि उनी काङ्ग्रेससँग जुट्ने र फुट्ने नाटकको पटकथा लेख्न थालिसकेका छन् ।

नेपाली सत्तासङ्घर्ष रोगको संजीवनी बनिसकेको ‘आलोपालो’ सुत्र अब राजनीतिक नैतिकताको परिधिभन्दा धेरै बाहिर परिसकेको छ । यसैको आधारमा प्रचण्डको पटकथा बन्नेछ र यसको सुरुआत पनि विलियम शेक्सपियरको प्रसिद्ध नाटक ह्याम्लेट जस्तै एक द्विविधाग्रस्त हरफ ‘हुने या नहुने – त्यो नै मुख्य सवाल हो’ (To be, or not to be, that is the question) बाट सुरु हुनेछ । ह्याम्लेट नाटकमा ‘हुने या नहुने’को अर्थ जिउने या मर्ने पनि लाग्दछ र, मृत्यु र आत्महत्याको बारेमा सोचिरहेका ह्यामलेटले जीवनको पीडा र अन्यायमाथि विलाप गर्दै यसको विकल्प झन् अनुचित हुनसक्छ भनेर स्वीकारेको पाइन्छ । प्रचण्ड स्वयम् पनि त्यस्तै दोसाँधमा देखिन्छन्, त्यसैले बेला-बेलामा उनबाट आत्महत्या, सन्यास आदिको प्रसङ्ग सुन्दा प्रधानमन्त्री ‘हुने या नहुने’ चिन्ताबाट उनी कति ग्रस्त रहेछन् भन्ने ज्ञात हुन्छ । ‘आलोपालो’ सुत्रमा पनि एकपटक चिप्लिसकेकाले उनको मनोकाङ्क्षा सदैव एक अनिश्चितताको बन्धक बनेर पाइला-पाइलामा बिझाइरहनेछ । वास्तवमा जे ‘हुने’ भनिएको हो, त्यो त्यति सहज छैन र त्यसको विकल्प अर्थात् ‘नहुने’ त झन् उनको पूर्ण अवसानमा टुङ्गिने छ, जसरी ह्यामलेटको एक दु:खद अन्त्य भएको थियो ।

यस्ता मार्मिक जोखिमलाई झेलेर किन प्रचण्ड काङ्ग्रेसलाई जीवशास्त्र प्रयोगशालाको भ्यागुतोलाई जस्तै चिर्न खोज्दैछन् । यसमा केही यस्ता बस्तुगत परिस्थिति छन् जसले उनलाई अहिलेको काङ्ग्रेस २०७४ को एमालेकै प्रतिरुप र समग्र राजनीतिक अवस्था पनि २०७४ कै पुनरावृत्ति हो भन्ने विश्वास दिलाउँदछ । सर्वप्रथम, अहिले काङ्ग्रेस पनि तत्कालिन एमाले जस्तै आन्तरिक गुटबन्दीले ग्रस्त छ र कुनै सुक्ष्मदर्शक यन्त्रको मद्दतबिना नै यसभित्रका धाँजा स्पष्ट देखिन्छन् । आन्तरिक द्वन्द्वले नै प्रचण्डलाई उनीहरूबीच खेल्ने राम्रो अवसर दिन्छ । माओवादी उपयोगितावादका धुर्त खेलाडीको रूपमा उनले राजा वीरेन्द्र, गिरिजाप्रसाद, माधव नेपाल जस्ता राजनीतिक हस्तीहरूलाई विभिन्न कालका आन्तरिक द्वन्द्वहरूमा टेकेर आफ्नो स्वार्थको लागि उपयोग गरिसकेका छन् । वर्तमान गठबन्धनभित्रैबाट पनि उनले शेरबहादुर र रामचन्द्र, बाबुराम र उपेन्द्र यादव, शेरबहादुर र माधव नेपाललाई एक अर्काको विरुद्ध प्रयोग गर्दै आएका पर्याप्त सबुतहरू छन् । स्थानीय चुनावको परिणामबाट आफ्नो भारी अवमूल्यन गराउनमा प्रचण्डको भूमिका रहेको तथ्य गठबन्धनभित्रका जसपा, नेकपा (एस) र जनमोर्चाले पनि स्वीकारिसकेका छन् । यी दललाई ‘रिङ-आउट’ गरिसकेकाले प्रचण्ड अब काङ्ग्रेससँग आमने-सामने खडा छन् ।

