पानी नपर्दा, अझै आधा खेतमा रोपाइँ हुन बाँकी

पानी नपर्दा, अझै आधा खेतमा रोपाइँ हुन बाँकी


  • विकास रौनियार, धादिङ

यो वर्ष औसत भन्दा बढी वर्षा हुने अनुमानका गरिए पनि पानी नपर्दा धादिङका किसानहरुको खेत अझै रोपिन सकेको छैन । कृषि ज्ञान केन्द्र, धादिङले संकलन गरेको तथ्यांकअनुसार धादिङमा अझै आधा खेतमा रोपाइँ हुनै बाँकी रहेको देखिएको छ ।

खोलाखेतहरुमा रोपाइँ भएको देखिए पनि पर्याप्त वर्षा नहुँदा धादिङका टारी खेतमा अझै रोपाइँ हुन नसकेको हो ।

अहिलेसम्म धादिङमा ४९ प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । तल्लो भाग र बेसीमा खोलाको पानी लगाएर भएपनि कृषकले धान रोप्न सकेका छन् तर माथिल्लो टारी क्षेत्रका खेत अझै रोपाइँ हुन नसकेको केन्द्रले बताएको छ । पर्याप्त वर्षा नभएका कारण र समयमा मल उपलब्ध नभएकै कारण रोपाइँमा ढिलाइँ भएको केन्द्रको स्वीकारोक्ति छ ।

केन्द्रले हरेक सोमबार स्थानीय तहबाट धान रोपाइँ सकिसकेको र बाँकी रहेको तथ्यांक लिने गरेको छ भने प्रदेश कार्यालयमा पनि पठाउने गरेको छ । सरकारी निकायले तथ्यांक संकलन गर्ने बाहेक कृषकलाई रोपाइँमा सहजीकरण गर्न भने अग्रसरता लिएको देखिँदैन ।

समयमा मल नपाउँदा र वर्षा पनि पर्याप्त नभएको अवस्थामा यसपटक सोचे जति धान नफल्ने हो कि भन्ने चिन्ता कृषकमा छ । सरकारी हेलचक्र्याइँले गर्दा धादिङका मात्रै नभएर आम कृषकहरुका लागि सधैं आकाशको मात्रै भर पर्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।