१५ असार २०७९, बुधबार

भुक्तमानको ऐना

  प्रकाशित मिति
४ असार २०७९, शनिबार ०३:२४


  • प्रथा ओमकार

हिउँको आरनमा
हिउँकै आगो सल्काएर
आफ्नै विश्वासको लिहीमाथि
उसले पिटिरह्यो- आगोजस्तै जब्बर धातु !
र जमिनको पुरानो याक्साभित्र
आफू सेलाउँदै गयो
बरफको कुनै अन्तरधुज ढिक्काजस्तै !
०००
भन न ए भुसुनी खोला !
किन सेलाउन सकेनन्
यो कलिलो मनभित्रका तापहरू ?
यही प्रश्नको जङ्गलमा
एउटा सिङ्गो इतिहास हराएको छ !
उसबेलादेखि नै,
पीडाको काँचो लाभा ओकल्दै
धर्तीमा फुटिरहेछ- अदृश्य ज्वालामुखी !
०००
उसको ज्ञानको तलाउमा
सयौँ खुकुरीहरूको गर्भाधान भयो !
हजारौँ तरबारहरू
जन्मिएर बयस्क बनी बाटो लागे
र असङ्ख््य खुँडाहरूको न्वारान पनि गरियो !
के-के हुनु थियो, सबै भयो
जे-जति बनिनु थियो, सबै-सबै बने
यो अङ्कगणितसँग
न त भुक्तमानको दिनु थियो
न त उसको केही लिनु नै थियो !
०००
उसको पाठशालामा
ऊ आफ्नो गुरु आफैं थियो !
उसले पढ्ने पुस्तकमा
आगोका अक्षरहरू छमछमी नाचिरहन्थे !
उसका यात्राहरूमा
ऊ आफू हिँड्ने बाटो आफैं थियो
थाहै पाएन
कतिखेर आफू खलाँती बन्यो
र आरनमा बसेर फुकिरहेछ- आफूजस्तै आगो !
०००
एक दिन,
खुकुरीले संवेदना गुमायो
मूर्ख खुँडा पनि उद्दण्ड बन्यो
र सन्की तरबारले विवेकको सलेदो निभायो !
एउटा निस्लोट कालिमाले
आशाको बाटुलो घाम बढारिदिएपछि
उसले पहिलोचोटि
जीवनको ऐनामा आफूलाई हेऱ्यो
र छर्लङ्ङ देख्यो- सत्ताको डरलाग्दो अनुहार !
०००
विष्टहरूसँगै,
खुकुरी पनि चम्चमाउँदै थियो
बराजुहरूजस्तै
खुँडा फणा फुलाएर डुक्रिँदै थियो
मालिकहरूको घोडा बनेर
तरबार पनि बेजोडले हिनहिनाउँदै थियो !
र हातमा चुप्पी बोकेर
ऊजस्तै एउटा दुःखी देश पनि
जुलुसको पछिपछि जोसिँदै हिँडिरहेको थियो !
०००
खुकुरीका ओठहरू
भुक्तमानको गर्दनमा चुम्बन गर्न थाले
तरबारको धार
पोस्टमानको शिरमाथि नाच्न थाल्यो
खुँडाका बङ्गाराहरू
पोकलीको नाभीमा उत्तेजना घोप्ट्याइदिन लागे !
र राष्ट्रिय धुनमा परेड खेल्दै
एउटा कालो घोडाले,
मुलुकी ऐनजस्तो पुरानो नक्सा कुल्चिरह्यो !
०००
हेर्दा-हेर्दै,
आकाशका ताराहरू
एकपछि अर्को गर्दै सबै झरेर गए !
जीवनको निख्लो डालीबाट
सपनाका सल्लीपिरहरू
जमिनमा उदासिँदै खस्न थाले !
र खडेरीले निलेजस्तै गरी
सर्लक्कै निलिदियो
जिन्दगीको हाङ्गेखोला- एउटा आतङ्कले !
०००
बाउ-बाजेलाई सम्झेर
भक्कानो फुटेपछि
हातमा नाङ्गो खुकुरी नचाउँदै
आज लालजित बिक
अदालतको ढोकाबाहिर उभिएको छ !
अहँ,
कसैलाई थाहा छैन
ऊ साँच्चै बौलाएको छ
या बौलाएको अभिनय गर्दै छ ?
०००
ऊ लक्कड जवान छ
यौवनका कलकलाउँदा रहरहरू
जिब्री फूलजस्तै नफक्रिएका पनि होइनन् !
तर आज ऊ
मृत्युको मुखमा उभिएर
आफैँ पत्ता लगाउन चाहन्छ कि !
उसले अर्जापेको खुकुरीमा पाइन कति छ ?


18
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र

राजन घिमिरे नेपाली सुगम गीत-संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाका विभिन्न शहरहरूमा गुन्जने भएकी छन् । विजडम नाइट नामक यो