सम्भावित आर्थिक संकट टार्न एनआरएनसँग ढकालको आग्रह

सम्भावित आर्थिक संकट टार्न एनआरएनसँग ढकालको आग्रह


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरू देखापरिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने– ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ ।’

उनले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभरमा रहेका नेपालीहरूले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गरे ।

उद्यमी ढकालले भने– ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरूले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोुस् र नेपालमा बढीभन्दाबढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’

उनले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरू देखा परिरहेको र महँगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राखे ।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरूमध्ये नेपाल पनि एक रहेको उनको भनाइ थियो । नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दा धेरै प्रतिफल लिन सकिने उदाहरण पनि उनले पेश गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरूले गैरआवासीय नेपालीहरूसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गरेका थिए ।