माओवादी उपयोगितावादका धुर्त खेलाडीको रूपमा उनले राजा वीरेन्द्र, गिरिजाप्रसाद, माधव नेपाल जस्ता राजनीतिक हस्तीहरूलाई विभिन्न कालका आन्तरिक द्वन्द्वहरूमा टेकेर आफ्नो स्वार्थको लागि उपयोग गरिसकेका छन् । वर्तमान गठबन्धनभित्रैबाट पनि उनले शेरबहादुर र रामचन्द्र, बाबुराम र उपेन्द्र यादव, शेरबहादुर र माधव नेपाललाई एक अर्काको विरुद्ध प्रयोग गर्दै आएका पर्याप्त सबुतहरू छन् ।

२०७४ को एमाले जस्तै काङ्ग्रेस पनि महाधिवेशनबाट आन्तरिक विवाद समाधान गरेर भन्दा बल्झाएर अगाडि आएको छ । पार्टीसभापति र महासचिवहरू फरक कित्तामा उभिएका छन् । सभापतिमाथि परिवार र आफ्ना नातेदारहरूलाई प्रश्रय दिएको आरोप छ । चुनावमा जान गठबन्धनको तालमेलको स्वरुप, उम्मेदवार छनौट प्रकृया, सीट वितरण आदि प्रश्नहरूको काङ्ग्रेसभित्र समाधान हुन बाँकी नै छ । घोषणापत्र, नीति तथा कार्यक्रम त अब औपचारिकताकै लागि भए पनि बनाउने प्रचलन रहेन । तर यी सबै विषयको सम्बोधन गर्नुअघि नै प्रचण्डले सभापति–पत्नीसँग विदेश यात्रा गरेर आफ्नो भावी साझेदारीको मार्गचित्र पेश गरेका छन् । काङ्ग्रेसी कार्यकर्ताहरूलाई विघटनपूर्वको नेकपा जस्तै काङ्ग्रेस पनि द्विअध्यक्षीय प्रणालीमा गइसकेको तथ्य स्वीकार्न प्रशिक्षित गरिदैँछ । जनार्दन शर्माको पुन:स्थापना यसको अकाट्य प्रमाण हो ।

प्रचण्डको अर्को अपेक्षा २०७४ मा जस्तै कुनै ठूलो दलको दौराको फेर समात्न सके आगामी निर्वाचनको वैतरणी पार गर्न सकिन्थ्यो भन्ने छ । उनको अस्थिर र फुटवादी चरित्रबाट हैरान भइसकेकाले अहिले प्राय: सबै कम्युनिष्ट घटकहरूले आफ्नो पार्टीको मुलद्वारमा प्रचण्डलाई ‘प्रवेश निषेध’को सूचना टाँसेका छन् । सत्ताको लागि सैद्धान्तिक विचलनको ख्याल नराख्ने भएकाले माओवादी दल जति राजनीतिक कित्ता फेर्दै गएको छ उति आफ्नो वैचारिक धरातलबाट परपर हुँदै गएको छ । माओवादीहरूद्वारा प्रयोग भइरहेको प्रचण्डपथ अहिले कुनैबेला लेनिनले अनुमान लगाएजस्तै ‘उग्रवामपन्थवाद पल्लो कुनाबाट छिरेर दक्षिणपन्थी धारको सेवामा हाजिर’ भएको छ । जतिजति प्रचण्डपथ दक्षिणपन्थी भासमा छिर्दै जान्छ उतिउति उसका सैद्धान्तिक विचलन, एमसीसी र नागरिकता सम्बन्धमा गरिएका जस्ता विरोधाभासपूर्ण निर्णय र नेपालको भौगोलिक अक्षुणताको विषयमा समेत भारतसँग गरिएका मौन साँठगाँठ प्रकट हुँदै जान्छन् । काङ्ग्रेससँगको सहवासपछि चुनावको परिणाम जस्तोसुकै भए पनि दोस्रो जनआन्दोलनताका बनेको उसको राजनीतिक पहिचान गुमिसकेको हुनेछ । प्रचण्ड आफैले पनि स्वीकारेका छन् माओवादी दल अब ‘०६२/०६३ को जस्तो रहेन’ । सिद्धान्तनिष्ठ नेताहरू चुनाव हारेर पनि राजनीति जित्न चाहन्छन् तर उनी राजनीति हेर्दैनन्, परिणाम हेर्छन् ।

