रामकुमारी झाँक्रीका आँशुको मूल्य

रामकुमारी झाँक्रीका आँशुको मूल्य


खासै झार्नु नपर्ने ठाउँमा झरेको नेतृ झाँक्रीको आँशुले ‘महिलाहरू सांसद, मन्त्री जे भए पनि स-साना कुरामा रुन छोड्दैनन्’ भन्नेहरूका लागि ठाउँ फराकिलो बनाइदिएको छ ।
  • बबिता बस्नेत


मानिसको जीवनमा आँशु यस्तो कुरा हो जो दुःख र सुख दुवैमा अकस्मातै आउँछ । म आँशु बगाउँछु भनेर योजना कसैले पनि बनाएको हुँदैन तर ठाउँ, माहौल र आफूवरिपरिका मानिसलाई हेरेर रोक्ने कोशिस भने धेरैले गरिरहेका हुन्छन् । दुःख परेपछि, शरीर या मनमा ठुलो चोट परेपछि, कसैबाट हदैसम्मको अपमान भोगेपछि या भोगिरहँदा र कहिलेकाहीँ अत्याधिक खुशी हुँदा मानिसका आँखाबाट आँशु बग्छ । जुनसुकै परिस्थितिमा भए पनि आँशु बग्नु भनेको आफ्ना भावनालाई नियन्त्रण गर्न नसक्नु हो । जिन्दगीमा रुने, हाँस्ने सामान्य कुरा हुन् । जब सामान्य कुरा अरुले हेर्दा असहज देखिन्छ त्यो असामान्य बन्छ । जिन्दगीमा हाँस्नु, मुस्कुराउनु सधैं सुन्दर कुरा हो तर मान्छे मरुमारु भएको घरमा, मलामी जाँदा या घाटमा कुनै मानिस मुस्कुरायो या हाँस्यो भने त्यो भन्दा कुरुप दृष्य अर्को देखिँदैन । यसपटक मन्त्रीका रुपमा नेतृ रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा बगाएका आँशुले ‘महिलाले पद पाएर मात्रै के गर्नु धान्न पनि सक्नुप¥यो’ भन्नेहरूलाई राम्रो मसला दिएको छ ।

राजनीतिमा रहेर पद लिएपछि मुलुकका लागि कठोर भन्दा कठोर निर्णयहरू गर्नुपर्ने हुन्छ । महिलाहरूलाई ‘इमोशनल’ हुन्छन्, भावनाले देश चल्दैन भन्नेहरूको सङ्ख्या ठुलो छ । प्रजातान्त्रिक मुलुक अमेरिकादेखि क्रान्तिकारी देश चीनसम्मले अहिलेसम्म महिला राजनीतिकर्मीलाई देशको कार्यकारी नबनाउनुमा महिलाप्रतिको अविश्वास नै प्रमुख कारण हो । हिलारी क्लिन्टन अमेरिकाको राष्ट्रपतिको रूपमा निर्वाचन लडिरहँदा उनले कुनै बेला भक्कानिएर बोलेको भिडियोआई ‘भावनात्मक हुनु र मुलुकको कार्यकारी हुनु अलग कुरा हो, देश चलाउन हिम्मत चाहिन्छ’ भन्दै सेयर गरिएको थियो । जहाँसम्म विद्यार्थीकालदेखि नै राजनीति गरेर सांसद हुँदै मन्त्री बन्नुभएकी रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीको आफ्नो कार्यभार छोड्नुअघि रोएको दृष्य छ, त्यो हेर्दा प्रायः मानिसलाई ‘के गरेको होला यस्तो… किन रुनुपरेको होला… मन्त्री हुनु या कुनै पनि पदमा पुग्नु, छोड्नु, फेरि पुग्नु राजनीति या कुनै पनि सार्वजनिक जीवनमा भएका मानिसका लागि सामान्य कुरा हो’ भन्ने लागेको छ । पत्रकार सम्मेलनको दृष्य हेर्दा मन्त्रीले गरेका कामको विवरण कर्मचारीले प्रस्तुत गर्दा उहाँ भावुक भएको देखिन्छ । ‘म राम्रो गरिरहेकी थिएँ तर राम्रो गर्दागर्दै पनि पार्टीका अध्यक्षले फिर्ता बोलाए…’ भनेर भन्दा उहाँको मनमा चोट परेको बुझ्न गाह्रो पर्दैन ।

जिन्दगीमा हाँस्नु, मुस्कुराउनु सधैं सुन्दर कुरा हो तर मान्छे मरुँमारुँ भएको घरमा, मलामी जाँदा या घाटमा कुनै मानिस मुस्कुरायो या हाँस्यो भने त्यो भन्दा कुरुप दृष्य अर्को देखिँदैन ।

