आज राजीनामा दिने भनिएका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे देशबाट भागे

आज राजीनामा दिने भनिएका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे देशबाट भागे


जुलाई १३ का दिन राजीनामा दिने उद्घोष गरेका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाडेर भागेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति राजापाक्षेले बुधबार बिहान सेनाको एउटा विमानमा सवार भइ देश छाडेर भागेका हुन् ।

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।

राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौँसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।

राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात् आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।

राष्ट्रपति भागेपछि प्रदर्शनकारीले खुशीयाली मनाएका छन् ।