अष्ट्रेलियामा भेट्ने होइन त पूर्वयुवराज्ञी हिमानी शाहलाई ?

अष्ट्रेलियामा भेट्ने होइन त पूर्वयुवराज्ञी हिमानी शाहलाई ?


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

तयारी त कोरोना कहर शुरू हुनुभन्दा अगाडिकै थियो, तर विश्व नै कोरोना कहरका कारण आक्रान्त भैरहेको अवस्थामा विभिन्न मापदण्डहरु अपनाउनुपर्ने भएका कारण त्यतिबेला पूर्व युवराज्ञी तथा हिमानी कोषकी प्रमुख हिमानी शाहको अष्ट्रेलिया भ्रमण रोकिएको थियो ।

तर, अहिले कोरोनाका मापदण्डहरु खुकुलो भएसँगै अष्ट्रेलिया पनि खुलेपछि अब भने पूर्व युवराज्ञीको अष्ट्रेलिया भ्रमण तय भएको छ । हिमानी ट्रस्ट अष्ट्रेलियाले जानकारी दिएअनुसार हिमानी ट्रष्टकी संस्थापक पूर्वयुवराज्ञी हिमानी शाह अगष्ट महिनाको दोस्रो साता हिमानी कोष अष्ट्रेलियाको आयोजनामा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आउने निश्चित भएको छ ।

पूर्वयुवराज्ञी शाहका साथमा पूर्वअधिराजकुमारीद्वय शीताष्मा राज्यलक्ष्मी शाह र दिलाशा राज्यलक्ष्मी शाहको पनि कार्यक्रममा सहभागिता रहने जानकारी हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले दिएकी छन् ।

हिमानी कोष अष्ट्रेलियाले आयोजना गर्न लागेको यो कार्यक्रमको उद्देश्य हिमानी ट्रस्ट नेपालको नेतृत्वमा रहेको “एक्सेस टु क्लिन ड्रिङ्किङ वाटर प्रोजेक्ट”लाई सहयोग गर्न कोष जुटाउनु रहेको बताइएको छ । यस परियोजनाले नेपालका बाढीप्रभावित क्षेत्रका दश हजार भन्दा बढी पिछडिएका बालबालिकालाई सेल्फ(फिल्ट्रेसन वाटर बोतलको सुरक्षित पिउने पानी उपलब्ध गराउने लक्ष्य राखेको छ।

हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले सिड्नीमा घटना र विचारलाई बताएअनुसार अगष्ट महिनाको दोस्रो साता महिला सशक्तिकरणसम्बन्धी कार्यक्रममा सहभागिता जनाउन लागेकी हुन् । कार्यक्रममा वक्ताको रुपमा न्यू साउथवेल्सकी महानगर सडक, महिला सुरक्षा र पारिवारिक हिंसा रोकथाम मन्त्री नटाली पेटा वार्डले सहभागिता जनाउंने भएकी छन् ।

कार्कीका अनुसार हिमानी ट्रष्ट अष्ट्रेलियाले अगष्ट १२ का दिन पनि एक कार्यक्रमको आयोजना गर्ने छ । यो कार्यक्रममा न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरेको पनि सहभागिता रहने छ ।

पहिलोपटक अष्ट्रेलिया आउन लागेकी हिमानी कोषकी अध्यक्ष एवम् पूर्वयुवराज्ञी हिमानी शाहको यो आगमनलाई यतिबेला सिड्नीमा रहनुहुने प्रवासी नेपालीहरूले निकै महत्वका साथ हेरिरहेका छन् । हिमानीको आगमनको प्रतीक्षामा रहेका यहाँका नेपालीहरू शाहलाई स्वागत गर्न आतुर देखिन्छन् ।