नेकपा एकीकृत समाजवादीको पृष्ठभूमि हेर्ने हो भने त्यो पार्टी जन्माएर नेता माधव नेपाललाई अध्यक्ष बनाउनमा नेतृ रामकुमारी झाँक्रीको ठुलो भूमिका छ । एमालेबाट छुट्टिने बेलामा नेता नेपाललाई रामकुमारीले हात समाएर दिएको हिम्मतले त्यतिबेलै निकै चर्चा पाएको हो । गत वर्ष राजनीतिकर्मी महिलाले पाएको मिडिया कभरेजलाई हेर्दा उक्त फोटो अनलाइन र प्रिन्टमा सबैभन्दा बढी कभरेज पाउने फोटो हो । आफूले दुःखमा हात थामेका नेताले मन्त्रीबाट फर्कनको लागि तारन्तार गर्दा र मिडियाबाट समेत दबाब दिने वातावरण बनाउँदा रामकुमारीको चित्त दुख्नु स्वभाविक हो । चित्त त विरोध खतिवडालगायतका अरु मन्त्रीको पनि दुःखेको थियो होला । मन्त्रीका रूपमा विभिन्न काम त अन्य मन्त्रीहरूले पनि गरेका थिए होला तर उनीहरू कसैले पनि मन्त्री झाँक्रीले जस्तो आँशु झारेनन् । कर्मचारी र पत्रकारका अगाडि एकैछिनको अन्तरमा घरी रुने, घरी हाँस्ने गर्दा सामान्य अफ्नो दुःख–सुख गरेर बसेका मानिसको सवालमा भए खासै फरक पर्दैनथ्यो तर मन्त्रीका रूपमा भने राम्रो सन्देश गएन, गएको छैन । मन्त्री जस्तो उत्तरदायी पदमा बसिसकेका मानिसले आफूले गरेका कामको ब्रिफिङ या विवरणलाई पदीय कर्तब्यका रूपमा लिनुपर्ने हुन्छ । एउटा जुझारु पृष्ठभूमिबाट आएकी रामकुमारी झाँक्रीले मन्त्रीका रूपमा स्थापित गर्नुपर्ने मूल्य मान्यताहरू धेरै थिए । पार्टीले अकस्मातै बोलाएको रहेछ भने पनि नेताको रूपमा त्यसलाई सामान्य रूपमा लिएर ‘मैले सकेको राम्रो गरेको थिएँ, अवसर पाएँ भने फेरि गर्नेछु’ मात्रै भने पुग्ने थियो । नेतृ झाँक्रीको खासै झार्नु नपर्ने ठाउँमा झारेको आँशुले ‘महिलाहरू सांसद, मन्त्री जे भए पनि स-साना कुरामा रुन छोड्दैनन्’ भन्नेहरूका लागि ठाउँ फराकिलो बनाइदिएको छ । त्यसै पनि महिलालाई ‘रोनाधोना’को संज्ञा दिनेहरूको सङ्ख्या अहिले पनि ठुलो छ ।

कुनै पनि बाटो बनाउन र त्यसलाई पीच रोडमा परिणत गर्न जसरी जमिन खोस्रिनबाट सुरु गर्नुपर्छ त्यसैगरी आफूलाई बनाउन पनि ठुलो मेहेनत चाहिन्छ । रामकुमारी झाँक्रीहरू जस्ता युवा पुस्ताका नेताले आफूलाई बनाउन आवश्यक छ ।

कुनै पनि मानिस नेतृत्वमा पुग्नु भनेको सामान्य भन्दा फरक जीवन बाँच्नु हो । हरेक मानिसमा भावना, चाहना र सपनाहरू हुन्छन् । सपनालाई कसरी हुर्काउने, चाहनालाई छरपष्ट हुनबाट कसरी जोगिने, भावनाहरूको ब्यवस्थापन कसरी गर्ने जस्ता कुराहरूमा मानिस आफै जिम्मेवार हुनुपर्ने हुन्छ । आफूले आफैलाई संहाल्न सक्नु जिन्दगीमा निकै ठुलो कुरा हो । नेतृत्वमा पुग्नेहरूले यस्ता कुराको ब्यवस्थापन सहजसँग गर्न सकेन भने त्यसको मूल्य सम्बन्धित ब्यक्तिले मात्र नभइ पुस्तौँ पुस्ताले चुकाउनुपर्ने हुन्छ । त्यसमा पनि महिलाले थप मूल्य चुकाउनुपर्ने अवस्थाको सिर्जना हुन्छ । खै त्यति ठुलो पद महिलालाई दिने र ? धान्न सक्लान र ? महिलालाई सजिलो छ रोए पनि भो, हाँसे पनि भो… जस्ता टिप्पणीहरूबाट टाढा हुन र भावी पुस्तालाई यस्ता भनाइबाट मुक्त गर्न पनि महिलाहरूले विभिन्न परिस्थिति झेल्न सक्ने गरी आफूलाई सशक्त बनाउन जरुरी छ । सशक्त हुनु भनेको आत्मैदेखि दह्रो हुनु हो, ‘इमोशन’हरूलाई नियन्त्रण गर्न सक्नु हो ।

