ललितपुरमा पानीपुरी बिक्री गर्न रोक

ललितपुरमा पानीपुरी बिक्री गर्न रोक


हैजा नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौं उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको जानकारी दिँदै नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले अहिले हावापानी दूषित रहेकोले फोहर पानी खाँदा हैजा फैलन सक्ने बताए ।

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताउनुभयो । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ ।

एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुको भनाइ छ ।