बाढीबाट इरानमा २४ जनाको मृत्यु

बाढीबाट इरानमा २४ जनाको मृत्यु


इरानको राजधानी तेहराननजिकै दुई दिनदेखि आएको बाढीका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता भएका छन् ।

‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ ।

बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ । इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो ।

इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त मूसलधारे वर्षापछिको बाढी पनि सामना गरेको छ ।