जापानमा नेपाल फेस्टिबलको उद्घाटन प्रचण्डले गर्ने

जापानमा नेपाल फेस्टिबलको उद्घाटन प्रचण्डले गर्ने


  • विशेष प्रतिनिधि, फुकुओका (जापान)

जापानको फुकुओका शहरमा यही ६ तारिख आयोजना हुन लागेको नेपाल फेस्टिवलको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले गर्ने भएका छन् ।

नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी अगष्ट ६ तारिख जापान आउँदैछन् । जापान आएलगत्तै दाहाल शनिबार फुकुओका शहरको तेन्जिङ च्यूओ पार्कमा आयोजना गरिएको नेपाल फेस्टिबल २०२२ को उद्घाटनमा सहभागी हुने भएका छन् ।

फेस्टिबल उद्घाटनमा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अगष्ट ७ तारिख साँझ राजधानी टोकियोमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् ।

फुकुओका शहरमा बसोबास गर्ने नेपालीहरु संलग्न रहेका विभिन्न संघसंस्थाको नेतृत्वमा आयोजित फुकुओका फेष्टिबल २०२२ आयोजनाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । फुकुओका फेष्टिबल मुल आयोजक समितिका संयोजक अर्जुन थापाका अनुसार एकदिने नेपाल फेस्टिवलमा नेपाली मौलिक सांस्कृतिक झाँकी, खाना, पहिरन, नेपाली संगित, कला, नेपालको पर्यटनबारेमा जानकारीसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने छ ।

यस वर्षको फुकुओका फेष्टिवलमा जापानस्थित फुकुओका केनका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहने फुकुओका महाबाणिज्यदुतावासका सचिव दीपक देवकोटाले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमिति, नेपाल जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमिति, हाम्रो नेपाल हामी नेपाली, फुकुओका नेपाल सोसाइटि र अन्तर्राष्ट्रिय लायन्स क्लबको संयुक्त आयोजना र फुकुओकामा रहेको एकल जातिय संघसंस्थाहरु, विभिन्न अन्य संघसंस्थाहरुको सहआयोजनामा फुकुओका फेष्टिबलको तयारी गरिएको फेष्टिबल मुल आयोजक समितिका संयोजक अर्जुन थापाले बताउनुभयो ।

विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको फुकुओका नेपाल फेष्टिवल कोरोना महामारीका कारण २ वर्षयता हुन सकेको थिएन ।