सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी पत्नी पक्राउ

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजकी पत्नी पक्राउ


काठमाडौंको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौंस्थित रामशाहपथबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानूनी कारबाहीका लागि मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् ।

उनीहरूको मिलेमतोमा काठमाडौं महानगरपालिका-१३, सोल्टीमोडस्थित उक्त सहकारी संस्थामा आकर्षक ब्याजदर दिनेलगायत विभिन्न प्रलोभनमा पारी ठूलो सङ्ख्याका बचतकर्तालाई रकम जम्मा गर्न लगाई सङ्गठितरूपमा रु पाँच अर्ब ८४ करोड ४० लाख ठगी भएको खुल्न आएको थियो ।

उक्त सहकारीमा विगत तीन वर्षदेखि बचत गरेको रकमको साँवा तथा ब्याज माग गर्दा नदिइएको भन्दै एक हजार ५३० जना पीडितले ब्यूरोमा ठगी एवं सङ्गठित अपराध कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान सम्पन्न गरी ब्यूरोले गत मङ्सिर १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना प्रतिवादीलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । हाल प्रतिवादी इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ पुर्पक्षका लागि कारागारमा छन् ।