दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने

दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने


  • विशाल बस्नेत, महोत्तरी

२१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हानिँदा दलित भएकै आधारमा भर्नाबाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन् । शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो ।

तर, कहिलेकाही कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएको छ । दलित भएकै आधारमा भर्ना नपाएको समाचार केही सञ्चारमाध्यमले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरुले ३०४ वर्ष पुरानो देशकै जेठो गुरुकुल महोत्तरीको मट्टीहानीस्थित राजकीय संस्कृत माध्यामिक विध्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन् ।

‘केही सञ्चारमाध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौँ’, मट्टीहानीस्थित उक्त गुरुकुलका प्राचार्य इश्वरी पौडेलले भनेका छन् ।

चारै जना छात्रहरुको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ ।

बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाइ पनि भेदभावको नजरले नहेरिने बताउँदै प्राचार्य पौडेलले भने ‘हाम्रो विद्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीहरु समेत अध्ययन गरिरहेका छन् ।’

४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताएता पनि पठनपाठनमा समस्या वन्ने अभिभावकहरुको गुनासो छ । ३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने शर्तमा भर्ना गर्न लागेको अभिभावकहरुको भनाइ छ ।

अभिभावकहरुको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरु प्रतिबद्ध रहेको बताउदै प्राचार्य पौडेलले छात्रहरुलाई निर्धक्क भएर मट्टीहानीस्थित गुरुकुल पठाउन आग्रह गरे ।