अष्ट्रेलियामा कस्ता नेपाली सिनेमा चल्छन् ?

अष्ट्रेलियामा कस्ता नेपाली सिनेमा चल्छन् ?


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपाली सिनेमाको निमित्त प्रवासका बजारमध्ये यतिबेला अष्ट्रेलियालाई एक राम्रो बजारको रूपमा हेरिन थालिएको छ । नेपालमा राम्रो उचाइ लिएको र प्रशंसा कमाएको चलचित्रले अष्ट्रेलियामा चार करोडसम्मको ब्यापार गर्न सक्छ भन्ने उदाहरण चलचित्र कबड्डी–४ ले प्रमाणित गरेपछि अष्ट्रेलियामा आफ्ना चलचित्रहरू बेच्नका लागि यतिबेला निर्माताहरूबीच प्रतिस्पर्धा नै चल्न थालेको छ ।

‘तर, सबै चलचित्रहरूले यत्तिकै रूपमा ब्यापार गर्न निश्चित भने छैन’, यसै भन्छन् चलचित्र कबड्डी-४ को अष्ट्रेलिया प्रदर्शक रोशन भट्टराई । उनले अगाडि भने- ‘काल्पनिक कुरा भन्दा पनि नेपाली परिवेश र माटो सुहाउँदो चलचित्रहरूलाई अष्ट्रेलियामा मन पराइएको पाइएको छ । यो भन्दा अगाडि पनि जात्रैजात्राले १ करोडभन्दा माथिको ब्यापार गरेको थियो ।’

त्यस्तै, प्रवासमा रहेका रोशन भट्टराईहरू जस्तै नेपाली चलचित्र कर्मलाई माया गर्ने र साथ दिनेहरूकै उत्साह र उमंगले गर्दा नेपालमा रिलिज भएकै दिन प्रवासमा पनि नयाँ चलचित्र त्यही दिन हेर्न पाउने सुविधा मिलाउन लागेपछि नेपाल छाडेर विदेशिन पुग्नुभएका प्रवासी नेपालीहरूको मुहारमा खुशी र उत्साह एकसाथ देखिन थालेको छ । फलानो देशमा फलानो चलचित्र यतिमा बिक्यो वा फलानो चलचित्रले विदेशमा यति कमायो भन्ने खबरले एकातिर नेपाली चलचित्रहरूले शानका साथ प्रवासमा आफ्नै पहुँच पुऱ्याउन थालेको प्रतीत भएको छ भने अर्कोतर्फ विदेशमा रहनु हुने नेपालीहरूले प्रवासबाटै नेपाली चलचित्रहरूलाई दिनुभएको साथ र समर्थनले साँच्चै चलचित्र निर्माताहरूलाई आर्थिक रूपमा राहत पनि प्रदान गरिरहेको छ भन्दा फरक नपर्ला ।

पछिल्लो समय नेपालपछि नेपाली चलचित्र बढी चल्ने र यसको बजार बढी भएको मुलुकमा पर्न थालेको छ अष्ट्रेलिया । उच्चशिक्षा हासिल गर्न अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूको संख्या बढेसँगै त्यहाँ नेपाली चलचित्र हेर्ने नेपाीली दर्शकहरूको संख्यामा पनि बढोत्तरी हुन थालेको छ । करिव २० वर्ष अगाडि नेपाली चलचित्र बलिदान लगेर अष्ट्रेलियामा प्रदर्शन गरेर नयाँ इतिहास लेख्नुभएका मन केसीको भनाइमा त्यतिबेला रहरमा यो चलचित्र लगिएको थियो तर आज समयले अष्ट्रेलिया नेपाली चलचित्र निर्माताहरूका लागि आर्थिक रूपमा बलियो देश हुन थालेको छ ।

चलचित्र शत्रुगते र कान्छीलाई अष्ट्रेलियामा ल्याएर प्रदर्शन गर्नुहुने एनआरएनएका पूर्वउपाध्यक्ष मन केसीले अष्ट्रेलियामा रहनुहुने प्रवासी नेपालीहरूले अष्ट्रेलियामा नेपाली सिनेमाको प्रदर्शन गरेर प्रवासमा नेपाली भाषा र संस्कृतिको प्रचार गर्न ठूलो भूमिका खेलेको बताए । उनले अगाडि भने- ‘सबै सिनेमा यहाँ चल्दैनन् । धेरैले गुमाएका पनि छन् । कमाउनभन्दा पनि नेपाली चलचित्रप्रतिको माया र सदभावका कारण नै अष्ट्रेलियामा नेपाली चलचित्रहरूले प्राथमिकता पाएका हुन् ।’

अष्ट्रेलियामा नेपाली चलचित्रको प्रदर्शन अधिकार किनेर चलचित्र प्रदर्शन गर्ने वितरकहरूको भनाइमा त्यहाँ ग्रामीण कथा र परिवेश प्रस्तुत गरिएका चलचित्रहरू मात्र बढी मात्रामा चल्ने गरेका छन् । हांस्य विधामा बनेका चलचित्रहरू अष्ट्रेलियामा रहनुहुने प्रवासी नेपालीहरूको पहिलो छनौटमा पर्ने गरेको जानकारी यहाँ चलचित्र वितरण गरेकाहरूको भोगाइ छ । ‘महँगा प्रविधि, भब्य तथा विशाल शहर र ठूला कुरा हेर्न अष्ट्रेलियामा हलिउडकै चलचित्रहरू हेरे भैहाल्यो नि । यहाँ त आफ्नो कथा, गाउँको परिवेश अनि नेपाली बोलीचाली र हांस्यरस बोकेका चलचित्रहरू बढी मन पराइएको पाइएको छ’- अष्ट्रेलियाका चलचित्र वितरकहरू भन्छन् ।

क्रमशः अष्ट्रेलियामा आफ्नो बजार बिस्तार गरिरहेको नेपाली चलचित्रको यो अबस्थालाई निश्चित पनि सुखद मान्नु पर्दछ । अष्ट्रेलियामा आजसम्मको इतिहासमा बढी चलेको चलचित्रहरूमा छक्का पन्जा, कबड्डी, कबड्डी कबड्डी, कबड्डी-४, जात्रै जात्रा, शत्रु गते, पशुपति प्रसाद लगायतका चलचित्रहरु पर्दछन् ।

त्यसो त, अष्ट्रेलियामा नेपाली सिनेमाको बजार बिस्तार हुँदै बृहत भएता पनि सबै सिनेमाहरूको ब्यापार राम्रै हुन्छ भन्ने पनि छैन । केही सिनेमाहरु नचल्नाले अष्ट्रेलियामा नेपाली सिनेमा भित्र्याउने वितरकहरू पनि मारमा नपरेका होइनन् । तर पनि, घाटा होस् या नाफा होस्, प्रवासमा नेपाली सिनेमा हेर्ने बानी पार्न सक्नुलाई पनि सकारात्मक रूपमा लिइएको छ र , यो नै नेपाली सिनेमा विधाको लागि उल्लेख्य कुरा पनि हो ।