माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे, सरकारी भवन छाड्न प्रदर्शनकारी तयार

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे, सरकारी भवन छाड्न प्रदर्शनकारी तयार


देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् ।

कब्जा गरेको सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार

श्रीलंकाका सरकार विरोधी प्रदर्शनकारीहरूले आफूहरूले कब्जा गरेको सरकारी भवनबाट शान्तिपूर्ण ढंगले बाहिरिने जनाएका छन् । यसअघि कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो । प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

यसै साता राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शकारी उनको निवासमा प्रवेश गरेका थिए । बुधबार प्रदशर्नकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए ।

कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका थिए । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन् ।