सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै

सङ्क्रमण वृद्धिपछि इरानले प्रवेशमा पुनः कडाइ गर्दै


कोभिड सङ्क्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ ।

सङ्क्रमणमा हालै भएको वृद्धिलाई उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गर्दा मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताएका हुन् ।

इरानी विशेषज्ञहरूले ओमिक्रोनका दुई द्रूत गतिमा फैलिएका उप–प्रजातिहरू आगामी हप्ताहरूमा इरानमा समस्याको रूपमा आउन सक्ने बताएका छन् ।

इरानी राष्ट्रपतिको वेबसाइटमा उल्लेख गरिएअनुसार कोभिड-१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडासँग पालन गर्न गराउन निर्देशन दिएका हुन् ।

उनले कोभिड–१९ खोपको अतिरिक्त मात्रा लिनुपर्ने आवश्यकताबारे बोल्दै सबै नागरिकलाई यसका लागि सचेतना फैलाउने कार्यक्रम लिएर जान समितिलाई निर्देशन गरेका छन् ।

आधारभूत स्वास्थ्य समस्या भएकाहरूले विशेष गरी सावधानी अपनाउनुपर्ने भन्दै उनले प्राथमिकताका आधारमा कोभिड–१९ विरूद्धको अतिरिक्त खोप अभियान देशैभरी तुरून्तै पुऱ्याउनु पर्नेमा पनि जोड दिएका छन् ।

इरानी स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएअनुसार अप्रिल २७ पछि सोमबार पहिलो पटक इरानको दैनिक सङ्क्रमण दर एक हजारभन्दा बढी देखिएको छ ।