विदेशी कामदारलाई लक्षित गरी जापानमा विभिन्न भाषामा हेल्पलाइन सञ्चालन

विदेशी कामदारलाई लक्षित गरी जापानमा विभिन्न भाषामा हेल्पलाइन सञ्चालन


  • जापान प्रतिनिधि

जापानमा कार्यरत विदेशी कामदारका समस्याहरू सुन्ने र आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले जापान सरकारको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय (Ministry of Health, Labour and Welfare) ले विभिन्न भाषामा हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।

नेपाली राजदूतावास टोकियो, जापानले शुक्रबार प्रकाशन गरेको सूचनाअनुसार नेपालीभाषीहरूका लागि प्रत्येक हप्ताको बुधबार बेलुका ५ देखि १० बजेसम्म र आइतबार बिहान ९ देखि बेलुका ९ बजेसम्म उक्त सुविधा उपलब्ध हुँदै आएको छ ।

जापानमा रहेका जो-कोही नेपालीले गर्दै आएको काम र सम्झौताबमोजिम पाउनुपर्ने सेवा सुविधालगायतका विषयमा कुनै समस्यारगुनासा भएमा ०१२०-५३१ ४०८ मा फोन सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयले ‘विदेशी श्रमिक लक्षित परामर्श डायल’ स्थापना गरेर, नेपाली भाषालगायत अन्य १३ भाषामा विदेशी श्रमिकहरुलाई परामर्श सेवा उपलब्ध गराउने गरेको छ ।

यसैबीच जापानमा एकैदिन १ लाख ३ हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१ जना संक्रमितको निधन भएको छ । शुक्रबार (१५ जुलाई) एकैदिन यतिका संख्यामा संक्रमित एवम् मृत्यु भएको हो ।

जापानमा एकैदिन यति धेरै कोरोना संक्रमण पुष्टि भएको यो २ महिनापछिको रेकर्ड हो । केही साता अघिसम्म जापानमा कोरोना संक्रमण घटेर दैनिक १० हजार जनाभन्दा कममा रहेको थियो । पछिल्लो साताबाट ह्वात्तै बढेको कोरोना संक्रमण फेरि एकैपटक १ लाख जनाभन्दा बढि पुगेको छ ।

यससँगै जापानमा हालसम्म कोरोना संक्रमण हुनेहरुको संख्या १ करोड १ लाख १९ हजार ९ जना पुगेको छ । जापानमा अन्यत्र कोरोना महामारी फैलिएर दैनिक लाखभन्दा माथि संक्रमण देखिँदा सामान्य थियो तर अहिले अन्यत्र सामान्य बन्दै गर्दा यहाँ संक्रमण बढ्दै गएको छ ।