ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहन अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह


अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रपति बाइडेनले भनेका छन्- ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’

यसबाट आफू पनि सङ्क्रमित हुन पुगेको उल्लेख गर्दै राष्ट्रपति बाइडेनले भने- ‘यो ‘बिए-५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो यो सङ्क्रमणबाट सङ्क्रमित भएका छन् र, हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो सङ्क्रमण फैलिएको छ ।’

आफूलाई सो नयाँ भेरियन्टबाट सङ्क्रमण भएको बताउनुभएका राष्ट्रपति बाइडेनले आफू आइसोलेसनबाट बाहिर निस्किनुअघि ह्वाइट हाउसबाट बुधबार सो कुरा बताएका हुन् ।

यसबाट बच्नका लागि जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि उनले सबैलाई आग्रह गरे । सबै अमेरिकी नागरिकहरुलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन पनि उनले आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका छन् । उनलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको सङ्क्रमण देखिएको बताइएको थियो । उनले आफूलाई सामान्य लक्षण मात्र देखिएको बताएका थिए । उनी एकहप्ता पछि बुधबार मात्र आइसोलेसनबाट निस्किएका हुन् ।

कोभिड १९ सङ्क्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको सङ्क्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।