‘एनआरएनलाई राजनीतिकबाहेक सबै अधिकार दिनुपर्छ’

‘एनआरएनलाई राजनीतिकबाहेक सबै अधिकार दिनुपर्छ’


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक सबै अधिकार दिनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार ओलीसँग भेटघाट गरेको थियो ।

भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकारात्मक रहेको बताए । गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यताअनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने उनले बताए ।

उनले गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकारबाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए । ओलीले संविधानको भावनाअनरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता गैरआवासीय नेपालीलाई प्रदान गर्न उचित हुने धारणा राखे । उनले नेपालको राजनीतिमा आउन चहानेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए ।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाइ थियो ।

उक्त भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

एनआरएन टोलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतसँग पनि भेटघाट गरेको बताइएको छ ।