जलकुम्भी झारको सरसफाइमा सुरक्षाकर्मीको सक्रियता

जलकुम्भी झारको सरसफाइमा सुरक्षाकर्मीको सक्रियता


  • रविन्द्र यादव, नवलपरासी पश्चिम

मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई जलकुम्भी झारले अवरोध गरेपछि बुधबार सुरक्षाकर्मीले सरसफाइ गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा करिव डेढ किलोमिटरमा फैलिएको जलकुम्भी झारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानले सरसफाइ गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सूचना अधिकारी रोशन घिमिरेले बताए ।

उक्त खोलाको जलकुम्भी झार सरसफाइमा नेपाल प्रहरीबाट ४५, सशस्त्र प्रहरी ४७ र नेपाली सेनाबाट ४५ जना जवान खटाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । सुरक्षाकर्मीले खोलामा रहेको जलकुम्भी झार हटाएपछि स्थानीयवासी खुशी भएका छन् ।

जिल्लाको अधिकांश खोलाको सरसफाइ नहुँदा बर्सेनि पानी ओभर फ्लो भएर नजिकको गाउँबस्तीमा पसी लाखौँको क्षति हुने गरेको बताइएको छ । दुई दिनदेखि अविरल वर्षाले नवलपरासी पश्चिमका अधिकांश भूभाग डुबानमा परेका छन् ।

गत वर्ष रामखण्ड खोला र झरही खोलाको पानीको मुहान रोकिएपछि सदरमुकाम परासी बजार पुर्ण रुपले डुबानमा परेको थियो । सदरमुकाम परासी बजार यी दुई खोलाको बीचमा रहेको छ । पूर्व दिशातिर झरही खोला छ भने पश्चिमतिर रामखण्ड खोला रहेको छ । दुवै खोला बजारनजिकै रहेकाले अधिकांश स्थानीयवासीले फोहोरवस्तु खोलामै फालिने गरेकाले खोलाको मुहान बन्द भएपछि पानी ओभर फ्लो भएर बजारमा पस्ने गरेको स्थानीय बताउँछन् ।