स्वतन्त्रता दिवस समारोहमा फिलिपिन्सका रक्षामन्त्री बेहोस

स्वतन्त्रता दिवस समारोहमा फिलिपिन्सका रक्षामन्त्री बेहोस


फिलिपिन्सका रक्षामन्त्री लोरेन्जाना आइतबार बिहान स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने क्रममा बेहोस भएका छन् ।

त्यहाँको राष्ट्रिय रक्षा विभागलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार मन्त्री लोरेन्जानाको स्वास्थ्य ‘स्थिर अवस्थामा’ रहेको छ । लोरेन्जाना स्वयमले पनि आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले म ठीक छु । यसअघि गरिएको परीक्षणको नतिजा ठीक भएकोले आराम गरिरहेको छु।’

‘भर्खरैको लगातार अन्तरराष्ट्रिय सुरक्षा संलग्नताबाट आएको थकानले मलाई असर गरेको हुन सक्छ । आज बिहान तापक्रम चर्को थियो,’ लोरेन्जानाले भनेका छन्।

रक्षा प्रवक्ता आर्सेनियो एन्डोलोङका अनुसार लोरेन्जाना अहिले आराम गरिरहेका छन् र आज बिहान रिजाल पार्कमा स्वतन्त्रता दिवसको झण्डा फहराउने समारोहमा बेहोस भएपछि आराम गर्न सल्लाह दिइएको छ ।

लोरेन्जाना १९औँ साङ्ग्रिला संवादमा सहभागी भई आफ्ना विदेशी समकक्षीसँग भेट गरी आइतबार बिहान सिङ्गापुरबाट आइपुगेको समाचार एजेन्सीले जनाएको छ । उनी मनिलामा अवतरणपछि सिधै समारोहमा गएका थिए ।