ज्योतिष विद्यामाथि मौलाउँदो विकृति !

ज्योतिष विद्यामाथि मौलाउँदो विकृति !


ज्योतिष विद्याको मर्मलाई कुल्चेर अगाडि बढ्नेहरूको वृद्धिसँगै ज्योतिष तथा ज्योतिषीमाथिको विश्वास पनि उत्तिकै घट्ने देखिन्छ । बेलैमा उचित कदम चाल्न नसके पेशागत मर्यादित ज्योतिषीहरू अप्ठेरोमा पर्ने निश्चित देखिन्छ । यसतर्फ ज्योतिष विद्यासम्बन्धी संघ-संस्थाहरूको बेलैमा ध्यान पुगोस् ।
  • सन्तोष न्यौपाने, बेल्जियम

हिजोआज श्री. गुरु नामको टिकटक आइडीबाट आफ्नो कुण्डली अर्थात् चिना देखाउनेको लामै लस्कर देखिन्छ । यी ज्योतिषीको पहिरन अचम्मलाग्दो देखिन्छ । गाजल टन्न लगाएर चिटिक्क भइ टिकटकमा प्रस्तुत हुने गर्छन् । यिनले विगत लामो समयदेखि टिकटकमार्फत सुर्यास्तपछि निःशुल्क चिना हेरिदिने गरेका भेटिन्छन् । यिनी जस्तै धेरैको दैनिकी यसै गरेर टिकटकमै बितेको देखिन्छ ।

त्यस्तै गरेर ज्योतिषी आदित्य, लक्ष्मन गुरु, अर्जुन सापकोटा, एस्ट्रो लाइफ ९९, एस्ट्रो दिनेशलगायतका नेपाली ज्योतिषीहरू रातकै समयमा चिना खोलिरहेका हुन्छन् । उनीहरूको भविष्यवाणी ज्योतिष विद्याको नियमसंगत भने देखिँदैन । उनीहरूलगायत धेरैको एउटै उद्देश्य भनेकै टिकटकमा आफ्नो लोकप्रियता बढाउनु देखिन्छ । तर योसँगै उनीहरूले ज्योतिष विद्याको मर्ममाथि ठाडो प्रहार गरेका छन्, जुन सरासर गलत देखिन्छ ।

ज्योतिष विद्यामाथि धज्जी उडाउनेहरूको क्रियाकलापबाट दिक्क् हुँदै काठमाडौं घर भइ अस्ट्रेलियामा अध्ययनरत नकुल चौलागाईं दुःखेसो पोख्दछन् । लामो समयदेखि ज्योतिष र ज्योतिषी के हो, ज्योतिषीय धर्म/आचरण के-कस्ता छन् र वास्तवमै यसले के कसरी कार्य गर्छ भन्ने कुरा बुझ्ने प्रयास गरेका चौलागाईंलाई विदेश आएपछि यो इच्छा झन् बढेको थियो । तर आजभोलि टिकटकको ज्योतिषीका क्रियाकलापबाट आफूलाई दुःख लाग्ने गरेको र धेरै नै खल्लो भएको अनुभब सुनाउँछन् । ‘ज्योतिष विद्याको सामान्य मर्यादा पालन नगरेको १२ राशि र नौ ग्रहको नाम रटेको भरमा टिकटकलगायतका सामाजिक संजालमा आइ आफू ज्योतिषी भएको भन्दै शास्त्रीय मर्यादा नाघेर चाहिँदो नचाहिँदो कुराहरू गरिरहेका हुन्छन्’- नकुलको गुनासो रहेको छ ।

उनका अनुसार मानिसको भावनासँग खेलेर पैसा कमाउनकै लागि ज्योतिषी भनिएकाहरूले आफूले आफैलाई जादुगर नै जस्तो गरेर घरि पानीको बोटल फलानो दिशामा छ, घरि तपाईंको भित्री बस्त्र फलानो रंगको छ लगायतका बकम्फुसे कुरा गरी मानिसको हुँदै नभएका समस्या देखाइ महँगा पुजापाठ गराउने धेरै छन् । सबैलाई ज्योतिषीले कर्म र फलबारे व्याख्या गर्छ भन्ने नै थाहा छैन, सबैलाई पाठ पढाउनु जरुरी छ ।

ज्योतिष विद्याको सामान्य नियमअनुसार औंसीको दिनमा, बुधबार र सुर्यास्तपछाडि चिना खोल्न बन्देज लगाएको पाइन्छ । विगतमा धेरै गुरुहरूले यो नियम कडाइका साथ पालना गर्दै आएका थिए र, उनीहरूले त्यसै गरीआएका पनि छन । तर समय र सफ्टवयरबाट चिना हेर्ने प्रविधि भित्रिएसँगै यो नियम आक्कलझुक्कल बाहेक कसैले पालना गरेको देखिँदैन । जसको उदारहण माथि उल्लेखित टिकटकमा ब्याप्त ज्योतिषीहरू नै हुन् ।

‘ज्योतिष शब्द आफैमा ज्योतिसँग सम्बन्धित शब्द हो । ज्योतिषीलाई सुर्यको साथ हुनु पर्दछ भनिन्छ । दिनमा चिना हेर्दा सुर्यको समर्थन हुन्छ, सुर्य सक्रिय हुन्छ’- ज्योतिष विद्याप्रति रुचि राख्ने तथा सिक्दै गरेका भरत खराल भन्छन्, ‘ज्योतिष विद्यामार्फत भविष्यवाणी गर्ने कुरामा सुद्धता आवश्यक देखिन्छ ।’

