हैटीको हिंसामा दुई सय जनाको मृत्यु

हैटीको हिंसामा दुई सय जनाको मृत्यु


हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको राष्ट्रसंघले जनाएको छ ।

एक वर्षअघि राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि आपराधिक गिरोहहरुबीच हिंसा बढेको थियो । जी ९ र जी पेप भनेर चिनिने दुई आपराधिक गठबन्धनबीच जुलाई ८ मा सुरु भएको लडाइँ नयाँ उचाइमा पुगेको छ ।

गोली हानाहानका कारण राहत सामग्री वितरण हुन नसक्दा पानी र खानाको अभाव भइरहेको स्थानीयले बताएका छन् । एक बासिन्दाले आफ्नो जीवनलाई ‘डर, तनाव र निराशाको चक्र’ भनेर वर्णन गरे।

राष्ट्रसंघका अनुसार जुलाई ८ देखि १७ सम्म २०९ जनाको ज्यान गएको थियो जसमध्ये ११४ गिरोह सदस्य थिए । त्यस्तै, २५४ जनलाई गोली लागेको छ ।