जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन, शनिबार राष्ट्रिय शोक मनाइने

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन, शनिबार राष्ट्रिय शोक मनाइने


  • जापान प्रतिनिधि

जापानका पूर्व प्रधानमन्त्री आबे शिन्जोको बन्दुकधारीको गोली प्रहारबाट निधन भएको छ । गोली प्रहारपछि अचेत रहेका आवेको उपचारको क्रममा निधन भएको हो ।

जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेमाथि जापानको नारा शहरमा चुनावी भाषणका क्रममा गोली प्रहार भएको हो । तीन वर्ष जापानको समुद्री आत्मरक्षा बलमा काम गरेका ४१ वर्षीय यामागामी तेत्सुयाले जुलाइ ८ तारिख बिहान ११ बजेर ३२ मिनेटमा आबेमाथि नजिकैबाट गोली प्रहार गरेका थिए ।

घरेलु रुपमा निर्मित ठानिएको पेस्तोलबाट आवेमाथि घाँटी र छातीमा दुई वटा गोली प्रहार भएको थियो । गोली प्रहारबाट ढलेका आवेलाई अचेत अवस्थामा एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । गोली लागेर ढलेका आवेमो शरिरबाट रगत बगेको जापानी समाचार संस्थाहरुले प्रकाशन प्रशारण गरेका भिडियोमा देखिन्थ्यो ।

जापानको रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार तेत्सुया सन् २००५ सम्म तीन वर्ष जापानको समुद्री आत्मरक्षा बलमा कार्यरत थिए ।

अभियुक्तलाई आवेको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले घटनास्थलबाटै नियन्त्रणमा लिएका थिए । प्रहरी अधिकारीहरूका अनुसार उनले अनुसन्धानमा आफू पूर्वप्रधानमन्त्री आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्ने उद्देश्य रहेको बयान दिएका थिए ।

सन् १९५४ सेप्टेम्बर २१ मा जन्मिएका आवे ६७ वर्षका थिए । आवे जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति हुन् । उनले कुल २८ सय ८६ दिन जापानको प्रधानमन्त्री कार्यालय सम्हालेका थिए ।

पहिलो पटक सन् २००६ देखि २००७ र दोस्रो पटक सन् २०१२ देखि २०२० सम्म आवे जापानको प्रधानमन्त्री रहेका थिए ।

पूर्वप्रधानमन्त्री आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।