अष्ट्रेलियामा नेपाली विद्यार्थी र नेपालकै छवि बिगार्ने दुष्प्रचार शुरु गरिएपछि…

अष्ट्रेलियामा नेपाली विद्यार्थी र नेपालकै छवि बिगार्ने दुष्प्रचार शुरु गरिएपछि…


अष्ट्रेलियन सांसदसमक्ष नेपाली शैक्षिक परामर्शदाताको गुनासो

  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

पछिल्लो समय उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरूका निम्ति अष्ट्रेलिया पहिलो रोजाइमा पर्दै आएको छ । यसै तथ्यलाई मध्यनजर गरेर हुनुपर्छ- नेपाली विद्यार्थीलाई प्रदान गर्ने एजुकेशन भिसामा अष्ट्रेलिया केही लचिलो पनि देखिएको थियो । तर, अष्ट्रेलियाले नेपाली विद्यार्थीहरूप्रति देखाएको यस्तो सद्भाव वा लचिलो पनलाई अपब्याख्या गरेर अष्ट्रेलियाबाट प्रकाशित हुने केही मिडिया तथा अध्यागमन प्रतिवदेनमा नेपालकै छवि बिगार्ने किसिमका खबरहरू बाहिरिन थालेपछि भ्रमपूर्ण खबरका विरुद्ध शैक्षिक क्षेत्रमा आवद्ध रहेका नेपाली शैक्षिक संस्था एवम् परामर्शदाताहरू जुर्मराएका छन् ।

यस क्रममा नेपाली शैक्षिक संस्था र यससँग आवद्ध परामर्शदाताहरूको एक समूहले अष्ट्रेलियाको राजनीतिज्ञसँग आफ्ना अनि नेपाली विद्यार्थीका समस्या राखेका छन् । उनीहरूले न्यु साउथवेल्स संसद् भवनमा लेबरका सांसद तथा छायामन्त्री स्टेफन काम्परलाई भेटेर आफ्ना गुनासाहरू राखेका हुन् ।

भेटघाटको चाँजोपाँजो एनआरएनका उपमहासचिव गणेश केसीले मिलाएका थिए भने भेटमा नेपाली विद्यार्थीहरूलाई विद्यार्थी भिसामा गरिएको कडाइ र यसले पारेको असरका बारेमा काम्परलाई अवगत गराइएको थियो ।

केसीले जानकारी दिएअनुसार नेपाल र नेपाली विद्यार्थीहरूका बारेमा बजारमा चलाइएका गलत हल्ला वा दुष्प्रचार रोकिनुपर्ने र, अफवाहमा सरकारले विश्वास गर्न नहुने कुरा नेपाली प्रतिनिधि मण्डलले राखेको थियो ।

सामाजिक अभियन्ता तथा शैक्षिक उद्यमी मन केसीका अनुसार भेटमा लेबरका सांसद स्टेफनले समस्याका विषयमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सम्बन्धित निकायसम्म नेपाली विद्यार्थी र नेपाली शैक्षिक संस्था एवम् परामर्शदाताहरूलाई परेको समस्याका बारेमा कुरा पुर्याएर निकास निकाल्ने बचन दिएको भेटका सहभागीहरूले बताए ।

उक्त भेटमा नेपाली कलेजका सञ्चालक, शैक्षिक परामर्शदाता एवम् सामाजिक अभियन्ताहरु गणेश केसी, प्रेम सापकोटा, मन केसी, रन्जु थापा, नरेश थापा, सन्जिव शर्मा, निरज श्रेष्ठ, सूर्य खनाल, भीम खरेल, राज खनाल, सिस्टर नेपाल, भरत देवकोटा, ध्रुव कँडेल, सुरेन्द्र कँडेल र बद्री केसी लगायतको सहभागिता थियो ।