हरेक क्षेत्रमा आफूलाई स्थापित गर्दै गरेको अहिलेको पुस्ताका चुनौतीहरू अनेक छन् । तीमध्ये महिला नेतृत्वलाई ओहो… यस्तो हो नि नेतृत्व भनेको… यति ठुलो कुरालाई पनि सहज रूपमा लिन सक्ने… कस्तो आत्मविश्वासले भरिएको ब्यक्तित्व… महिलाले गर्न नसक्ने केही छैन… भन्ने बनाउने चुनौती छ । यो चुनौती पार गर्नका लागि नेतृत्वमा रहनेले राम्रो कामसँगै आफूले प्रयोग गर्ने भाषा, शब्द, शैली, शारीरिक हाउभाउ, भावना र उत्तेजनाहरूको नियन्त्रण जस्ता धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । जुन रातारात हुने कुराचाहिँ होइन । कुनै पनि बाटो बनाउन र त्यसलाई पीच रोडमा परिणत गर्न जसरी जमिन खोस्रिनबाट सुरु गर्नुपर्छ त्यसैगरी आफूलाई बनाउन पनि ठुलो मेहेनत चाहिन्छ । रामकुमारी झाँक्रीहरू जस्ता युवा पुस्ताका नेताले आफूलाई बनाउन आवश्यक छ । आफूलाई बनाउनुको अर्थ पैसा जम्मा गर्नु, घर बनाउनु, राम्रो गाडी चढ्नु या यस्तै प्रकारका अन्य भौतिक सुख-सुविधा होइन तर हामीकहाँ कसैले आफूलाई कस्तो राम्रो बनायो है भनेर कुरा गर्ने क्रममा भौतिक सुख–सुविधाको गणना गर्ने गरिन्छ ।

नेतृत्वमा रहँदा कतिपय कुराहरू मनभित्र राख्न सक्नुपर्ने हुन्छ तर हामीकहाँ स–साना कुरा पनि टेलिभिजनमै देखाउने चलन बढ्दैछ, चाहे त्यो रिस होस या आँशु ।

सन् १९८० को जुन २३ मा आफ्नो छोरा संजय गान्धीको हवाइ दुर्घटनामा मृत्यु हुँदा इन्दिरा गान्धी भारतकी प्रधानमन्त्री थिइन् । छोराको लाश अस्पताल ल्याएपछि इन्दिरा गान्धीलाई केही राजनीतिकर्मी, आफन्त र सुरक्षाकर्मीहरूले अस्पताल पुऱ्याए । इन्दिराको जीवनी लेख्नेहरूले लेखेका छन्, उनलाई छोराको लाशको अगाडी कसरी पुऱ्याउने ? कसरी परिस्थितिको सामना गर्ने ? एउटा बडो दर्दानक अवस्था थियो त्यो । अस्पतालको कम्पाउण्डमा झरेपछि इन्दिरालाई सिधै शवगृहमा लगियो । ढोकाबाट भित्र छिर्ने बेलामा उनले आफ्ना सुरक्षाकर्मीहरूलाई बाहिर बस्न इशारा गरिन् र एक्लै भित्र छिरिन् । निकैबेर छोरासँग एक्लै बसेर बाहिर निस्किँदा उनका आँखा रोएर सुन्निएका थिए । तर सुरक्षाकर्मी र भीडका अगाडि उनले आँशु झारिनन् । विश्लेषकहरूको भनाइ छ, इन्दिरा गान्धी अरुका अगाडि आँशु देखाउन चाहन्न थिइन् त्यसैले शवगृहमा छोराको लाशसँग एक्लै रोइन् । उनलाई देशको हितमा काम गर्ने नेताको रूपमा अहिले पनि ‘भारत माता’ भन्ने गरिन्छ । एउटी आमाको रूपमा आफ्नो छोराको मृत्यु उनका लागि जीवनमा कति ठुलो बज्रपात थियो, अनुुमान गर्न सकिन्छ । उनलाई पनि छाँद हालेर रुन मन थियो होला तर उनी त्यस्तो दृष्य अरुलाई देखाउन चाहन्नथिन् । नेतृत्वमा रहँदा कतिपय कुराहरू मनभित्र राख्न सक्नुपर्ने हुन्छ तर हामीकहाँ स-साना कुरा पनि टेलिभिजनमै देखाउने चलन बढ्दैछ, चाहे त्यो रिस होस या आँशु ।