जापान आइपुगेकै दिन राजदूत दुबसुले सम्हाले कार्यभार

जापान आइपुगेकै दिन राजदूत दुबसुले सम्हाले कार्यभार


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका लागि नवनियुक्त राजदूत राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापान आएकै दिन कार्यभार सम्हालेका छन् । अगस्ट ३ तारिख बुधबार जापान आएका राजदूत सुवेदीले सोही दिन दूतावासमा कार्यभार सम्हालेका हुन् ।

कन्सुलर सेवालाई सरल, सहज, सुलभ र जनमैत्री बनाउन आजको काम आजै, भोलि नभन्ने नीति लागू गर्ने पहिलो निर्णय सुवेदीले गरेका छन् ।

नेपाली राजदूतावास, टोकियोमा पद बहाली गरेसँगै राजदूत सुवेदीले नेपाल सरकार र जापानस्थित नेपाली राजदूतावासप्रति सेवाग्राही तथा आम नेपाली नागरिकहरूको सकारात्मक भावना अभिवृद्धि गर्न राजदूतावासले प्रदान गर्ने राहदानी, प्रवेशाज्ञा, वारेशनामा तथा अन्य विभिन्न कागजातहरूको प्रमाणीकरण लगायतका आवश्यक प्रक्रिया पूरा भई कागजात पेश भएको अवस्थामा आजकै दिनबाट लागू हुने गरी आजको काम आजै, भोलि नभन्ने नीति लागू गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधवार बिहान जापान आइपुगेका राजदुत सुवेदीलाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक राजदुत अम्बिका जोशी, प्रथम सचिव जितबहादुर कार्की सहित एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल र प्रवक्ता सुभाष लामिछाने लगायतले बिमानस्थलमा स्वागत गरेका थिए ।

झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका झापा जिल्ला घर भएका सुबेदीले यसअघि नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत कार्य गरिसकेका छन् ।

त्यस्तै नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा बहराइनमा कार्यवाहक राजदूतसँगै बेलायत र माल्टामा राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।