एनएफजेयूकेको दशौँ वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

एनएफजेयूकेको दशौँ वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित


लण्डन । नेपाल पत्रकार महासंघको बेलायत शाखाले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव यही शनिबार लण्डनमा सम्पन्न गरेको छ । बेलायतका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बेलायतको विभिन्न क्षेत्रबाट नेपाली समाजको विविध संघ तथा संस्थाहरुबाट प्रतिनिधित्व गर्नेहरुलगायत नेपाली समाजका सयौं गन्यमान्यहरुका उपस्थिति रहेको थियो ।

हुन त पूर्ण व्यावसायिक रुपमा पत्रकारिता गर्ने पत्रकारहरु नभए तापनि आफ्नो कामपछि बचेको समयलाई सदुपयोग गर्दै नेपाली समाजमा घटेका घटनाहरुलाई पत्रपत्रिकालगायत अनलाइन ईपेपरबाट प्रचारप्रसार गर्नेहरु तथा नेपालका विभिन्न राष्ट्रिय दैनिक तथा साप्ताहिकहरुलागि समाचार संकलन गर्नेहरुका दर्जनजतिका पत्रकारहरुको सहभागितामा नेपाल पत्रकार महासँघको बेलायत शाखाको स्थापना सन् २०१० मा भएको थियो । एक दशक नाघेको छ, दर्जनजतिका पत्रकारहरु भएको संस्था, फैलिएर सयौंभन्दा ज्यादाको संख्याको ठूलो बन्न पुगेको संस्थामा प्रशस्तै काँटछाँट गरी लगभग तीन दर्जनजत्तिको चुस्त संस्थाको यो तीन वर्षे कार्यकालले पहिलोपटक स्मारिकाको प्रकाशनसहित आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव कोभिड १९को बन्द खुलेलगत्तै मनाउन सक्षम भएको हो ।

दिएको समयभन्दा केही ढिलो शुरु भएको कार्यक्रमलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, बीबीसी वल्र्ड सर्भिसका पर्यावरण रिपोर्टरका रुपमा कार्यरत नवीनसिँह खड्कालगायत अग्रज पत्रकारहरु सुमन खरेल, खगेन्द्र नेपालीसहित नेपाल पत्रकार महासँघ बेलायत शाखाका पूर्व अध्यक्षहरु चिरन शर्मा, नरेश खपाँगीमगर, संस्थाका वर्तमान अध्यक्ष ध्रुवराज अर्याल, फोनिज अध्यक्ष गोमा राना, नेपाल प्रेस युनियन यूकेका अध्यक्ष एभरेष्ट गौतमले आआफ्ना मन्तव्यहरु राखेका थिए ।

नेपाल पत्रकार महासँघ बेलायत शाखाको दशौं वार्षित्सवको अवसरलाई पारेर सँस्थाले स्मारिकाको प्रकाशन गरेको छ जसको विमोचन सोही कार्यक्रममा राजदूत आचार्यबाट गरिएको थियो । उक्त समारोहमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकारद्वय नवीन पोखरेल र खेमराज रानाभाटलाई प्रदान गरिएको थियो ।

एफएनजेयूकेको दशौं वार्षिकोत्सवको समारोहलाई संस्थाका महासचिव तथा संयोजक नरेन्द्र बस्नेत तथा उपाध्यक्ष्य तथा सहसंयोजक प्रमिला लावुंग राईले संयुक्त रुपमा सञ्चालन गरेका थिए । समारोहमा संस्थाले आफ्नै कार्यसमितिका सदस्यहरुलगायत आगन्तुक बेलायतस्थित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।