मधेशका नेता स्थानीय जनताबाट टाढा छन्

मधेशका नेता स्थानीय जनताबाट टाढा छन्


डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको वा विदेश पठाइएको कुरा कसले देख्न सक्छ ?
  • मुक्तिनाथ खनाल

हिजो आज बल्ल मात्र मिटरब्याज लिने साहुकारको चर्चा चल्न र खोजि गर्न थालिएको छ । यो मिटरब्याजीको चलन आज आएको होइन, धेरै पहिलादेखि चल्दै आएको हो । साँच्चि भनौँ भने मधेश तराईका जति पनि ठुलाठालु भनि सेतो कुर्ता लामो धोति लर्काएर जिमिन्दार वा नेता हौँ भन्दै हिँड्छन्, चुनाव भयो भने चुनाव पनि जित्छन्, ती सबै स्थानीय गरिबलाई चुसेर यस्तै मिटरब्याजबाट रमाउँदै गाउँका ठालु भएका हुन् । विना उचित परिश्रकिम हरूवा-चरुवा, कमैया बन्दै दबिएका गरिब किसानहरूको पक्षमा बोलिदिने कोही हुँदैन ।

मधेस तराईमा गरिब धेरै छन् । तिनका उचित घरबास छैन, जग्गाजमिन शुन्य छ, तर बाँच्नु छ । त्यसैले गाउँका जमिनदार ठुलाठालु भनाउँदासँग शरणागत हुँदै ऋण लिन्छन् मिटरब्याजी तजबिजमा । ऋण दिने साहुहरूकै जग्गा-जमिन कमाउँछन् र परिवार पाल्छन् । ऋण दिने साहु मुखभरि पान चपाउँदै सेतो कुर्ताधोतिमा ‘नेता’ बन्छन् । उनीहरूलाई भोट नदिए ती गरिबले खान पाउँदैनन्, जग्गा कमाउन पनि पाउँदैनन् । अझ उनीहरूका छोराछोरी सानोतिनो जागिरमा छन् भने त के कुरा गर्ने ! त्यस ठाउँमा उनीहरू राजा नै हुन् । आफ्नो काम नगर्ने महिलालाई बोक्सी/डायनको अभियोगमा पीडित तुल्याइन्छन्, तिनीहरू डामिन्छन्, अपमानित गरिन्छन् । तराईको यो अवस्था त्यहाँका केही स्थानीय जमिन्दार, नेतालाई थाहा नभएको होइन तर सहयोग गर्दैनन् । त्यहाँका केही विद्वान मित्रहरूबाट जानकारी मिलेअनुसार त्यहाँका नेता हौँ भन्नेहरू सबैको यही रवैया छ ।

अहिले जो-जतिको नाम मिटरब्याज लिनेको रूपमा चर्चामा छ, ती विचराको आफ्ना नेता नभएका र माथि पहुँच पनि नभएका सिकारु हुन् । पहुँच हुने यसभन्दा अघि महोत्तरी जिल्ला मंगाहा नगरपालिका वडा नं. ६ का साहुकार राजकरण साह, रघुवीर साह र वडा नं. ५ का अनिरुद्र साह आदिले दर्जनौँ दलित किसानका जग्गाजमिन यस्तै ‘मिटरब्याजी’ अङ्कुश लगाएर हडपेको उजुरी २ वर्षअघिदेखि अदालतमा झुलिरहेको छ, तर कसैकसैको शक्ति प्रयोगका कारण निर्णय हुन नसकेको तथ्य धेरै अघिदेखि पत्रपत्रिकामा प्रकाशन भएको हो । खोइ त ? त्यहाँका नेताहरूबाट त्यस सम्बन्धमा कुनै पहल भएको पाइँदैन । त्यहाँ वरिपरि गनिएका नेता, सांसद, मन्त्री, सभामुख भइसकेका भद्र मानिस पनि छन् ।

यतिबेला चर्चामा रहेको सप्तरी जिल्लाका मिटरब्याजी रामदेव साह तेली र उनका छोरा नन्दकिशोर साहको जो सन्दर्भ छ, यस्ता साहुकार त तराईका धेरै जिल्लामा छन् । उनैका काठमाडौंमा ठूला महल, मधेशमा जमिन्दारी र राजनीतिमा पनि अगुवा छन् । जनताको अधिकार खोजेजस्तो गरी ठूलो-ठूलो स्वरमा कराउँछन् तर आफैं कसलाई कारवाही गर्ने ? विचरा मधेशका ती गरिबहरू तिनै नताले जे भन्यो त्यो नमानी सुखै छैन । अलिकति यताउता गर्नासाथ कमाइरहेको खेत खोसी दिन्छन् । बोक्सी, डायना आदि अभियोग लाग्छ अनि उनीहरूले जे भन्यो त्यहीँ गर्नैपर्छ ।