समयको मागसँगै स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूमाझ ज्योतिष विद्याको लोकप्रियता बढ्दो रहेको देखिन्छ । प्रविधिको उच्च पहुँचसँगै विदेशमा बसेर स्वदेशकै नामी ज्योतिषीमार्फत यो सुविधा लिनेहरूको कमी पनि छैन । तर आजभोलि नेपाली ज्योतिषीहरू सामाजिक संजाल टिकटकमा निःशुल्क समयको प्रवाह नगरिकन दिइने सुविधाले भने ज्योतिष विद्याको मर्ममाथि ठाडो प्रहार गर्ने काम पनि गरेको छ । यसरी मर्मलाई कुल्चेर अगाडि बढ्नेहरूमा अधिकांश पेशागत तथा सिकारु ज्योतिषी देखिन्छन् ।

झापा घर भइ हाल हरिद्वारमा ज्योतिष विद्या अध्ययन गर्दै गरेका पुरुषोत्तम दाहाल सामाजिक संजालमा निःशुल्क भाविष्यवाणी गर्ने अधिकांश ज्योतिषीहरूले ज्योतिषको अर्थ नै नबुझेको बताउँछन् । ‘खासमा कुनै पनि जातकको कुण्डली हेर्दा सबैतिरबाट हेरेर मात्रै आफ्नो भाविष्यवाणी गरिदिनु पर्ने हुन्छ, तर अचेल लग्नकुण्डली हेर्दाबित्तिकै सबै भन्न सुरु गर्दछन् । न उनीहरू नवांश कुण्डली हेर्छन्, न ग्रहको सन्धि नै हेर्ने गर्छन्’- दाहालको भनाइ छ । उनका अनुसार टिकटकका अधिकांश ज्योतिषीहरूले षड्वर्ग कुण्डली खोलेको नै देखिँदैन, जसले गर्दा उनीहरूले दिने भविष्यवाणीमै प्रश्न चिन्ह उठाउन सकिन्छ ।

तर यसमा केपी ज्योतिष सिकाइरहनु भएका ज्योतिषी लक्ष्मण भण्डारीको भने मिश्रित विचार रहेको छ । उनका अनुसार चिनालाई फुल दक्षिणा राखेर मात्रै खोल्नु पर्दछ, रातिमा खोल्नु हुँदैन, तर सफ्टवयरबाट जन्ममिति राखेर खोल्नेलाई केही गर्न पर्दैन । जातकले म्यानुअल भन्यो भने नियम लागु हुँदैन ।

सामाजिक संजाल र युटुबमा नेपाली ज्योतिष र त्यसको नकारात्मकता बारेमा विश्व ज्योतिष महासंघ नेपालमा उजुरी परेको महासंघअन्तर्गत युवा समितिका अध्यक्ष हरिहर अधिकारीले बताए । ‘चिना जातक जन्मदा बनेको एउटा आकासीय नक्सा हो । कसैलाई इमर्जेन्सी छ भने के छ अवस्था भनेर हेरिदिनु पर्दछ, समाधान दिनु पर्दछ । मान्छेलाई अप्ठेरो परेको छ, आज औंसी हो म तपाईंलाई केही उपाय दिन्नँ भन्न मिल्दैन । कुन दिन बार्ने या नबार्ने भन्नेमा कुनै कडा नियम छैन । ज्योतिष विद्यामा कुनै भेदभाव नराखी कुनै पनि समयमा ग्रहको स्थिति हेरिदिन मिल्छ’- अधिकारीको तर्क छ । ‘अचेल ज्योतिषी विद्यालाई सस्तो बनाएका छन् । अनावश्यक मान्छे आकर्षण गर्न मन लाग्ने तरिकाले सामाजिक संजाल युटुबमा प्रस्तुत हुन पाइँदैन तथा मनपरी कुरा गरेर मान्छेलाई भुलाउने काम गर्न पाइँदैन । यसको लागि हामी छिट्टै कारवाही गर्ने तयारीमा छौँ ।’ अध्यक्ष अधिकारीका अनुसार महासंघमा आवद्ध ज्योतिषीहरूलाई कारवाही गर्ने तर अरुलाई सचेत गराउन पहल गर्ने योजना रहेको छ ।

उता दक्षिण एसियाली ज्योतिष परिषद् वाग्मती प्रदेशका सचिव उमेश दुलाल पनि जुनसुकै समयमा चिना खोल्ने, टिकटक तथा युटुबबाट मनलाग्दी भविष्यवाणी गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताउँछन् । यसको लागि परिषदमा मुख्य पदाधिकारीहरूले काम-कारबाही गर्ने उनको भनाइ रहेको छ ।

ज्योतिष विद्याको मर्मलाई कुल्चेर अगाडि बढ्नेहरूको वृद्धिसँगै ज्योतिष तथा ज्योतिषीमाथिको विश्वास पनि उत्तिकै घट्ने देखिन्छ । बेलैमा उचित कदम चाल्न नसकेको खण्डमा पेशागत मर्यादित ज्योतिषीहरू अप्ठेरोमा पर्ने निश्चित देखिन्छ । यसतर्फ नेपालमा विद्यमान रहेका ज्योतिष विद्यासम्बन्धी संघ-संस्थाहरूको बेलैमा ध्यान पुगोस् ।