अझै १५-२० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको श्रममन्त्रीको खुलासा

अझै १५-२० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको श्रममन्त्रीको खुलासा


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ एनआरएनएबीच हालै भएको द्विपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमुलक हुने अपेक्षा गरेको बताएका छन् । आइतबार भृकुटिमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय विषयक विचार गोष्ठीमा मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् ।

उनले वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या समाधान गर्नका लागि गैरआवासीय नेपाली संघले खेलेको भूमिका एकदमै प्रशंसनीय भएको बताए । अहिलेसम्म विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदारको उद्धार एवं समस्यामा परेका कामदारलाई आइपरेका विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले सम्बन्धीत रोजगारदाता मुलुकको सरकार र नेपाल सरकारसँग राम्रो सहकार्य गर्दै आएकाले सरकारको प्रयासमा धेरै सहयोग पुगेको उनको भनाइ थियो ।

आफूले यस मन्त्रालयको जिम्मेवारी पाएको आइतबार एक महिना दुई दिन हुँदा वैदेशिक रोजगारीको क्षेत्रका धेरै गुनासो सुनेको भन्दै मन्त्री कुँवरले अब आफूले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अहिलेसम्मको गुनासो र अनुभवको आधारमा वैदेशिक रोजगारिको क्षेत्रका समस्या र समाधानमा धेरै चुनौती रहेको भन्दै उनले हाल दुई दर्जनभन्दा बढी नेपाली कामदार खाडीको विभिन्न ठाउँमा कोमामा रहेको जानकारी प्राप्त भएकाले अब जतिसक्दो छिटो उनीहरुलाई स्वदेश फर्काउन आफूले सम्बन्धित दुतावास र कुटनीतिक नियोगसँग पहल गरेको दाबी गरे ।

अहिले धेरै नेपाली खाडीका जेलमा रहेको गुनासो पनि आफुले सुन्नु परेको भन्दै उनले वैदेशिक रोजगारीमा जानेहरुले धेरै जोखिम मोलेर काम गरिरहेकाले अब नेपाल सरकारले उच्च जोखिममा परेका कामदारको सहयोग गर्ने बताए ।

मन्त्री कुँवरले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत भन्दा बढी योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिरहेको जानकारी गराउँदै अझै १५ देखि २० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको खुलासा गरे ।

सो अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितमा भएको तर्क गर्दै त्यसबाट गैरआवासीय नेपालीहरुमा उत्साह थपिएको धारणा राखे । आचार्यले उक्त बिधेयक पारित गराउन आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।

उनले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने दाबी गरे ।, आचार्यले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न सकियो भने कामदार र देशलाई वार्षिक झन्डै २ खर्ब फाइदा हुने तर्क पनि गरे ।