प्रधानमन्त्री मोदीको छेवैमा बसेर उँघिरहेका देउवा देखेर आम नेपालीलाई आत्मग्लानी बोध भए पनि त्यो दृश्य प्रचण्डको लागि अवश्य नै प्रेरणादायी भएको हुन सक्छ । उनी मानवीय संवेदनारहित कोरा राजनीतिक पात्र हुन् जसको मन, बचन र कर्म नेपालको इतिहासकै सर्वाधिक ठूलो नरसंहारको रगतले लछ्याप्य भिजेको छ ।

माओवादी अधिनस्थ क्षेत्रमा बनेका कथित जनसरकारको एकछत्र शासन हुँदा प्रचण्ड आफ्ना प्रतिद्वन्द्वीहरूको ‘सफाया’ गर्थे । खुला राजनीतिमा आएपछि त्यसो गर्न सम्भव नभए पनि एक हिंसात्मक द्वन्द्वबाट हुर्केकाले प्रतिद्वन्द्वीको स्वास्थ्य र आयु पनि उनको लागि एक राजनीतिक मुद्दा हो । एमालेसँगको एकतापूर्व अध्यक्ष ओलीको स्वास्थ्य प्रचण्डको लागि एक महत्वपूर्ण र निर्णायक विषय थियो । नेकपाको विखण्डनपछि गत वर्ष निकै निम्नस्तरमा ओर्लेको एमाले-माओवादी वाक-कटुताको क्रममा प्रचण्डले ओलीको कमजोर स्वास्थ्यको अपेक्षामा कस्ता योजना बनाएका थिए भन्ने कुरा छरपस्ट भएको थियो । देउवाप्रति पनि उनका भित्री इरादा फरक छ भन्न सकिन्न । प्रधानमन्त्री मोदीको छेवैमा बसेर उँघिरहेका देउवा देखेर आम नेपालीलाई आत्मग्लानी बोध भए पनि त्यो दृश्य प्रचण्डको लागि अवश्य नै प्रेरणादायी भएको हुन सक्छ । उनी मानवीय संवेदनारहित कोरा राजनीतिक पात्र हुन् जसको मन, बचन र कर्म नेपालको इतिहासकै सर्वाधिक ठूलो नरसंहारको रगतले लछ्याप्य भिजेको छ ।

उपरोक्त बुँदाहरूले काङ्ग्रेससँग हुने सहकार्यबाट प्रचण्डले राखेका अपेक्षाहरूको मात्र चित्रण गर्दछ । काङ्ग्रेसलाई कर्मथलो बनाउँदैमा त्यसबाट उनले चाहेका परिणामहरू प्राप्त हुन्छन् भन्ने कुनै निश्चित छैन । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । उपयोगितावाद प्रचण्डको चरित्रको एउटा पाटो मात्र हो । यदि उनले चाहेको परिणाम आएन भने उनी विध्वंसमा उत्रन्छन् जसरी उनी नेकपामाथि खनिएका थिए । नेकपाको विखण्डन गराइसकेपछि पनि एमाले टुक्र्याउन उनले गरेका षडयन्त्रहरू सर्वविदितै छ । एमाले दलले विकास गरेको जब्बर फुटप्रतिरोधात्मक क्षमताले गर्दा प्रचण्डले चाहेजति हानी पुर्‍याउन सकेनन् । वास्तवमा प्रचण्डको केपी ओलीप्रतिको मुख्य कटाक्ष पनि केबाट उत्पन्न भएको हो भने उनी मात्र एक यस्ता नेता हुन् जसलाई प्रचण्डले कहिल्यै उपयोग गर्न सकेनन् अपितु हरेक पटक ओलीबाट आफै उपयोग भएको गुनासो बोकेर रित्तो हात फर्के । ओली वामपन्थी राजनीतिका अनुभवी र चतुर खेलाडी हुन् । नेपाली सेनाको विघटन गर्ने, देशलाई चौध जातीय प्रान्तमा विभाजित गर्ने, संविधानबाट बहुदल शब्द हटाउने जस्ता प्रचण्डका रणनीतिक योजना असफल पारेर पनि उनकै समर्थनमा ओली दुई-दुई पटक प्रधानमन्त्री भएका थिए । के काङ्ग्रेसले त्यतिकै चातुर्यताका साथ प्रचण्डको व्यवस्थापन गर्न सक्ला ? गठबन्धनको झण्डै दुई वर्षको अनुभवको आधारमा कसैले आशावादी उत्तर पनि देला, तर परमादेशको आधारमा बनेको अहिलेको सरकार जालझेल र नियोजित अदालती बन्दोबस्तको साथमा चलेकोले यसका घटकहरूलाई सरकार भङ्ग हुनासाथ सर्वाङ्ग नग्न भइने त्रास छ र उनीहरू तैँ चुप मैँ चुपको अवस्थामा छन् । आम निर्वाचनपछि यो मौनता भङ्ग हुनेछ र अहिलेको नाटक मञ्चन भएको रङ्गमञ्च पनि गर्ल्यामगुर्लुम ढल्नेछ । त्यसपछिका राजनीतिक परिघटना नयाँ आधारमा सञ्चालन हुनेछन् र अहिलेका सुत्र र साधन कामयावी नहुन पनि सक्छन् ।

