एसपीपी सम्झौता नहुने भएपछि देउवाको भ्रमण अनिश्चित !

एसपीपी सम्झौता नहुने भएपछि देउवाको भ्रमण अनिश्चित !


प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित भएको छ । असार २० गते संयुक्त राज्य अमेरिकाको विशेष भ्रमणमा जाने तयारी गरिरहेका देउवाको भ्रमण अन्तिम समयमा आएर किन अनिश्चित भयो, रहश्यपूर्ण बनेको छ । ज्ञातव्य छ, शेरबहादुर देउवा अमेरिका पुगेर एसपीपी सम्झौता गर्ने तयारीमा थिए । र, सोहीअनुरुप अमेरिकाले देउवाको भ्रमणलाई महत्व दिएको थियो ।

तर अमेरिकाद्वारा प्रस्तावित सम्झौता र त्यसनिम्ति भएका पत्राचार दुई साताअघि ‘लिकेज’ भएपछि अमेरिका र देउवा दुवै अप्ठ्यारोमा परे । निर्वाचनको पूर्वसन्ध्यामा काङ्ग्रेस अप्ठ्यारोमा पर्ने देखिएपछि देउवाले मन्त्रिमण्डलको बैठकबाट नै एसपीपी सम्झौता नगर्ने निर्णय गराए । उक्त सम्झौता निर्वाचनपश्चात गर्ने गरी काङ्ग्रेस नेतृत्व र अमेरिकी पक्षबीच समझदारी बनेको बुझिएको छ ।

एसपीपी सम्झौता नहुने भएपछि प्रधानमन्त्री देउवाको भ्रमण अहिले गर्नुको अर्थ नरहने ठहर अमेरिकी पक्षले गरेको बताइन्छ । करिव तीन महिनापछि हुने संयुक्त राष्ट्र सङ्घीय महासभामा नेपालको प्रतिनिधित्व गर्दै शेरबहादुर देउवा अमेरिका जाने र, त्यस अवसरमा अमेरिकी राष्ट्रपतिसँग एसपीपी सम्झौताबारे उच्च समझदारी बनाइने सम्वद्ध सूत्रहरूले जनाएका छन् । यसले यदि एसपीपी सम्झौताको प्रस्तावित दस्तावेज सार्वजनिक नभएको भए उक्त सम्झौतामा देउवाले अमेरिका पुगेरै दस्तखत गर्ने निश्चित थियो भन्ने स्पष्ट गरेको छ । संसदीय निर्वाचनपश्चात काङ्ग्रेसलाई सरकारको नेतृत्व गर्ने मौका मिलेमा एसपीपी सम्झौता पुनर्जीवित हुने निश्चित मानिएको छ ।