अब मधेशतर्फको प्रशङ्ग बदलौँ । के त्यसोभए काठमाडौं र पाहाडतर्फका मानिसचाहिँ यस मामलामा पवित्र छन् त ? होइन, त्यस्तो हुँदै होइन । पाहाडतर्फ त्यस्तो समथर जग्गा हुने जमिनदार छैनन्, डाँडाकाँडा भीर, पखेरा जग्गा, त्यो पनि बाँझै छन् र, मानिस पनि साह्रै गरिब छन् । बरु काठमाडौंमा घर हुने र सरकारमा पहुँच हुने केही मानिसहरू धनी छन् । उनीहरू नदेखिने गरी लुटेको सम्पत्ति विदेशतिर लुकाउन पनि सिपालु छन् । अझ मन्त्री, प्रधानमन्त्री, हुनेको त अनगिन्ती छ भन्ने सुनिन्छ । ‘म घुस खान्नँ, खान पनि दिन्न’ भन्नेहरूले त जाताततै भ्रष्टाचार गरेको दुर्गन्ध फैलँदा पनि ‘म पवित्र छु मेरो सम्पत्ति सरकारलाई दिएको छु’ भनेर पवित्र पल्टिन खोजेको देखिन्छ । चतुर मानिसको कुरा चतुर नै हुन्छ । सबैले देख्ने डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको वा विदेश पठाइएको कुरा कसले देख्न सक्छ ? यस्तै, चतुर व्यक्तिले सोझा नेपालीलाई ढाँट्न खोजे पनि एक दिन देखिन्छ र, त्यस्ता चतुर मानिसलाई नेपालीले बिस्तारै चिन्दै गएका छन्, अझ नङ्ग्याउँदै जानेछन् । अर्को कुरा, कुनै समय सिंह भएर सिकार गर्दै ठूलाठूला जनावरका रगत चुस्दै मोटाएका सिंहलाई उसले छोडेका हड्डी-सिनो चुस्दै पछि लाग्ने स्यालहरूमध्ये अलि बाटो बुझेकोले अब बिस्तार आफ्नो नेता सिंहको विरोध गर्न थालेको सुनिन्छ । अरु स्यालहरू अझ पनि सिंहले रगत चुसेको सिनो खान पाइन्छ कि भनेर पछि लाग्दैछन् ।

पङ्क्तिकारलाई एउटा सम्झना आएको छ- कुनै समय ओलीरूपी सिंहको पछि लागेर केही झर्ला र खाउँला भनी आश गर्ने एमालेका दश भाइ यतिबेला हिस्स परेका छन् । यस्तै, अर्को एक जना ‘खलनायक’ पनि निकै कुर्लिन थालेको सुनिन्छ । गठबन्धनबाट २-४ सिछ चुनाव जितेको घमण्डले सुहाइ-नसुहाइ माओवादी नेता काङ्ग्रेसलाई तल्लो स्तरमा गिराउँछु भन्दै उफ्रन थालेका छन् । उफ्रँदाउफ्रँदै कुनै दिन आफैं कुन दुर्गन्धित नालीमा खस्ने हो थाहा छैन !

मृत्यु भएका १७ हजार नेपाली, घरबारविहीन भएका लाखौँ र हजारौँ घाइते/अपाङ्गको श्राप अझ सेलाएको छैन । उनीहरूबाट दण्ड पाउन बाँकी नै छ । दण्ड यसरी पनि दिन सक्नेछन्- हतियार विना चुनावमा पत्ता साफ गराएर । त्यसैले खहरे गुह्य खोल्सी वर्षातमा गडगडाएर बग्छ । वर्षात् हटेपछि उसले हिँड्ने (बग्ने) ठाउँ कमिला हिँड्न सक्छ । त्यसैले कसैलाई सिध्याइदिनछु भनी घमण्ड नगरुन् भन्ने चर्चा आम जनताबीच चल्न थालेको छ ।