युनिफिकेशन चर्चका सदस्यहरूबाट सहयोग प्राप्त गरेको जापानी रक्षामन्त्रीको खुलासा

युनिफिकेशन चर्चका सदस्यहरूबाट सहयोग प्राप्त गरेको जापानी रक्षामन्त्रीको खुलासा


  • विशेष सम्वाददाता, टोकियो (जापान)

जापानी रक्षामन्त्री नोबुओ किशीले युनिफिकेशन चर्चका सदस्यहरूबाट विगतका चुनावहरूमा मद्दत पाएको बताएका छन् । उनि पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यामा विवादको केन्द्रमा रहेको धार्मिक समूहसँगको सम्बन्ध खुलासा गर्ने पछिल्लो सत्तारुढ दलका सांसद बनेका छन् ।

म उक्त चर्चका केहि सदस्यहरूसँग सम्बद्ध छु र स्वयंसेवकको रूपमा उनीहरूको सहयोग प्राप्त गरेको छु, आबेका कान्छो भाइ किशीले मंगलबार भएको एक पत्रकार सम्मेलनमा भने । नोबुओका अनुसार उनीहरूले मतदाताहरूलाई लक्षित गरी फोन अभियानमा समर्थन प्रदान गरेका थिए।

लिबरल डेमोक्र्याटिक पार्टीले बाजी मारेको हाउस अफ काउन्सिलरको चुनाव हुनुभन्दा दुई दिनअघि जुलाई ८ मा जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री आबेलाई पश्चिमी शहर नाराको रेल स्टेसनबाहिर चुनावी भाषण दिने क्रममा एक बन्दुकधारीले गोली हानेर हत्या गरेको थियो ।

घटनास्थलबाट रंगेहात पक्राउ परेका संदिग्धले सुरुवातदेखि नै घटना राजनीतिक नभइ आफ्नो आमाले भएभरको सम्पत्ति सबै दान दिएर टाट पल्टिएकाले उक्त धार्मिक समूहसँग आक्रोश जागेको र सो समूहमा आबेको पनि आबद्धता रहेको ठहर गर्दै गोली प्रहार गरेको बताउँदै आएका जनाइएको छ । त्यसैको आधारमा अहिले जापानका अन्य नेताहरुको उक्त समूहसँगको संलग्नताबारे अनुसन्धान चलिरहेको छ ।

संदिग्धले आबेका हजुरबुवा, पूर्वप्रधानमन्त्री नोबुसुके किशीले उक्त धार्मिक समूहलाई दक्षिण कोरियाबाट जापान निमन्त्रणा गरेका थिए भन्ने विश्वास गरिएको पनि अनुसन्धानकर्ता स्रोतले जनाएको छ।

समूहसँग आबद्ध व्यक्तिहरूबाट आफूले पाएको सहयोगको सन्दर्भमा, रक्षामन्त्रीले जोड दिए कि चुनावको लागि ठूलो संख्यामा समर्थकहरू हुनु महत्त्वपूर्ण छ र ‘प्रत्येक चुनावको लागि छलफल गरिनेछ’ कि उनी उनीहरूको सहयोगमा सहमत हुनेछन् । तथापि, उनीहरू स्वयंसेवक मात्र भएकाले अर्को चुनावमा के हुने हो त्यो पूर्वतय नहुने कुरा व्यक्त गरेको जापान टाइम्सले खबर छापेको छ । उनले भने कि ,सत्तारुढ दलले पहिले नै आफ्नो र युनिफिकेसन चर्च बीच कुनै संगठनात्मक सम्बन्ध छैन भनेर पूर्ण रूपमा पुष्टि गरिसकेको छ।

(जापान टाइम्सको सहयोगमा तयार सामग्री)