यस्तो छ रानीपोखरीको इतिहास

यस्तो छ रानीपोखरीको इतिहास


इतिहास
  • सुनिल उलक

राजा प्रताप मल्लले एक संन्यासीको सल्लाहमा आफ्नो जीवनकालमै आफ्ना चार छोरालाई पालो-पालो राजा बनाउन थालेका थिए । तीन छोराले तीन वर्ष राज्य चलाएपछि रानीको प्यारो कान्छो छोरा चक्रवतिन्द्रलाई राजा बनाए । तर दुर्भाग्य ! राजा भएको रातमा नै उनको मृत्यु भयो । छोराको मृत्युले दुखित भएका राजा-रानीले तिनै सन्यासीको सल्लाहमा पोखरी बनाउन लगाए । वि.सं. १७२७ कार्तिक १७ गते थालनी गरेको पाँच वर्षपछि पोखरीको निर्माण सम्पन्न भयो । पोखरी तैयार भएपछि नेपाल तथा भारतको ५१ वटा मुख्य-मुख्य तीर्थस्थलको जल ल्याएर पोखरीमा पानी भरियो । प्रताप मल्लले एक वर्ष लगाएर तीर्थाटन जाँदाको सम्पूर्ण विवरण लेखेर ठ्यासफु तैयार पारेका थिए । यस पोखरीलाई जनताले ‘न्हुः पुखु’ भन्न थाले ।

यसरी प्रताप मल्लले आफ्ना छोराको यादमा बनाएको पवित्र जल भरिएको पोखरी समय कालसँगै हेरचाहबिना दुर्गन्धित बन्न थालेपछि प्रताप मल्लका नातिनी बुहारी (भूपालेन्द्र मल्लकी रानी) भुवनलक्ष्मीले सरसफाइ गराइ पुनः बाग्मतीको सफा पानी भर्न लगाइ जिर्णोद्दार गरेपछि उनकै नामबाट रानी पुखु भन्न थाले । जुन नाम हालसम्म पनि सबैको मुखमा झुण्डिएको छ ।

यसको १७४ वर्ष पछि वि.सं. १९०१ माघ २७ गते जर्मनका राजकुमार वाल्डरमरले सुगौली हुँदै नेपाल प्रवेश गरेका थिए । हेटौँडामा उनलाई प्रधानमन्त्रीको भाञ्जा दिलविक्रम थापाले भव्य स्वागत गरेपति चार वटा ठूला-ठूला हात्तीमा सवार गराएर चुरिया, भीमफेदी, चित्लाङ, चन्द्रागिरी हुँदै थानकोट पुगेका थिए । थानकोटमा ब्रिटिस सरकारका दूत मेजर लारेन्सले स्वागत गरेका थिए । माघ २९ मा काठमाडौं पुग्दा प्रधानमन्त्री माथवरसिंह थापा तथा जंगबहादुरले राजकुमारको स्वागत गरेका थिए । काठमाडौं भ्रमणको क्रममा भक्तपुर, पाटनको साथै नुवाकोट पनि पुगेका थिए । करिव एक महिनाको भ्रमणपछि राजकुमारको टोली सोही बाटो भारत फर्किए । यसरी राजकुमारको भ्रमण साथ आएका चित्रकारले काठमाडौका विभिन्न स्थानका चित्रहरू बनाएका थिए । जसमध्ये हाल सो समयको रानीपोखरीको चित्रले विशेष महत्व राखेको छ ।

राजकुमारको भ्रमणको साथ डाक्टरको रूपमा यात्रामा साथ दिएका डा. वर्नर हफमेस्टरले सम्पूर्ण यात्रा विवरणको पुस्तक ‘DIE BOTANISCHEN ERGEBNISSE’ नामक पुस्तक तैयार गर्दै भ्रमण गर्ने क्रममा भारत पञ्जावमा पुगेपछि पञ्जावका राजा रणजितसिंहको सैनिकले चलाएको गोलीबाट वि.सं. १९०२ पुस ७ गते सदाको लागि यो संसारबाट बिदा लिएको लेखिएको छ ।

राजकुमारको भ्रमण समाप्त गरेर फर्केको तीन महिनापछि मामा माथवरसिंहको हत्या गरेर जंगबहादुर सत्तामा पुग्न सफल भए । यसरी राजकुमारको भ्रमण समयमा यमलेश्वर महादेवको मन्दिर शिखरशैलीमा बनाइएको देख्न सकिन्छ । तर जंगबहादुरको बेलायत भ्रमणबाट फर्केर आएपछि बेलायती शैली तथा तथा मुगलशैलीमा नेपालमा भवन तथा मन्दिरहरूको परिवर्तित गर्ने क्रममा जंगबहादुरले यमलेश्वर मन्दिरलाई मुगलशैलीमा परिवर्तित गराए ।

वि.सं. १९९० को भुकम्पपछि बीचको मन्दिर तथा पोखरीको मर्मत गरेपछि जुद्धशम्शेरले चारैतिर फलामेबार लगाउन लगाए । बार लगाउनुको दुई कारण आंल्याउछन् इतिहासकारहरू पहिलो रानीपोखरीमा हामफालेर आत्महत्या गर्नेको संख्या बढ्दै जानु भने अर्को (नहुन पनि सक्छ) जुद्धशम्शेरले आफ्नो छोरा बहादुरशम्शेरको लागि बनाइएको बहादुर भवनमा नेपालमै पहिलो पटक बनाइएको आधुनिक शौचालयको मलमुत्रको निकास रानीपोखरीमा मिसाइएकोले दुर्गन्धित हुन थालेपछि जुद्धशम्शेरले फलामे बार लगाउन लगाएका थिए भनिन्छ । यसरी हिन्दू आस्थामा आँच आउने काम भएपछि हिन्दुवादीहरूले प्रजापरिषद गठन गरी राजनीतिकरण गराएका थिए ।

पछि वि.सं. २०१३ मा राजा महेन्द्रले रानीपोखरी तथा मन्दिरको मर्मत गराएका थिए । अन्तमा वि.सं. २०७२ बैशाख १२ को भूकम्प पछि ध्वस्त भएको रानीपोखरी तथा यमलेश्वरको मन्दिर बनाउनुको साटो त्यहाँ ब्यापारिक शैलीको पोखरी निर्माण गर्ने योजना काठमाडौं महानगरपालिकाले तैयारी गरेको समेत चर्चामा आयो ।