स्थापनाकालका आदर्शहरूबाट केही मात्र बचेखुचेको भए पनि समग्रमा काङ्ग्रेस एक लोकतान्त्रिक दल हो भन्ने कुरा यसको गत महाधिवेशनमा सञ्चालन भएको निर्वाचन प्रक्रिया र कतिपय नेतृत्वदायी पदमा संस्थापनबाहिरका उम्मेदवारहरूको विजयबाट प्रमाणित भएको छ । त्यसको ठीक विपरित माओवादीले अर्कै उद्देश्यले आयोजना गरिएको एक भेलालाई रातारात महाधिवेशन नामाकरण गर्‍यो, विगत तीन दशकदेखि निरन्तर नेतृत्वमा बसिसकेका प्रचण्डलाई पुनर्नियुक्ति गर्‍यो र अन्य पदाधिकारीहरूको निर्वाचन नै नगरी महाधिवेशन समापन गर्‍यो । काङ्ग्रेसमा हरेक निर्णयको लागि जवाफदेही खोजिन्छ भने माओवादी केन्द्र एकल नेतृत्वको हैकममा चल्दछ । एमसीसी विवादको समयमा यसो नभए यो गरिन्छ र त्यो गरिन्छ भनेर चर्का भाषण गरेका नारायणकाजी, लीलामणि, देव गुरुङहरूको हैसियत कति नगण्य रहेछ भन्ने कुरा प्रतिनिधिसभामा भएको मतदानको परिणामबाट थाहा भइसकेको छ । यसै कारणले पनि स्थानीय निर्वाचनताका प्रचण्ड हरेक कुराको निर्णय केन्द्रमा गर्नुपर्ने माग गर्दथे भने काङ्ग्रेसले स्थानीय आवश्यकताअनुसार गर्ने निर्णय गरेको थियो, यद्यपि उसले पनि आफ्नो निर्णयको पूर्ण कार्यान्वयन गरेन ।

उपयोगितावाद प्रचण्डको चरित्रको एउटा पाटो मात्र हो । यदि उनले चाहेको परिणाम आएन भने उनी विध्वंसमा उत्रन्छन् जसरी उनी नेकपामाथि खनिएका थिए । नेकपाको विखण्डन गराइसकेपछि पनि एमाले टुक्र्याउन उनले गरेका षडयन्त्रहरू सर्वविदितै छ ।

