नेपालमा चर्चा बटुलेपछि चलचित्र दोख अब सिड्नीमा

नेपालमा चर्चा बटुलेपछि चलचित्र दोख अब सिड्नीमा


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपालको रिलिजमा राम्रै प्रशंसा र वाहवाही कमाएको चलचित्र दोख अब अष्ट्रेलियाको सिड्नीमा प्रदर्शित हुने भएको छ । पछिल्लो समय रिलिज भएका नेपाली चलचित्रहरूको भिडमा यो चलचित्रले उठान गरेको विषयबस्तु र देखाउन खोजेको यथार्थतालाई दर्शकहरूले आत्मसात गरेको पाइएको छ ।

फरक विषय र प्रस्तुतिका कारण पनि चलचित्र दोखले समीक्षकहरूको नजरमा स्याबासी हात पारेको थियो । अष्ट्रेलियामा विभिन्न पेशा, विधा र क्षेत्रमा आवद्धता जनाउँदै आएका सिड्नीनिवासी नेपालीहरूको सामूहिक साथ र सृजनाको रूपमा यो चलचित्र सिड्नी शहरमा आउन लागेको हो । चलचित्र दोख शनिबार सिड्नीको इभेन्ट सिनेमा बरूउड र आइतबार सिड्नीको हर्सभिलमा रहेको इभेन्ट सिनेमामा प्रदर्शन हुने भएको छ ।

नेपाली कलाकर्मका एक हस्ती हुन् अनुप बराल । दक्ष कलाकार जन्माउन सफल अनि नेपाली चलचित्रकर्ममा खास उचाइ छुन सफल बराल यस चलचित्रका निर्देशक हुन् । चलचित्र ‘दोख’ ले माओवादी द्वन्द्व कालखण्डमा सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोको कथा चलचित्रमा प्रस्तुत गरेको छ । चलचित्रले उठाउन खोजेको कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

राजन कठेत लिखित ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल, युवराज भट्टराई रहेका छन् । यथार्थपरक यो चलचित्रको चर्चा नेपालमा चुलिरहेको अवस्थामा सिड्नीमा रहनुहुने नेपाली चलचित्रप्रेमी प्रवासी नेपालीहरू माझ आउन लागेको दोखले अष्ट्रेलियामा राम्रै व्यावसायिक उचाइ हात पार्ने देखिन्छ ।