नेकपा स्थापनाकालमा भएको सहमतिअनुसार एक वर्षभित्र दुवै दलको स्थानीय संगठन बनी सक्नुपर्थ्यो । त्यो नहुनुको कारण नै माओवादी सङ्गठनको चरम केन्द्रीकृत निर्णय प्रणाली थियो । कम्युनिष्ट प्रणालीबाट हुर्केको एमाले सङ्गठनले त माओवादीसँग सामञ्जस्यता पाउन सकेन भने काङ्ग्रेसले पाउन सक्ने कुरै भएन । काङ्ग्रेस एमालेले जस्तो माओवादीसँग साङ्गठनिक एकता खोजिरहेको छैन तर खुला छलफलबाट निर्णय हुने काङ्ग्रेस र एकल-नेतृत्वबाट चल्ने माओवादीबीच चाँडै नै चर्का अन्तरविरोधहरू पैदा हुनेछन् । काङ्ग्रेसभित्र फरक मत छिपाउन मिल्दैन । माओवादीलाई आफ्नो आवश्यकताको निर्णयको लागि काङ्ग्रेसभित्र पक्ष-विपक्षमा को-को छन् भन्ने थाहा हुनासाथ प्रचण्ड नेताहरूको घर-घर धाउन थाल्नेछन् । अहिले नै गुट-उपगुटमा विभाजित काङ्ग्रेसीहरू एकअर्कामाथि आफ्नो स्वार्थको लागि माओवादीसँग मिलेको दोषारोपण गर्नेछन् । यसबाट थप गुटबन्दी सिर्जना हुनेछ । गुटबन्दी पैदा हुनासाथ प्रचण्डले त्यसका घटकहरूबीचका पुराना र नयाँ अन्तरविरोधहरू चर्काउने र परिणाम हेरी सकेसम्म आफ्नो पक्षमा प्रयोग गर्ने निरन्तर प्रयास गर्नेछन् । दल फुटाउन प्रचण्डले सर्वप्रथम गर्ने काम त्यस दलमा विभिन्न समयमा आफ्नो प्रभाव गुमाइसकेका तर नयाँ अवस्थामा आफ्ना अतृप्त आकाङ्क्षा पूर्तिका अवसर खोजिरहेका नेताहरूको पहिचान हो । काङ्ग्रेसभित्र प्रचण्डको विशेष हिमचिम रामचन्द्र पौडेलसँग हुनाको कारण पनि यही हो जसको तुलना तत्कालिन एमालेका वामदेवसँग गर्न सकिन्छ । यस्ता नेतालाई उनको कानमा आश्वासनको मिठो धुन सुनाएर मुग्ध पार्न र अवाञ्छित ढंगले उचाल्न सकिन्छ । आफ्नै खुट्टामा उभिन सक्ने र स्पष्ट वैचारिक अडान भएको व्यक्ति प्रचण्डको दृष्टिगोचरभित्र पर्दैन ।

काङ्ग्रेसलाई माओवादीले सजिलै फसाउन सक्ने अर्को तरिका उनीहरूको शब्दजाल हो जसमा स्वयम गिरिजाप्रसाद कोइराला पनि चिप्लिएका थिए । माओवादीहरू आफ्ना शब्द भाषिक शब्दकोशको भन्दा ठिक विपरित अर्थमा प्रयोग गर्छन् । उदाहरणको लागि ‘सहमति र सहकार्यबाट निर्णय गर्ने समझदारी’ जस्ता शब्द कति कर्णप्रिय लाग्छ, तर माओवादीले यी शब्द घुसाउनुको तात्विक अर्थ उनीहरूको अनुमोदनबिना कुनै निर्णय नहुने भन्ने हो । एमसीसीकै सवालमा पनि प्रचण्डले अमेरिकी अधिकारीहरूलाई पठाएको पत्र अमेरिकाले एक अर्थमा बुझ्यो, देउवाले अर्को अर्थमा बुझे, तर आफ्नो पार्टीलाई उनले ती दुवै भन्दा फरक अर्थ लगाए । यो उनको प्रतिद्वन्द्वीलाई दिगभ्रमित पार्ने तरिका हो । हालसम्मको चुनावी तयारी, काङ्ग्रेस–माओवादी हिमचिम र गठजोड हेर्दा स्थानीय चुनावमा जस्तै राष्ट्रिय चुनावमा पनि काङ्ग्रेस माओवादी मिलेर जाने सम्भावना बलियो देखिन्छ । तर जति माओवादी आफ्नो पटकथाको सिलसिला कस्तो हुने भनेर स्पष्ट छ, त्यति नै काङ्ग्रेसले माओवादीसँगको एकताबाट आजित भएका वामपन्थी दलहरूको अनुभवबाट पाठ सिकेको या यस्तो एकताको राजनीतिक र वैचारिक जोखिमको गहनता बुझेको देखिाँदैन ।

ह्यामलेटको दुई विकल्पको प्रसङ्गमा प्रचण्डले ‘हुने’ भन्नाले जुनसुकै अवधिको लागि भए पनि प्रधानमन्त्री पद र ‘नहुने’ (अर्थात नभए) भन्नाले काङ्ग्रेसलाई गम्भीर क्षति बुझ्नेछन् । अब फेरि यस्तो दृश्य देख्न नपरोस् जसमा प्रचण्डले गर्वका साथ आफूले विघटन गरेका दलहरूको लामो सूची बताउने छन् र घोषणा गर्ने छन् – अब काङ्ग्रेसको पालो !